• होमपेज
  • बुढीगंगा
  • पुल बन्छ भन्ने मरेको आश फेरी जागेर आयो

पुल बन्छ भन्ने मरेको आश फेरी जागेर आयो

पुल निर्माण कार्य करिव अन्तिम चरणमा

  • सोमवार, अशोज २८, २०८१
पुल बन्छ भन्ने मरेको आश फेरी जागेर आयो

बाजुरा —सुन्दा अच्चम लाग्ला कतै एउटा पुल बनाउन ५-६ महिना त कतै १०-१२ बर्ष । यस्ता थुप्रै उदाहरण छन् चाहे त्यो झुलंगे पुल होस् वा पक्की पुल नै किन नहोस् । पर्याप्त बजेट, जनशक्ती र निर्माण कार्यलाई निरन्तरता दिने हो भने एउटा पक्की पुल बनाउन ५-६ महिना लाग्नु कुनै नयाँ कुरा भने होइन् । तर बजेट अभाव, ठेकेदारको चरम लापरवाही र सरोकारवालाहरुले ध्यान नदिँदा बन्ने लागेका पुल पनि कोहि अधुरै त कोहि बर्षौपछि बन्छन् । यस्ता थुप्रै पुल मध्येको एक हो बाजुराको बार्जुगाड नदीमा निर्माणाधिन पक्की पुल ।

जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ र बुढिगंगा नगरपालिका वडा नम्बर ४ को बिचमा रहेको बार्जुगाड नदीमा आठ बर्षदेखि पुल निर्माण कार्य अस्तव्यस्त अवस्थामा छ । २०७३ सालमा तत्कालीन जिल्ला विकास समितिले दुई बर्षमा सम्पन्न गर्ने गरि ठेक्का गरेको थियो । पक्की पुल निर्माणका लागि २ करोड २९ लाखमा ठेक्का गर्दै अछामको साउँद एडभेन्चर जेभीले जिम्मा लिएको थियो । पुल निर्माणको सम्झौता अनुसार २०७५ सालमा सक्नुपर्ने थियो तर समयमा काम नसकेपछि उक्त पुल निर्माणको जिम्मा संघिय संरचना पश्चात् पुर्वाधार विकास कार्यालय साँफेबगर अछामले लिएको थियो ।

पुर्वाधार विकास कार्यालय साँफेबगरले पुल निर्माणको जिम्मा लिएपनि आठ बर्षसम्म पनि पुल निर्माण हुन सकेको छैन् ।

केहि बर्षदेखि बार्जुगाड नदिमा पुल निर्माण कार्य अलपत्र परेपछि अब पुल बन्दैन् भन्ने आश मारिसकेका स्थानीयहरुले अहिले पुल निर्माणको काम अन्तिम चरणमा पुगेपछि फेरी आश जागेर आएको बताएका छन् । हरेक बर्षामा बार्जुगाडमा ओर्लेर आउने खोलासँगै ज्यान नै जोखिममा पारेर वारपार गरिरहेका स्थानीयबासीहरु अब भने पुल बन्नेमा ढुक्क भएका छन् । स्थानीय बिर बहादुर बुढाले भने,“३।४ बर्षसम्म काम अस्तव्यस्त भयो तर अहिले काम धमाधम भइरहेको रहेछ अब पुलबाट वारपार गर्न पाइने भयो ।”

पुल निर्माणमा ठेकेदारको चरम लापरवाही र सम्बन्धित निकायले ध्यान नदिँदा समयमै काम सम्पन्न हुन नसकेको स्थानियहरुले बताउदै आएका छन् । बर्षातमा खाला उर्लेर आउँदा बिरामी तथा विद्यार्थीहरुलाई वारपार गर्न समस्या हुने र ज्यान नै जोखिममा पारेर खोलामा आवतजावत गनुपर्ने बाध्यता रहदैँ आएको स्थानिय खडक खड्काले बताए ।

यस बिषयमा हामीले केहि समय अगाडि सम्पर्क गर्दा पुल निर्माण गर्ने जिम्मा लिएको साउँद एडभेन्चर जेभीका ठेकेदार जय बहादुर साउँदले लामो समय कोभिडको कहर र सामान ढुवानीमा बितेको बताए । विगतदेखि विभिन्न ठाउँबाट कामदारलाई काम गर्न लगाएपनि काम नगरेर बिचमै छोडेर भाग्ने गरेकाले केहि दिनमा काम सुरु हुने र कम्तिमा १५ दिनमा काम सम्पन्न हुने आवश्वासन दिएका थिए । तर हालसम्म निर्माण कार्य अन्तिम चरणमा पुगेपनि सम्पन्न भने हुन सकेको छैन् ।

बडीमालिका खबरले पुर्वाधार विकास कार्यालय अछामका प्रमुख रुद्ध बोगटीलाई पटकपटक सम्पर्क गर्दा फोन उठेन् । ठेकेदार जय बहादुर साउँदले भने पुलकाे काम सकिएर पुर्वाधार विकास कार्यालयले वरिपरिका खाल्डाखुल्डी पुरिसकेपछि पुल माथि ३ मिटर वारि र ३ मिटर पारि जाेडेर फिनिसिङ्गकाे काम मात्रै बाँकी रहेकाे बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार