टेक बहादुर बुढा/ बाजुरा– बिद्यालय टाढा हुँदा खप्तड छेडेदह गाउँपालिका ३ धनाल्तका विद्यार्थी करिब तीन घण्टासम्म हिँड्न वाध्य छन् । अपायक ठाउँमा रहेको ४ नंः वडामा रहेको खापरदेवस्थली माविमा अध्ययनरत बिद्यार्थीहरुलाई पठन-पाठनका लागि दैनिक एकतर्फी करिब तीन घण्टासम्म हिँड्न वाध्य बनेका हुन् । गाउँमा कक्षा ५ पाँचसम्म मात्रै पढाइ हुने बिद्यालय हुँदा विद्यार्थी दैनिक घण्टौ हिडेर बिद्यालय जान बाध्य बनेका छन । तर आफ्नै वडामा नजिकै करिब आधा घण्टा मात्रै हिडेर पुगिने कक्षा दससम्म पढाइ हुने भवानी मावि भएपनि त्यँहा गएपछि बर्षयाममा बिद्यालय छोडनु पर्ने बाध्यता हुन्छ । करिब आधा घण्टा हिडेर गएपछि पुगिने उक्त बिद्यालय जाँदा बिचमा झोगिने खोला छ, जहाँ बर्षायममा खोला आउदा बिद्यार्थीले तर्न सक्ने अवस्था हुदैन । बर्षायाममा खोलाको डरले त्यस बिद्यालय पढ्न जाने धेरैजसो बिद्यार्थीहरुले स्कुलसमेत छाड्ने गरेका छन । बर्षायाममा झोगिने खोलाको डरले नै बिद्यालय भर्ना भएका बिद्यार्थीहरु बिद्यालय छाड्ने गरेका भवानी माविले जनाएको छ ।
विद्यालय आउने र जानेक्रममै करिब ६ घण्टा समय खर्च भए पछि विद्यार्थीलाई घरमा गृहकार्य र पठन-पाठन गर्ने समय व्यवस्थापन गर्न सकस भइरहेको बिद्यार्थीहरुको भनाई रहेको छ । विद्यालय पुग्नका लागि छात्र छात्रा बिहान सात बजे नै खाना खाएर विद्यालय हिँड्ने गर्छन । विद्यार्थी विद्यालयबाट छुट्टी भएपछि साँझ अवेर मात्र घर पुग्ने गर्छन । विद्यालय जाँदा साँढे दुई घण्टा र घर फर्कँदा करिब तीन घण्टा समय लाग्ने गरेको धनाल्तकी कक्षा ९ मा अध्ययनरत छात्रा मैना रावत बताउँछिन् । निकै लामो बाटो हिडेर अबेर घर पुग्दा थाकेर गृह-कार्य गर्न पनि नसकिने उनले बताइन् । झोगिने खोलामा पुल भएको भए हामी आधा घण्टामा नै बिद्यालय पुग्ने थियौँ तर खोलामा पुल छैन, बर्षायाममा ठुलो खोला आउँछ बिद्यालय जान सकिदैन् मैनाले दुखेसो गरिन् ।
खप्तड छेडेदह गाउँपालिका ३ मा एउटा माध्यमिक बिद्यालय भवानी मावि रहेको भए पनि बिचमा झोगिने खोलामा पुल नहुँदा बर्षायाममा खोलाको डरले प्राःय धेरैजसो बिद्यालय जान रुचाउदैनन् । यसरी घण्टौ हिडेर बिद्यालय जाँदा र आफ्ना बालबालिकाका घर नफर्किदा सम्म अभिभावकले समेत चिन्तित हुनुपर्ने अभिभावकहरुले बताउने गरेका छन । खोलाको डरले ५/६ कक्षामा नै स्कुल छाडेर बिवाह गर्न तथा रोजगारीका लागि भारतमा समेत जाने गरेका थुप्रै उदाहरणहरु छन । बिद्यालयमा बिद्यार्थीको सहज पहुँचको बातावरण नहुँदा सानै उमेरमा बिद्यालय छाडेर भबिष्य नै अन्धकारको पिडा बिद्यार्थीहरुले सहनु परेको बिद्यार्थीहरु दुखेसो पोख्ने गर्दछन ।
खोलामा पुल नभएकै कारणले बिद्यालय जान समेत बिद्यार्थीहरुलाई करिब तीन घण्टा हिड्नु पर्ने बाध्यता रहेको अभिभावकहरुको दुखेसो छ । भौगोलिक विकटता र बालबालिकाको पढाइमा सरकारले चासो दिन नसक्दा दुर्गम गाउँका बिद्यार्थीहरुले विभिन्न समस्या झेल्दै बिद्यालय पढ्नु पर्ने बाध्यता रहेको छ ।