• होमपेज
  • बाजुरा बिशेष
  • पर्यटन पर्वद्धनको नाममा सडक खन्नुको साटो कोल्टी विमान स्थलको स्तरोउन्नतीका लागि पहल गरौं

पर्यटन पर्वद्धनको नाममा सडक खन्नुको साटो कोल्टी विमान स्थलको स्तरोउन्नतीका लागि पहल गरौं

  • बिहिबार, बैशाख २७, २०८१
पर्यटन पर्वद्धनको नाममा सडक खन्नुको साटो कोल्टी विमान स्थलको स्तरोउन्नतीका लागि पहल गरौं

बाजुरा जिल्लाका नि. वर्तमान उपसभापति, कोल्टी निवासी सुर्य प्रसाद गिरीको पहल र माननिय नरसिंह गिरीको समन्वयमा वि. स. २०३६ सालबाट कोल्टीको कालढाडमा कोल्टी विमान स्थलको निर्माणको काम शुरु भएर वि.स. २०४१ सालको असारमा विमान स्थलको निर्माण कार्य सम्पन्न पश्चात वि.स. २०४१ साल असोज १५ गते (1 October, 1984) शाही नेपाल वायुसेवा निगमको प्लेन (RNAC) अवतरण गरे पश्चात आजका दिन सम्म विभिन्न निजि तथा सरकारी विमान कम्पनी (नेपाल एयरलाइन्स, गोमा एयरलाइन्स, यति एयरलाइन्स, निकोन एयरलाइन्स, समिट एयरलाइन्स, तारा एयरलाइन्स, सिता एयरलाइन्स, नेपाली सेनाको स्काइ ट्रक र विभिन्न कम्पनीका हेलीकोप्टर) ले बाजुराको कोल्टी बाट सुर्खेत, नेपालगंज र धनगढी सम्मको सेवा दिदै आइरहेका छन्।चालिसको दशक देखि सत्तरीको दशक सम्म बाजुराका पुर्वी उत्तरी क्षेत्रका नागरिकहरुलाई यातायातको अन्य विकल्प नरहेको अवस्थामा हुम्ला, मुगु, कालीकोट र बाजुराका हजारौ बिरामीको ज्यान जोगिनुका साथै लाखौ व्यक्तिलाई कोल्टी विमानस्थल र विमान कम्पनीले सेवा दिदै आइरहेका छन तर विमान स्थलको स्तरोउन्नती र विमान कम्पनीलाई राजनीतिक दल, जनप्रतिनिधि, जिल्ला स्थित सरकारी कार्यालय, स्थानीय तहले उपलब्ध गराउनु पर्ने सेवा सुविधा र सम्मानमा ध्यान पुर्याएको देखिदैन।

स्थानीय तह संञ्चालन पश्चात विकास भनेको सडक खन्नु हो, भन्ने बुझाइको आधारमा निर्वाचित जनप्रतिनिधिले बाजुराका प्राय सबै गाउँबस्ती र डाडाकाँडामा सडक पुर्याउने लक्ष्य राखेर सडक खन्ने होडबाजी चलिरहेको छ।त्यसैको परिणाम होला प्रत्येक बर्ष बाढीपहिरोले लाखौको धनजन सहित मानविय क्षति हुदै गइरहेको छ। आर्थिक बर्ष २०७४ देखि आ.व. २०८० सम्मको प्रत्येक स्थानीय तहको बजेट बिश्लेषण गर्ने हो भने, सबै स्थानीय तहले कुल विकास बजेटको साठ्ठी प्रतिशत रकम सडक खन्नमै विनियोजन गरेको पाइन्छ । बिगत बर्षहरुमा करोडौ लगानी गरेर खनेका सडकमा बर्षमा दश दिन पनि ट्रयाक्टर गुडेको देखिदैनन भने उक्त सडकमा गाइबस्तु, भेडाबाख्रा र मानिसलाई घाँस दाउरा बोक्ने र हिड्ने बाटोको रुपमा परिणत भएका छन्।स्थानीय तहले अझै पनि सडक खन्ने कामलाई निरन्तरता दिइरहेकै छन्।भुगोल, जनसंख्या र आवश्यकताको आधारमा सडक खन्नुको साटो लेक र औल जाने बाटोलाई सडक नामाकरण गरेर खनिरहेका छन् । मेरो अनुरोध आगामी बर्षको बजेटमा नयाँ सडक खन्नुको साटो नियमित रुपमा संञ्चालनमा आउने र वडा कार्यालय सम्म सहज रुपमा जानका लागि खनिएको सडकको स्तरोउन्नती गर्नुका साथै बाजुरा जिल्लाका प्रदेश (क) का चारवटा स्थानीय तहले कोल्टी विमानस्थलको स्तरोउन्नती र रन वे बिस्तारका लागि जग्गा अतिक्रमणका लागि बजेट विनियोजन र थप बजेटका लागि प्रदेश सरकार र संघिय सरकारलाई अनुरोध गर्नुपर्ने देखिन्छ।

No description available.

बाजुराका सबै स्थानीय तहले पर्यटन प्रबद्धर्नका लागि मन्दिर, भ्यू टावर, माणु, गुम्बा, मस्जिद, पार्क, कर्णालीमा रयाफ्टिङ्ग, ब्रोसर छपाई, पद मार्ग निर्माण र पर्यटकिय क्षेत्रको सम्भावना अध्ययनमा करोडौ रकम खर्च गरेपनि कति पर्यटक भित्रिए, स्थानीय तहले कति आम्दानी गरे र कतिजनाले रोजगारी प्राप्त गरे भन्ने तथ्याँक कसैसंग भेटिदैन।पर्यटकको सहजताका लागि जगन्नाथ गाउँपालिकाले बडिमालिका सडक, बुढीनन्दा नगरपालिकाले बुढीनन्दा सडक र हिमाली गाउँपालिकाले रानीसैन जाने सडक खनिरहेका छन। खनिएका सडकहरु धार्मिक र पर्यटकिय हिसावले पर्यटकलाई आवतजावतमा सहज होस भन्ने मनसायले खनिएका भएपनि प्राकृतिक र वातावरणिय रुपले उपयुक्त हुने देखिदैनन् ।बिगतमा खनिएका सडक जे जस्तो अवस्थामा रहेका छन तिनिहरुको स्तरोउन्नती गर्ने र त्यँहा भन्दा माथि सडक खन्नुको साटो पदमार्ग निर्माण गर्दा उपयुक्त हुने देखिन्छ ।

बुढीनन्दा नगरपालिका वडा नं १ र २ मा अवस्थित समुन्द्री सतहबाट ४३०० फिट उचाई र ५२० मिटर लामो कोल्टी विमान स्थल बिगत चालिस बर्ष देखि संञ्चालनमा रहेको विमान स्थलमा अपवाद बाहेक खासै दुर्घटना भएका छैनन् । केहि बर्ष पहिले मौषमको खराबी र रन वे छोटो भएका कारण नेपाली सेनाको स्काई ट्रक दुर्घटनामा भएको थियो। विमान स्थलको स्तरोउन्नतीका लागि कोल्टी नागरिक उड्डयन प्राधिकरण कार्यालयका नि.वर्तमान कार्यालय प्रमुख मोहनजंग शाहीले पटक पटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको भएपनि त्यसको सुनुवाई नभएका कारण जिल्लामा अवस्थित राजनीतिक दल, संघिय सासंद, प्रदेश सासंद र स्थानीय तहका जनप्रतिनिधिहरुले एकमत भएर विमान स्थलको स्तरोउन्नतीका लाग्नु पर्ने देखिन्छ।त्यसका लागि चारवटै स्थानीय तहले रन वे, हवाई इन्धनको डिपो स्थापना, विमान कम्पनीहरुको कार्यालय स्थापना र हेलिप्याड निर्माणका लागि आवश्यक जग्गाको सहजिकरण र रकमका लागि पहल गर्नुपर्ने देखिन्छ।

कोल्टी विमान स्थलको स्तरोउन्नती र रनवेको क्षमता बढाएर १००० देखि १५०० मिटर सम्म बनाएर चालिस सिट सम्मको प्लेन ल्यान्ड गर्न सक्ने भएमा हुम्ला, मुगु, कालीकोट र बाजुराको ट्रान्जिट प्वाइन्ट हुने देखिन्छ।कोल्टीमा हवाई इन्धन भर्ने सुविधा नभएकाले नेपालगन्जबाटै दुईतर्फी उडानका लागि आवश्यक इन्धन बोक्ने गरिएको छ।धेरै इन्धन बोक्नुपर्दा जहाजको भाडादर महँगो पर्नुका साथै जहाजहरूले तुलनात्मक रूपमा थोरै यात्रुसमेत ओसार्दै आएका छन् । कोल्टीमा इन्धन भर्ने सुविधा भए उडान संख्या बढ्ने तथा अन्यत्र कनेक्टिङ फ्लाइट र हेलिकोप्टरको चार्टर्ड उडानमा समेत वृद्धि हुने भएकोले नेपाल नागरिक उड्डयन प्राधिकरण नेपाल र नेपाल आयल निगम संग समन्वय गरेर कोल्टीमा हवाई इन्धनको डिपो स्थापनाका लागि पहल गर्ने र त्यसका लागि आवश्यक जग्गाको व्यवस्था नगरपालिकाले गर्नुका साथै बुढीनन्दा नगरपालिकाले एयरपोर्ट आसपासको जग्गामा स्थायी संरचना नबनाउनका लागि अहिले नै परिपत्र गर्नुपर्ने देखिन्छ।

कोल्टी बिमान स्थल दुइतर्फी सडक संञ्जाल संग जोडिएको र कोल्टीबाट राराताल, खप्तड राष्ट्रिय निकुन्ज, बडिमालिका मन्दिर, बुढीनन्दा मन्दिर र चिनको मानसरोबर कैलास पर्वत नजिकै रहेको हुनाले यहाँबाट हेलिकोप्टरबाट कनेक्टिङ्ग फ्लाइट गरेर पर्यटकलाई घुमाउन सकिन्छ।कर्णाली करिडोर बाजुरा हुदै चिनको ताक्लाकोटबाट भारतको रुपडिया सम्म जोडिएको हुनाले भारतिय हिन्दु पर्यटक , आन्तरिक र बाह्य पर्यटकलाई आकर्षिक गर्न सकेमा स्थलमार्ग र हवाई मार्गबाट पर्यटक आउनुका साथै प्रदेश (क) का चारवटा स्थानीय तहमा व्यापार व्यवसाय बढ्नुका साथै रोजगारी सृजना हुने देखिन्छ।

चर्चामा

सम्बन्धित समाचार