बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • त्रिवेणी
  • बाजुरामा “द लास्ट माइल डिजिटल हेल्थ शिखर सम्मेलन २०२६” आयोजना हुदैँ

बाजुरामा “द लास्ट माइल डिजिटल हेल्थ शिखर सम्मेलन २०२६” आयोजना हुदैँ

  • बिहिबार, बैशाख ३१, २०८३
सेयर गर्नुहोस् :
बाजुरामा “द लास्ट माइल डिजिटल हेल्थ शिखर सम्मेलन २०२६” आयोजना हुदैँ

बाजुरा–बाजुराका चार स्थानीय तहको संयुक्त नेतृत्वमा “द लास्ट माइल डिजिटल हेल्थ शिखर सम्मेलन २०२६” आयोजना हुने भएको छ । बाजुरा जिल्लाको बडीमालिका नगरपालिका, बुढीगंगा नगरपालिका, बुढीनन्दा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त नेतृत्वमा यो सम्मेलन आयोजना हुन लागेको हो।

बाजुराबाट सुरु भएर धनगढी हुँदै काठमाडौंसम्म सञ्चालन हुने यो तीन तहको शिखर सम्मेलनले अन्तिम तहका समुदायको वास्तविकता, प्रदेश स्वास्थ्य प्रणाली, राष्ट्रिय नीति, साझेदारी र लगानीलाई एकसाथ जोड्ने लक्ष्य राखेको छ ।

बडीमालिका नगरपालिकाले बिहिवार पत्रकार सम्मेलन गर्दै दुर्गम तथा अन्तिम तहका समुदाय, अग्रपंक्तिका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय सरकार र स्वास्थ्य संस्थाका वास्तविक अनुभवलाई डिजिटल स्वास्थ्य रूपान्तरणको राष्ट्रिय संवाद, नीति निर्माण, साझेदारी र लगानीसँग जोड्ने उदेश्यका साथ आयोजना गर्न लागिएको जनाएको छ । यो सम्मेलनलाई बाजुराका चार स्थानीय तहसँगै सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य खबर फाउन्डेसन, स्मार्ट हेल्थ ग्लोबललगायत संस्थाहरूको समन्वय तथा सह–आयोजनामा सञ्चालन हुन लागेको जनाएको छ ।

उक्त डिजिटल हेल्थ शिखर सम्मेलन तीन चरणमा सञ्चालन हुनेछ। पहिलो चरण जिल्ला तहको सम्मेलन बाजुराको सदरमुकाम मार्तडीमा २०८३ असार १३ र १४ गते हुनेछ । यस्तै दोस्रो चरण प्रदेश तहको सम्मेलन धनगढीमा २०८३ असार २० गते र अन्तिम चरण काठमाडौंमा २०८३ साउन ३ गते राष्ट्रिय तहको सम्मेलनमा स्थानीय तथा प्रदेश स्तरमा प्राप्त प्रमाण र अनुभवलाई राष्ट्रिय नीति संवाद, साझेदारी, लगानी र डिजिटल स्वास्थ्य भविष्यसँग जोडिने विश्वासका साथ आयोजना हुन लागेको बडीमालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताए ।

नगर प्रमुख खड्काले भने, “हामी अब यो संवादमा समावेश हुने प्रतिक्षा मात्र गरिरहेका छैनौं, हामी आफैं यो संवाद सुरु गर्दैछौं। यो शिखर सम्मेलन नेपाल र विश्वलाई बाजुराको अन्तिम तहमा स्वास्थ्य सेवाको वास्तविक अवस्था हेर्न, बुझ्न र परिवर्तनको सहयात्री बन्न गरिएको हाम्रो साझा आमन्त्रण हो।” यो सम्मेलन बाजुराका लागि मात्र नभई नेपालकै लागि ऐतिहासिक अवसर भएको भन्दै समुदायका आवाज, स्वास्थ्यकर्मीका अनुभव र स्थानीय सरकारको नेतृत्वलाई राष्ट्रिय डिजिटल स्वास्थ्य रूपान्तरणसँग जोड्न सक्ने विकास साझेदार, नीति निर्माता लगायत सरोकारवालाहरू सबैलाई उपस्थितिका लागि आव्हान समेत गरेका छन् । यो सम्मेलनले अन्तिम तहको वास्तविकतालाई व्यवहारिक प्रमाण, प्रदेशस्तरीय प्रतिबद्धता, राष्ट्रिय नीति संवाद र लगानीयोग्य सिफारिसमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ।

विगत करिब ३ वर्षदेखि स्मार्ट हेल्थ ग्लोबल बाजुराको बडीमालिकासहित बुढीगंगा, बुढीनन्दा र त्रिवेणी नगरपालिकामा लागू भएको छ । यस कार्यक्रमले बडीमालिकाका २, ६ र ७ वडाका स्वास्थ्य संस्थामा प्रत्येक दिन विशेषज्ञ डाक्टरहरुमार्फत बिरामीहरुलाई उचित परामर्श तथा सुझाव सल्लाह प्रदान गर्ने लगायतका सेवाहरु उपलब्ध हुदैँ आएको भन्दै अब अन्य वडामा समेत सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । यस सेवामार्फत दुर्गम गाउँका बिरामीहरुलाई समान्य स्वास्थ्य चेकजाँच तथा उपचारका लागि खर्च गरेर बाहिर जानु पर्ने बाध्यताको निवारण भएको बडीमालिका ७ का अध्यक्ष एवम् नगर प्रवक्ता धर्मराज पाध्यायले बताए ।

चर्चामा

सम्बन्धित समाचार