
बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ को वडा कार्यालय निर्माणका लागि विनियोजित दुई आर्थिक बर्ष गरी २ कराेड १९ लाख बढी रकम फिर्ता भएकाे छ । वडाकाे भवन निर्माणका लागि दुई पटक बजेट विनियाेजन भएपनि टेण्डर समेत हुन नसकेपछि बजेट फिर्ता भएकाे हाे ।
उक्त वडाका नयाँ प्रशासनिक भवन निर्माणका लागि यस बर्ष प्रदेश सरकारबाट ४९ लाख विनियोजन भएको थियो भने बाँकी रकम पालिकाले खर्च गर्ने थियो ।
त्यसैगरी, आर्थिक बर्ष २०७५।७६ मा गाउँपालिकाबाट एक करोड ७० लाख बढी बजेट विनियोजन भएपनि त्यतिखेर पनि विवादले नै टेण्डर नभएरै बजेट फिर्ता भएको वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन् ।
त्यस्तै वडाको भवन निर्माणका लागि दुई पटक बजेट विनियोजन हुँदा पनि राजनीतिक विवादले नै निर्माण हुन नसकेको स्थानीयहरुले बताएका छन् । त्याँहाका केही राजनीतिक दलहरुले विकासका नाममा राजनीतिक दोहोरी खेलिरहेको आरोप समेत लाग्दै आएको छ ।
संघीयताको ८ बर्षसम्म पनि उक्त वडाका नयाँ भवन निर्माण हुन सकेको छैन् । अहिले उक्त वडा कार्यालयले पुरानो जीर्ण भवनबाट सेवा प्रवाह गरी रहेको छ ।
हालका वडाका जनप्रतिनिधिहरु अहिले रहेकै स्थान ओलीगाउँमा नै वडा कार्यालयको भवन बन्नुपर्ने पक्षमा छन् । त्यस्तै अर्को पक्षले भने नजिकै रहेको गाउँ बुडावाडामा भवन बन्नुपर्ने र नभए विरोध गर्ने अडान लिएको छ । कांग्रेस निकट पक्षले बुडावाडामा वडाको भवन बन्नुपर्ने अडान राखेको छ भने एमाले निकट पक्षले अहिले रहेको ओलीगाउँमै हुनुपर्ने बताउँदै आएको सामाचार स्रोतले बताएको छ । उक्त वडाका अध्यक्ष खगेन्द्र रावत दुवै कार्यकाल नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।
त्यस्तै वडाको नयाँ प्रशासनिक भवन निर्माण गर्ने नाममा एक अर्को पक्षको आ–आफ्नै अडानका कारण भवन बन्न नसकेको स्थानीयहरुले बताएका छन् ।
यस बिषयमा वडा अध्यक्ष खगेन्द्र रावतले आफू अघिल्लो कार्यकालको सुरु देखि नै वडा कार्यालयको भवन निर्माण गर्न लागेपनि केही नेताहरुको राजनीतिक अडानले अहिलेसम्म बन्न नसकेको दावि गरेका छन् । उनले वडाको भवन निर्माणका लागि ०७७ सालमै डिपीआर गरेर प्रक्रिया अगाडि बढाएको र त्यसमा जनताको पूर्ण साथ भएपनि केही नेताहरुले राजनीति गरेको आरोप समेत लगाए । त्यस्तै वडा अध्यक्ष रावतले अहिले रहेको स्थानमा वडा कार्यालयको नाममा जग्गा समेत रहेको भन्दै नयाँ प्रशासनिक भवन पनि ओलीगाउँमा नै हुनुपर्ने बताए ।
त्यस्तै गाउँपालिका अध्यक्ष गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले पालिकाका अन्य वडा भन्दा पहिले नै बन्नुपर्ने भएपनि राजनीतिक कारणले नै दुई–दुई पटक बजेट फ्रिज भएको बताए । उनले यस बर्ष पनि निर्माणका लागि पटकपटक टण्डर गर्न खोज्दा पनि नसकिएको दावि गरेका छन् ।
गाउँपालिकाका अन्य ५ वटा वडामा भने नयाँ भवन बनिसकेका छन् र ३ नम्बरमा निर्माणधिन अवस्थामा छ ।
