मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाचार
  • कर्णाली तर्न डुंगाकै भर

कर्णाली तर्न डुंगाकै भर

  • शनिबार, कार्तिक १२, २०७९
कर्णाली तर्न डुंगाकै भर

अधिकांश टीकापुरबासीको खेत छ बर्दियाको दौलतपुरमा । खेतीपाती गर्नदेखि अन्नबाली भित्र्याउन टीकापुरबासीहरु दौलतपुर पुग्नुपर्छ । दौलतपुरबासी पनि किनमेलको लागि टीकापुर पुग्नै पर्छ । सुदूरपश्चिम प्रदेशको टीकापुर नगरपालिका र लुम्बिनी प्रदेशको राजापुर नगरपालिका जोड्ने दौलतपुर घाटमा पुल नभएकै कारण वर्षौंदेखि दुबै ठाउँका स्थानीय जोखिमपूर्ण डुंगाबाट वारपार गर्दै आएका हुन् । हिउँदयाममा नदीमा पानीको बहाव केही कम हुने भए पनि बर्खामा उर्लदो भेलमा भने स्थानीय ज्यानकै बाजी थापेर आउजाउ गर्छन् ।

कैलालीको टीकापुर बजार राजापुर नगरपालिकाको दौलतपुर, टिहुनीलगायतका दर्जनौं गाउँको मुख्य बजार हो । दौलतपुर घाट भएर दैनिक हजार बढी स्थानीय डुंगाबाट बजारसम्म पुग्छन् । कर्णाली नदीले दुबै प्रदेश र दुबै जिल्लाको सीमाना छुट्याएको भए पनि यहाँका स्थानीयहरुको सम्बन्ध घनिष्ट छ । टीकापुरका सयौं बासिन्दाको खेत राजापुरमा छ भने राजापुरका लागि टीकापुर नजिकको व्यापारिक केन्द्र हो ।

‘हाम्रो खाने खेत नै राजापुरको दौतलपुरमा छ, धान ल्याउनेदेखि खेति लगाउनसम्म दिनमै तीन-चार पटकसम्म ओहोरोदोहोरो गर्नुपर्छ’टीकापुरका खेम धमालाले भने, ‘ज्यान जोखिममै राखेर जानुपर्छ, समय पनि धेरै लाग्छ ।’ नदीमा सञ्चालन हुँदै आएका डुंगा (स्टिमर)बाट स्थानीय आवतजावत गर्छन् ।

बर्दियाको दौलतपुर उब्जनीका लागि उर्वर भूमि हो । टीकापुरमा बसोबास गर्नेहरू पनि दौलतपुरमै खेतीपाती गर्छन् । दौलतपुरमा उब्जाएको खाद्यान्न बाली डुंगाबाटै टीकापुर भित्र्याउँछन् । कर्णाली नदीको तीव्र बहावका कारण बेला बेलामा दुर्घटना समेत हुने गरेको छ । स्थानीयले लामो समयदेखि दौलतपुर घाटमा पक्की पुलको माग गर्दै आएका छन् । उनीहरुले संघर्ष समिति समेत गठन गरेका थिए । समितिका सदस्य भरत साउँदले पुलका लागि धेरै निकायमा धाए पनि सम्बोधन हुन नसकेको बताए । यो खबर आजको अन्नपूर्णपोस्टमा प्रकाशित छ ।

चर्चामा

सम्बन्धित समाचार