• होमपेज
  • बडिमालिका
  • बाजुरामा एचपिभी खोप अभियान सुरु, १८ सय किशोरीलाई खोप लगाइँदै

बाजुरामा एचपिभी खोप अभियान सुरु, १८ सय किशोरीलाई खोप लगाइँदै

  • बुधबार, माघ २९, २०८२
बाजुरामा एचपिभी खोप अभियान सुरु, १८ सय किशोरीलाई खोप लगाइँदै

बाजुरा—बाजुरामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सुरु भएको छ । उक्त खोप अभियान सञ्चालन गर्न हरेक स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम गरेर खोप लगाउन सुरु गरिएको हो ।

स्वास्थ्य कार्यालय बाजुराकाअनुसार बुढीगंगामा मंगलबारबाट, बडीमालिका, गौमुल, स्वामीकार्तिक र जगन्नाथमा आजबाट र बाँकी पालिकामा भोलिबाट खोप अभियान सञ्चालन हुने भएको छ ।

यस बर्ष जिल्लाभर एक हजार ८०६ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लाल बहादुर खड्काले जानकारी दिए । उनले गत बर्ष जिल्लामा अभियानका रुपमा ७ हजार बढीलाई एचपिभी खोप दिइएको भन्दै यस बर्ष नियमित खोपका रुपमा कक्षा ६ र छुटेका किशोरीलाई मात्रै खोप दिइने बताए । जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयमा स्थापना गरिएको खोप केन्द्रमार्फत खोप सेवा प्रदान हुने छ भने स्वास्थ्य संस्थामा समेत खोप लगाउन सकिने बताएको छ ।

किशोरीहरूको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अत्यन्तै प्रभावकारी भएकाले यस अभियानलाई विशेष प्राथमिकता दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार