शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • समाज
  • विद्यालयले दिने प्याडै प्रयोग गर्नै गाह्रो हुन्छ : किशोरीहरु

विद्यालयले दिने प्याडै प्रयोग गर्नै गाह्रो हुन्छ : किशोरीहरु

  • मङ्लबार, मंसिर २७, २०७९
विद्यालयले दिने प्याडै प्रयोग गर्नै गाह्रो हुन्छ : किशोरीहरु

त्रिप्ती शाही

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाकी प्रकृती नाथ कक्षा ११ कि छात्रा हुन् । विरेन्द्र माध्यकिम विद्यालयमा अध्ययनरत उनलाई विद्यालयलेनै निशुल्क रुपमा प्याड दिने गरेको छ ।
विद्यालययले प्याड दिदा खेरी उनलाई खुसी लागेको थियो । आफ्नै पैसा हालेर प्याड किन्न पर्ने बाध्यता हट्ने विश्वास उनलाई थियो । तर उनको यो विश्वास रहेन जब उनले विद्यालयबाट दिएको प्याड प्रयोग गर्न थालिन् ।
उनलाई विद्यालयले दिने प्याड प्रयोगै गर्न मिल्ने नभएको गुनासो उनले गरिन् । उनले भनीन् , ‘ विद्यालयबाट दिएको प्याड प्रयोग गर्न सहज हुदैन । राम्रो छैन । यसले त रगतै थाम्दैन । १ घण्टा भन्दा बढी यो प्याडले काम गर्दैन । त्यसैले आजभोली प्याड किनेरै प्रयोग गर्ने गर्ने गरेकी छु ’
विद्यालयले दिने प्याड प्रयोग गर्न असहज प्रकृतीलाई मात्र हुदैन सबै छात्राहरुलाई हुने गरेको छ । विद्यालयबाट पाउने प्याड प्रयोग गर्न गाह्रो हुने गरेको दशरथचन्द नगरपालिकाकै छात्रा स्वस्तिका ठगुन्नाले बताइन् । एक पटक मात्र यो प्याड प्रयोग गरेको उनले बताइन् । प्रयोग गर्न अफ्ठेरो भएपछि दोस्रो पटक विद्यालयबाट पाइएको प्याड प्रयोग नगरेको उनले बताइन् । उनले भनीन् , ‘ प्याड दिए जस्तो मात्र भएको छ । हामीलाई प्रयोगै गर्न मिल्दैन । दिनु र नदिनुमा केहि फरक छैन लाग्न आजभोली । ’
सरकारले सरकारी तथा सामुदायिक विद्यालयमा निःशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध हुने जनाएको छ । विद्यालयमा अध्ययन गर्ने किशोरीले महिनावारी भएको बेला प्रयोग गर्नेगरी सरकारले देशका सबै सरकारी तथा सामुदायिक विद्यालयमा निःशुल्क प्याड उपलब्ध गराइने घोषणा समेत गरेको छ ।
तर किशोरीहरुले पाउने प्याड प्रयोगै मिल्ने खालका नहुदा पनि कसैको ध्यान जान सकेको छैन । किशोरीहरु भने डरैले यो कुरा कसैलाई नभन्ने गरेको बताउछन् । आपूmहरुलाई प्याड राम्रो छैन भन्ने थाहा हुदा हुदै पनि कसैलाई भन्न नसकिने अवस्था रहेको नाम नबताउने सर्तमा दशरथचन्द नगरपालिकाकी एक छात्राले बताइन्् । उनले भनीन् , ‘ हामीले म्यामहरुलाई त भनेका हुन्छौं । उहाँहरुले हाम्रो कुरा खासै चासो दिनुहुन्न । अरु कसलाई भन्न जानु । यस्तो प्याड दिन भन्दा नदिदा नि केहि फरक पर्थेन होला । दिए जस्तो मात्र छ । हामीले प्रयोगै गर्न सक्दैनौं । ’
सरकारले कक्षा ६ देखी १२ सम्म पढ्ने महिनावारी हुने किशोरीहरुलाई विद्यालयबाट निशुल्क प्याड वितरण गर्ने गरेको छ । किशोरीहरुको लागि प्याड किन्ने रकम गाउ वा नगरपालिकाको खातामा आउने गर्छ ।
पलिकाले टेन्डर गरि ठेकेदारलाई ठेक्कामा दिने गर्छन । ठेकेदारले प्याडको क्वालीटी चेक गर्ने गरेपनि यहाँ निर गल्ती हुने गरेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र प्रसाद अवस्थीले बताए । यसले गर्दा बैतडीमा पनि धेरै गुनासाहरु आउने गरेका उनले बताए । उनले भने , ‘ सुरुवातमा निकै गुनासाहरु आए । प्याड प्रयोग गरेका किशोरीहरुको घाउसम्म भएको भेटिएको थियो । हामीले सबैसंग छलफल गरेर कतिपय कमसल प्याडहरु अझै स्टक राखिएको छ । ’ कि क्वालीटी वाला प्याड दिनुस हैन भने सिधै विद्यालयकै खातामा रकम हाल्नुस् भनेर हामीले भनिसकेपछि पछिल्लो समय समस्या कम भएको महसुस गरेको उनले बताए । पालिका र विद्यालयलाई यो विषयमा आफुले बारम्बार कुराहरु गर्ने गरेको उनले बताए । पछिल्लो समय पालिकाका शिक्षा शाखा प्रमुखहरुलाई यो विषयमा पनि ध्यान दिन भनेका छौं । उनले भने , ‘अहिले गुनासाहरु कम भएका छन् । गुनासाहरु आउना साथ हामीले सम्बोधन गरेका छौं । गर्छौ पनि । ’
महिलाहरु महिनावारी भएको बेला प्रयोग गर्ने गर्ने प्याड मापदण्ड पुगेको हुनुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले बताए । मापदण्ड नपुगेका प्याडले स्वास्थ्यमा समस्या ल्याउने गरेका उनले बताए । उनले भने , ‘ मापदण्ड पुगेको प्याड रगत सोस्ने क्षमता भएको हुनुपर्छ । प्याडमा प्रयोग भएका सामाग्रीहरु पनि नरम हुनुपर्छ । यदि नरम नभएर कडा भयो भने यौनाङ्ग चिलाउने , खटिरा आउने हुन्छ । प्याड छिटो रगत सोस्ने खालमा पनि हुनुपर्छ । ’
विद्यालयमा प्याड व्यवस्थापनमा पनि समस्या
यस्तै बैतडीका अधिकांश विद्यालयमा सेनेटरी प्याड व्यवस्थापन गर्ने ठाउँ नहुँदा पनि किशोरीहलाई समस्या हुने गरेको छ । महिनावारी भएको समयमा विद्यालयले किशोरीलाई प्याड उपलब्ध गराउने भएपनि अधिकांश ठाउँमा प्याड व्यवस्थापनको समस्या किशोरीहरूले भोगिरहेका छन् ।
महिनावारी भएको समयमा विद्यालयबाट प्याड पाइने भए पनि प्रयोग गरेको प्याड व्यवस्थापन गर्ने ठाउँ नभएको डिलाशैनीस्थित सरस्वती मावि नानराकी छात्रा अनुष्का भट्टले बताइन । ‘महिनावारीको बेला विद्यालयबाट प्याड पाइन्छ तर फेर्ने र फाल्ने ठाउँ नै हुदैन’ उनले भनिन्, ‘यसले हामीलाई सास्ती भएको छ । महिनावारी भएको बेला विद्यालय जान पर्दा प्याड कसरी चेन्ज गर्ने ? कहाँ लिएर व्यवस्थापन भन्ने चिन्ता हुन्छ । ’
प्रयोग गरेको सेनेटरी प्याड चार÷ चार घण्टामा फेर्नुपर्ने भए पनि छात्रामैत्री शौचालय नहुँदा विद्यालयमा अध्ययन गर्ने किशोरीहरूलाई समस्या हुने गरेको छ । प्याड फेर्न र प्रयोग गरेको प्याडलाई व्यवस्थापन गर्न साह्रै समस्या हुने गरेको दुर्गा मावि सिमारकी छात्रा सुस्मिता बोहराले बताइन् । ‘ छात्रा मैत्री शौचालयहरू विद्यालयमा छैनन् । शौचालयहरू फोहोरले भरिएका हुन्छन् । पानीसमेत हुँदैन, उनले भनिन्, ‘हामीलाई महिनावारी भएको बेला धेरै समस्या भोग्नुपर्छ । बीचमै विद्यालय छोडेर आउनुपर्ने अवस्था पनि छ ।’
प्याड व्यवस्थापनका लागि आवश्यक संरचना निर्माण नहुँदा छात्राहरूलाई समस्या हुने गरेको जगदम्बा मावि खलिगाडकी छात्रा सरिता जोशीले बताइन् । महिनावारी सरसफाइका विषयमा थाहा भए पनि प्याड व्यवस्थापन गर्ने ठाउँ नहुँदा समस्या भएको छ । उनले भनिन्, ‘महिनावारीको प्याड फेर्न र प्रयोग गरेको प्याड व्यवस्थापन गर्ने ठाउँ नहुँदा हामीहरूलाई समस्या छ । यसले पढाइमा बाधा पुग्ने गरेको छ ।’
अधिकांश विद्यालयमा छात्राहरूले यो समस्या भोगिरहेको वीरेन्द्र मावि शाहीले बैतडीकी शिक्षिका शान्ति चन्दले बताइन् । यसले छात्रालाई मात्र नभएर महिला शिक्षकहरूलाई पनि समस्या हुने गरेको उनले बताइन् । महिला शिक्षकहरू त जसरी तसरी व्यवस्थापन गर्ने भए पनि छात्राहरूले यसले धेरै समस्या भोगिरहेका उनको भनाइ छ । विद्यालय व्यवस्थापनको कमजोरीकले दुःख पाइरहेका उनले बताइन् ।
बैतडीका विभिन्न स्थानीय तहमा रूपान्तरण कक्षामार्फत महिनावारी सरसफाइका बिषयमा छलफल हुने गरेको छ । किशोरकिशोरी समूहमा हुने छलफलमार्फत सेनेटरी प्याडको प्रयोग र यसको व्यवस्थापनका विषयमा जानकारी दिने गरिएको सहजकर्ता हरू भट्टले बताइन् । यी कक्षाहरूमा हुने छलफलबाट आफूहरूले विद्यालयमा समेत आवाज उठाउने गरेको उनले बताइन् । उनले भनिन्, ‘अधिकांश विद्यालयमा प्याड व्यवस्थापनमा समस्या भएकोले व्यवस्थापन गर्ने ठाउँ बनाउन आग्रह गरेका छौं ।’ सेनेटरी प्याड व्यवस्थापनका लागि गाउँपालिका भरिका विद्यालयहरूको अवस्थाका बारेमा जानकारी लिने र त्यसपछि आवश्यक योजना बनाउने डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । ‘ हामीले छात्राहरूको समस्या थाह पाएका छौं, उनले भने, ‘यो समस्या समाधानका लागि पहल गर्छौं ।’

चर्चामा

सम्बन्धित समाचार