
बाजुरा—बाजुराको त्रिवेणी नगरपालिकामा हारपिक, फिनेल, सरफ र साबुन उत्पादन सम्बन्धी सिप विकास तालिम सञ्चालन गरिएको छ । त्रिवेणी नगरपालिका उद्यम विकास शाखाको आयोजनामा ‘सीप सिकौं, आत्मनिर्भर बनौ’ भन्ने मूल ध्येका साथ सो तालिम सञ्चालन गरिएको हो ।
गरिवी निवारका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत यहीँ जेठ २३ देखि २७ गतेसम्म ५ दिने तालिम सञ्चालन गरेको जनाएको छ । ९ वटै वडाका विपन्न, बेरोजगार तथा वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई लक्षित गरी तालिम सञ्चालन गरेको नगरपालिकाले जनाकारी दिएको छ ।
तालिममा १६ जना सहभागी भएका थिए भने तालिमको प्रशिक्षण सुस्मीता थापा र निरु पुनले गरेकी हुन् ।
तालिम संयोजक टेक बहादुर साउँदका अनुसार सहभागीहरुले ५ दिनसम्म हारपिक, फिनेल, सरफ र साबुन उत्पादन गर्दै सिप सिकेको बताए । त्यस्तै उक्त तालिमको मंगलवार एक औपचारिक कार्यक्रमविच समापन गरिएको छ ।
समापन कार्यक्रममा बोल्दै नगर प्रमुख कर्ण बहादुर थापाले विपन्न तथा बेरोजगार युवाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उदेश्यका साथ पालिकाले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
