आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • समाचार
  • दुबईमा जमेका नेपाली भन्छन्- ‘यहाँ सिस्टममा काम हुन्छ, भनसुन चल्दैन, घुस चाहिंदैन’

दुबईमा जमेका नेपाली भन्छन्- ‘यहाँ सिस्टममा काम हुन्छ, भनसुन चल्दैन, घुस चाहिंदैन’

  • बुधबार, माघ १७, २०८०
दुबईमा जमेका नेपाली भन्छन्- ‘यहाँ सिस्टममा काम हुन्छ, भनसुन चल्दैन, घुस चाहिंदैन’

दुबई —धादिङ, मलेखुका ईश्वरप्रसाद उपाध्याय अहिले दुबईमा व्यापार गर्छन् । यसअघि नेपालमा पनि सानोतिनो व्यापार गरेका उपाध्याय आर्थिक सुरक्षा नदेखेपछि सन् २०१० मा दुबई हान्निएका थिए । त्यहाँ सामान्य रेस्टुराँ व्यवसाय सुरु गरेका उनी अहिले राम्रो कारोबार गर्ने मध्येमा पर्छन् ।

विगत केलाउँदै उपाध्यायले भने, ‘नेपालमा सानो किराना पसलबाट व्यवसाय सुरुआत गरेको थिएँ । त्यो बिस्तारै ठूलो होलसेल पसल भयो । व्यापारसँगसँगै काठमाडौंमा होटल व्यवसाय पनि थालें । ८ वर्ष काठमाडौंमा व्यापार, व्यवसाय गरेपछि यहाँ सुरक्षा छैन भन्ने मलाई लाग्यो । अनि युएई आएँ ।’

उनी भन्छन्, ‘नेपालमा अलिकति कमाएपछि खुट्टा तान्ने प्रवृत्ति छ । अलिअलि पैसा भएपछि ज्यानलाई सुरक्षा नहुने अवस्था आउँदा जो-कोही पनि काम गर्न डराउँछ । थोरै मात्रै कमाइ हुन थालेपछि मान्छेले खुट्टा तान्ने, कसरी फसाउँ, कसरी सिध्याउँ भन्ने प्रवृत्ति देखिइहाल्छ । मलाई पनि त्यस्तै भयो ।’

उपाध्यायले सुरुमा सानो रेस्टुराँ खोलेर व्यवसाय थालनी गरेका थिए । यसरी मरुभूमिमा उनको ‘सगरमाथा रेस्टुरेन्ट’ सञ्चालनमा आयो । सुरुमा १ करोड रुपैयाँ लगानीमा व्यवसाय थालेका उपाध्यायले बिस्तारै आफ्नो व्यापार फैलाउँदै लगे ।

यो विस्तारसँगै ‘फूलबारी ग्रुप’ नामक कम्पनी सञ्चालनमा आयो । अहिले फूलबारी ग्रुप अन्तर्गतको व्यापार व्यवसायमा २० करोड रुपैयाँ बढी लगानी छ । फूलबारी ग्रुप अन्तर्गत फूलबारी रेस्टुराँ, फूलबारी ब्युटिपार्लर र सगरमाथा रेस्टुराँ सञ्चालनमा छन् । सबै ठाउँमा गरेर उनले २९ जनालाई रोजगारी दिएका छन् ।

ईश्वरका भनाइमा उनले युएई आएर व्यापारमा हात हाल्नुमा तीन कारण छन् । पहिलो, नियम-कानुन राम्रो छ । हप्ता उठाउने, चन्दा उठाउने, धम्की दिने कोही छैन । उधारो जाँदैन । कुनै खालको गुन्डागर्दी चल्दैन । गुन्डागर्दी गर्न खोजे सीधै प्रहरीलाई फोन गर्ने हो । त्यसपछि त्यो मान्छे सधैंका लागि सकिन्छ ।’

दोस्रो, व्यापारमा यहाँ ‘ग्यारेन्टी’ तथा ‘वारेन्टी’ छ । मैले होटल सञ्चालन गरेको पनि नौ वर्ष भयो । जुन ठाउँमा म होटल चलाउँछु, त्यो ठाउँ मैले छोड्छु नभनेसम्म कोही आएर हटाउन सक्दैन । यहाँ बिजनेस गर्नुको अर्को फाइदा व्यापार गरिरहँदा मनलाग्दी भाडा बढाउन पाइँदैन । सबैतिर भाडा बढ्यो भने एकनासले बढ्छ ।

उनको भनाइमा, नेपालमा हो भने राम्रो गर्न थालेपछि घरबेटीले कि निस्केर जा भन्छ, कि त भाडा बढाउन किचकिच गर्न थाल्छ । नगरपालिका, सरकार सबै चुप बस्छन् । त्यो व्यापार-व्यवसाय गर्ने मान्छेलाई साथ दिने कोही हुँदैन ।

तेस्रो दुबईमा चोरी, डकैती जिरो छ, लफडा हुँदैन, काटमार, कुटपिट एकदम न्यून छ । नेपालमा दिनैपिच्छे, हप्तैपिच्छे घटना हुन्छन् । शक्तिमा हुने जेल बस्नै पर्दैर्न । तर दुबईमा गल्ती गरे नो माफी, यहाँ क्षमायाचना भन्ने हुँदैन । यहाँ सबैले कानुनको पालना गर्छन् ।

नेपाल सरकारले लगानीका लागि सुरक्षित वातावरण बनाउने हो भने ईश्वरलाई नेपालमा एउटा अन्तर्राष्ट्रियस्तरको रिसोर्ट खोल्न मन छ । उनको भनाइमा, ‘नेपालमा लगानी ल्याउन नीति-नियम राम्रो हुनुपर्‍यो । अर्को कुरा नीतिनियम राम्रो भएर मात्रै पनि भएन, मुख्य कुरा देश सिस्टममा चल्नुपर्‍यो ।’

ईश्वर भन्छन्, ‘नेपालमा कानुन अनुसार काम गर्न एक महिना धाउनुपर्छ । तर गैरकानुनी बाटोबाट एक दिनमै त्यो काम गर्न सकिन्छ । जबकि युएईमा जुनसुकै काम सिस्टम अनुसार हुन्छ । घुस चाहिंदैन, भनसुन चल्दैन ।’

ईश्वर यहाँ व्यवसायीसँगै समाजसेवीको रूपमा समेत चिनिन्छन् । कोही समस्यामा पर्दा दुबईमा होस् वा नेपालमा उनलाई सहयोग गर्न मन पर्छ । ईश्वरले हाकाहाकी भने, ‘कमाएको ५ प्रतिशत जति समाजसेवामा सहयोग गर्न पाउँदा म खुसी हुन्छु ।’

उनले भर्खरै मात्र २२ लाख ५० हजार दिराम अर्थात् नेपाली करिब-करिब ८१ करोड रुपैयाँमा बसोबासका लागि घर किनेका छन् ।

बुर्जिल रोयलका रवीन्द्रकुमार

सप्तरीको तिरहुत गाउँपालिकामा जन्मेका छाला रोग विशेषज्ञ डा. रवीन्द्रकुमार यादव युएईको अबुधावी शहरमा बसोबास गर्छन् । उनी शहरको प्रतिष्ठित बुर्जिल रोयल अस्पतालमा काम गरिरहेका छन् । सन् २०१३ मा युएई पुगेका उनी नेपाली समुदायमाझ प्रतिष्ठित चिकित्सक हुन् ।

उनी अबुधावीको ठूलो अस्पताल मानिने बुर्जिलमा सन् २०१७ देखि कार्यरत छन् । उक्त अस्पतालमा मासिक ३८ हजार दिराममा काम सुरु गरेका उनको तलब अहिले ५५ हजार माथि छ । नेपालीमा यो रकम करिब २० लाख रुपैयाँ हाराहारी हुन आउँछ ।

डा. यादव युएई बाहेक पनि धेरै देश पुगिसकेका छन् । धेरै देशमा पुगेर स्वास्थ्य सम्बन्धी तालिम दिने गरेका छन् । युएईमा आफ्नो विषयका जटिल खालका रोगको उपचार गर्ने उनको काम हो । ‘छालाको क्यान्सर पत्ता लगाउने र उपचार गर्ने मेरो मुख्य काम जस्तै भएको छ । यहाँ आधुनिक प्रविधि छ । बिरामीको उपचार गर्न निकै सहज छ’, यादवले भने ।

सप्तरीमा जन्मेका यादवले कक्षा १० सम्मको पढाइ राजविराज बसेर पूरा गरेका थिए । कक्षा ११ र १२ भारतको केरलामा अध्ययन गरे । महाराजगञ्जस्थित टिचिङ हस्पिटलमा अभ्यास गरेर एमबीबीएसको पढाइ पूरा गरे ।

एमबीबीएसको पढाइ सकेर उनले यातना पीडित सरोकार केन्द्र (सिभिक्ट) नामक गैरसरकारी संस्थामा केही समय काम गरेका थिए । त्यसपछि उनले लोकसेवामा नाम निकाले । उनको दरबन्दी मुस्ताङको लेते प्राथमिक स्वास्थ्य केन्द्रमा थियो ।

जागिरको तीन महिनामै उनी छात्रवृत्तिमा भारतको बनारस हिन्दु युनिभर्सिटी पढ्न पुगे । उनले छाला रोगमा विशेषज्ञता हासिल गरे । पढ्न गएपछि उनको सरकारी जागिर गयो । भारतमा एमडी पढेर आएपछि विराटनगरको नोबल मेडिकल कलेजमा काम थाले ।

उनले सो अस्पतालको निमित्त निर्देशकका रूपमा समेत काम गरेका थिए । सन् २००७ देखि २०१० सम्म उनले त्यहाँ काम गरे । त्यसपछि सन् २०१० देखि २०१३ सम्म उनले भारतको पूणिर्या शहरमा गएर पनि काम गरे ।

सन् २०१३ मा युएईको अलेन भन्ने शहरको अल्नोर हस्पिटलमा काम गर्न पुगेका यादवले त्यहाँ चार वर्ष विताए । अनि सन् २०१७ मा प्रमुख शहर अबुधावी पुगे ।

डा. रवीन्द्रकुमार सामाजिक कार्यमा पनि निरन्तर सक्रिय छन् । सन् २०१४ मा उनले युएईमा मधेशी समाज स्थापना गरेका थिए । त्यतिबेलासम्म मधेशीहरूलाई समस्या पर्दा सहयोग गर्ने कुनै खास संस्था थिएन ।

उनी भन्छन्, ‘मैले मधेशी समाज स्थापना गरेपछि सबैले त्यसलाई सहयोग गरे । अहिले पनि समाजले विभिन्न कार्यक्रम गरिरहेको छ । बाढी-पहिरोले समस्या पर्दा चन्दा संकलन गरेर सहयोग गर्ने काम हामीले गरेका छौं ।’

‘मधेश आन्दोलनमा मारिएका शहीद परिवारहरूलाई पनि समाजले सहयोग गरेको थियो । सन् २०१८ मा जेनेभामा पुगेर मधेशको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नमा मेरो पनि योगदान रहृयो’, डा. रवीन्द्रकुमारले भने । उनी संस्थाको संस्थापक हुन् । अहिलेे संरक्षकको रूपमा काम गरिरहेका छन् ।

उनका भनाइमा नेपालमा तुलनात्मक अध्ययन गर्ने हो मधेशका जिल्लाहरूबाटै सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जान्छन् । विदेशबाट भने लास फर्किने र अंगभंग हुने पनि मधेशकै सबैभन्दा धेरै छन् ।

रवीन्द्रकुमार दैनिक ८ घण्टा सेवा गर्छन् । हप्तामा एक दिन बिदा हुन्छ । उनी भन्छन्, ‘मैले कहिल्यै पनि विदेशमा गएर काम गर्छु भन्ने सोचेको थिइनँ तर परिस्थितिले विराटनगरबाट यहाँसम्म ल्यायो ।’ कुराकानीको बिट मार्दै उनले भने, ‘विस्तारै नेपाल जाने सोचाइमा छु, सामाजिक कार्यमै रहन्छु ।’

व्यवसायसँगै सामाजिक सेवामा एकेन्द्र

पोखरा उपमहानगरपालिका-१७ विरौटाका एकेन्द्रबहादुर थापा क्षेत्री युएईमा नेपाली समुदायमाझ प्रतिष्ठित व्यवसायी हुन् । १८ वर्षदेखि यहाँ रहेका थापा सन् २००५ मा दुबई पुगेका थिए । उनले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा लामो समय काम गरेका थिए ।

थापाले सन् २००५ मा युएई पुगेर ट्राभल एजेन्सीमा काम थालेका थिए । थापा भन्छन्, ‘सशस्त्र द्वन्द्व चुलिएपछि देशमा सुरक्षामै प्रश्न उठ्न थाल्यो । विस्तारै देश नै युद्धस्थल जस्तो भएपछि पर्यटन क्षेत्र धरापमा पर्‍यो । अब देशमा बसेर केही हुन्न जस्तो लाग्यो अनि विदेशतिर लागें ।’

पुर्ख्यौली घर स्याङ्जाको पुतलीबजार नगरपालिका-४ भएका उनको परिवार बसाइँ सरेर पोखरा पुगेको थियो । पहिलो पटक उनी भिजिट भिसामा युएई पुगेका थिए । पोखरामा ट्राभल एजेन्सीमा काम गरेको अनुभव भएकाले उनले बुर्ज दुबईमा पुगेर ट्राभल एण्ड टुरिजम क्षेत्रमा काम सुरु गरे । दश वर्ष त्यसैमा बिताए ।

उनले मासिक १८०० दिराम तलबबाट जागिर सुरु गरेका थिए । छाड्दा उनको तलब ६ हजार ५०० दिराम पुगेको थियो । अनुभव बढ्दै जाँदा एकेन्द्र सहित चार जना मिलेर नमस्ते टुर एण्ड ट्राभल सञ्चालनमा ल्याए । एकेन्द्र थापा, आनुका अर्याल, अशोककुमार बानियाँ र छविलाल कुँवरले यो प्रयास गरेका थिए ।

सुरुमा एक लाख दिराम अर्थात् ३६ लाख नेपाली रुपैयाँ लगानी गरेर यो ट्राभल एजेन्सी सुरु गरिएको एकेन्द्र बताउँछन् । अहिले यो ट्राभल एजेन्सीका युएईमा दुई र काठमाडौंमा दुई गरेर ४ वटा शाखा छन् । लगानी ४ लाख दिराम अर्थात् नेपाली रुपैयाँ झण्डै डेढ करोड पुगेको छ । २२ जना दुबईमा र १७ जना नेपालमा गरी ३९ जनाले रोजगारी पाएका छन् ।

एकेन्द्र व्यवसायसँगै सामाजिक सेवामा पनि सक्रिय छन् । सन् २०१५ मा उनी नेपाली बिजनेस काउन्सिलको कोषाध्यक्ष भएका थिए । काउन्सिल युएईमा बसोबास गर्ने नेपाली व्यवसायीहरूको संस्था हो । उनी नेपाली समाज युएई र नेपाल पत्रकार महासंघ युएई शाखाको सल्लाहकार र एनआरएन युएईको पूर्व सल्लाहकार तथा स्याङ्जा सहयोग समाजका संरक्षक छन् ।

एकेन्द्र भन्छन्, ‘युएईमा ६ लाख हाराहारी नेपाली छन् । यो देश नेपालीको गुजारा चलाउने देशमध्ये एक बनेको छ । संसारका २०० भन्दा बढी देशका मान्छेले कर्म गर्ने ठाउँमा हामी नेपाली पनि छौं ।’

एकेन्द्रको बुझाइमा यहाँ दुई वटा बाटोबाट मान्छेहरू छिर्छन् । एउटा भिजिट भिसाबाट, अर्को रोजगारी भिसाबाट । नेपालीहरू काम गर्न भनेर आउने तर यहाँ कुलतमा पनि लाग्ने गरेका छन् र कति त ठगिएका पनि छन् । नेपालमा धेरै पैसा तिरेर यहाँ आउने तर यहाँ काम नपाउने समस्या पनि छ । ‘दलालसँग फसेकाहरूलाई हामीले कतिपय बेला सहयोग गर्ने गरेका छौं’, उनले थपे ।

महिनामा आफूकहाँ मात्रै समस्या परेका २० जनाभन्दा बढी आउने उनको भनाइ छ । आफूले सक्दो सहयोग गरिरहेको बताउने थापा शव अलपत्र पर्न नदिन सम्बन्धित जिल्लामा र परिवारसँग समन्वय गरेर पठाउने गरेको बताउँछन् ।

थापाले भने, ‘जटिल केसमा एनआरएन लगायत सामाजिक संस्थासँग मिलेर सहयोग गर्छौं । सन् २०२३ मा मात्रै ३०० बढी नेपालीको यहाँ निधन भएको थियो ।’

करोडौंको व्यापार गर्ने बिष्ट

सिराहा घर भएका सरोज बिष्ट अहिले दुबईमा करोडौंमा कारोबार गरिरहेका छन् । नेपालमा कुनै बेला सरोजका बुवा पनि व्यापारमा संलग्न थिए । उनका बुवाले काठमाडौंमा सुनकोशी छापाखाना सञ्चालन गरेका थिए । नेपालमा बुवाको व्यवसाय राम्रै चलेको थियो ।

विदेशिनुमा अरूको भन्दा भिन्न कारण थियो सरोजको । उनी चाहिं नेपालको राजनीतिप्रतिको वितृष्णाले आफू विदेशिएको बताउँछन् । सन् २०१२ मा युएईको दुबई शहर पुगेका सरोजले त्यहाँ कन्सल्टेन्सीको काम सुरु गरे । उनको कन्सल्टेन्सीले दुबईबाट रोजगारीका लागि बेलायत, अमेरिका, युरोप लगायत विभिन्न देशमा पठाउने काम गर्दै आएको छ ।

उनले आफ्नो कन्सल्टेन्सीले ८ हजार भन्दा बढीलाई वैदेशिक रोजगारी दिइसकेको बताए । उनको कन्सल्टेन्सी दुबईमा चिनिएको कम्पनीमा पर्छ । सरोजका भनाइमा उनले दुबईमा विस्तारै व्यवसाय बढाउँदै गए । अहिले कन्सल्टेन्सीसँगै उनको काष्ठमण्डप रेस्टुराँ र स्टार सेभेन क्लब सञ्चालनमा छन् ।

भर्खर सञ्चालनमा ल्याएको रेस्टुराँ र क्लबमा ३० करोड रुपैयाँ भन्दा बढी लगानी छ । उनले नेपाली र विदेशी गरेर १०० जना भन्दा बढीलाई रोजगारी दिएका छन् ।

सरोज भन्छन्, ‘आफ्नो देश भनेको आफ्नै देश हो । तर के गर्नु नेपालमा बस्दा निस्सासिए जस्तो हुन्छ । न सिस्टम छ, न कानुन पालना छ । जबसम्म सिस्टम राम्रो हुँदैन न व्यापारीले सुरक्षा पाउँछन् न मान्छेले रोजगारी । यसका लागि नेतृत्व नै सही हुन आवश्यक छ ।’

उनी भन्छन्, ‘जबकि युएईमा सबै कुराको सुरक्षा छ । सबै सिस्टममा चलेको छ । तब पो हामीले यहाँ व्यापार गर्न सकिरहेका छौं ।’ उनको विचारमा सरकारले कानुन बनाएर मात्रै हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन पनि गर्नुपर्छ । नेपालमा त त्यो कार्यान्वयन नै हुँदैन । अनि के हुन्छ ?

नेपाली राजदूतावास युएईका श्रमिक परामर्शदाता दिनबन्धु सुवेदी भन्छन्, ‘व्यवसायीको परिश्रम र युएईको व्यवस्थित सिस्टमका कारण नेपालीहरू सफल भएका हुन् । अर्को कुरा यहाँ कानुन व्यवस्थित छ, पर्याप्त सुरक्षा व्यवस्था छ । र, लगानीकर्ता निश्चित हुन पाउँछन् ।’ सुवेदी थप्छन्, ‘सफल नेपाली व्यवसायीले यहाँ देशको नाम नै राख्नुभएको छ ।’

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री पनि नेपाली व्यवसायीको सफलतामा प्रसन्न छन् । उनी भन्छन्, ‘नराम्रा कुराको प्रचार धेरै हुने तर इमानदारीपूर्वक काम गरेर सफल हुने नेपालीको बारेमा चर्चा कम हुने गरेको छ ।’ उनका भनाइमा, यहाँ राम्रो कमाइ गर्ने सफल व्यवसायीहरू पनि छन्, उनीहरूको चर्चा कमै हुन्छ । तर मानव तस्करी गर्न खोज्ने समूह पनि उत्तिकै सक्रिय छ । उनीहरूको चाहिं चर्चा धेरै हुन्छ । अनलाइन खबरबाट

चर्चामा

सम्बन्धित समाचार