बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • हाम्रा नेताहरु नेतृत्वमा गर्छन तर नेर्तित्व भित्र कुन ठाउँ निर चुक्छन अनी झुक्छन ??

हाम्रा नेताहरु नेतृत्वमा गर्छन तर नेर्तित्व भित्र कुन ठाउँ निर चुक्छन अनी झुक्छन ??

  • शनिबार, बैशाख २४, २०७९
हाम्रा नेताहरु नेतृत्वमा गर्छन तर नेर्तित्व भित्र कुन ठाउँ निर चुक्छन अनी झुक्छन ??

नेतृत्वको विषयमा चर्चा गर्दा नेता र नेतृत्वमा के फरक छ, नेतृत्व भनेको के हो, नेतृत्व केका लागि भन्ने जस्ता प्रश्न आउँछन् । झट्ट सुन्दा हामी नेतृत्व भनेर राजनीतिक नेतालाई मात्रै बुझ्छौं । हाम्रो चिन्तन र सोचाइ राजनीतिक नेतृत्वकै वरिपरि घुमिरहेको पाउँछौं । राजनीतिक नेताहरूले नीति बनाउने भएकाले उनीहरूको ठूलो महत्व छ । त्यो नीतिले बहुसंख्यक जनतालाई प्रभाव पार्छ ।

तर, त्यसोभए राजनीतिक नेतृत्व मात्रै नेतृत्व हो त ? पक्कै होइन । यो सापेक्ष विषय हो । कुनै घरमा बाबुले, कुनैमा घरमा आमाले, कसैले घरको ज्येष्ठ सदस्य वा कुनै घरमा सामूहिक निर्णय लिने चलन पनि हुन्छ ।नेताको विम्वका रुपमा वीपी कोइराला, पुष्पलाल, मदन भण्डारी, गिरिजाप्रसाद कोइराला, प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल, बाबुराम भट्टराई आदिको नाम अगाडि आउँछ । तर, कुनै पनि नामले हामीलाई रोमाञ्चित बनाउन भने सक्दैन । कुनै समयमा बनायो होला । तर, सधैं बनाइरहन सक्दो रहेन छ । सबल र सक्षम भनिएको नेतृत्व पनि हेर्दा–हेर्दै धरासयी हुँदो रहेछ । यसबाट नेतृत्व भन्ने कुरा पनि सधैं रहिरहने होइन भन्ने थाहा पाउन सकिन्छ ।

एडमण्ड हिलारीले एउटा अन्तर्वार्तामा शिखरको सबैभन्दा माथिल्लो उचाइमा पुग्नुको अर्को स्टेप भनेकै तल झर्नु हो भनेका थिए । नेतृत्वको विषयमा चर्चा गर्दा पनि यो कुरा लागु हुन्छ ।

त्यसैले नेतृत्व के हो भन्ने विषयमा आफैंमा त्यति सरल छैन । विश्वविद्यालयहरूमा पनि नेतृत्वको विषयमा पढाइन्छ । तर, नेतृत्व र नेताका बारेमा बुझ्न निकै कठिन भइरहेको छ

एरिस्टोटल भन्छन्, हामी सामाजिक प्राणी हौं । सामाजिक हुनुको अर्थ समाजमा बस्छौं । समाजमा बसिसकेपछि त्यहाँ सामाजिक मुद्दा, विषयहरू हुन्छन् । त्यस विषयमा निर्णय कसले लिन्छ ? त्यो निर्णय लिने व्यक्ति वा संस्था नै नेतृत्व हो ।

नेतृत्वप्रतिको अपेक्षा

हामी नेतृत्व असफल भयो, असफल भयो भनिरहेका छौं । असफल भयो भन्दा हामीले नेतृत्वबाट केही कामना गरिरहेका हुन्छौं । समाज र नेतृत्वबीच बडो महत्वपूर्ण सम्बन्ध हुन्छ । समाज जस्तो छ, त्यस्तै किसिमको नेतृत्व हामीले पाउने हो । विश्वमा नाम चलेको जस्तो नेता यहाँ खोई भनेर मात्रै हुँदैन ।

भाषण गर्ने बेलामा नेपालमा यत्रो सम्भावना छ, तर नेतृत्वले देखिरहेको छैन भन्छौं । अथवा नेपालमा यति समस्या छन् तर नेतृत्वले सुल्झाउन सकिरहेको छैन भनिन्छ । यस्तो भन्ने मानिसले के कल्पना गरिरहेको हुन्छ भने एउटा यस्तो बलशाली व्यक्तित्व आओस् र तपाईको समस्या समाधान गरिदेओस् ।

कताकता नेतृत्वलाई हामीले दैवीगुणबाट सम्पन्न व्यक्तिका रुपमा, अरुले गर्न नसक्ने काम गर्न सक्ने विलक्षण बुद्धि र बल भएको चमत्कारिक व्यक्तिको कल्पना गरिरहेका हुन्छौं । त्यसैले होला, नेतृत्वको महत्वपूर्ण पक्षमा कुनै न कुनै कुरा गर्ने गराउने आधिकारिकता हुन्छ ।

कहाँबाट आउँछ क्षमता ?

नेतृत्वले तीन तरिकाबाट आधिकारिकता पाउँछ । एउटा हो दैवीशक्ति । जस्तो– भगवान श्रीकृष्ण । बुद्धमा नेतृत्व ज्ञान र बुद्धिले गर्दा आयो । किनभने सबैले बुद्धत्व प्राप्त गर्न सक्दैनन् । कुनैबेलामा राजा महाराजा, शंकराचार्यहरूलाई ईश्वरको अवतार लिएर आएको भनेर नेतृत्वको रुपमा लिइन्थ्यो । त्यस्तै पोप पनि दैवी नेतृत्वमै पर्छन् ।

अर्को हुन्छ करिश्मा । मान्छे हेर्दा नराम्रो, लुरे, दुर्बल हुनसक्छ । तर, उसले धेरैलाई तरंगित बनाएको हुन्छ । जस्तो– गान्धी । जसलाई चर्चिलले हाफ न्याकेट फकिर भनेका थिए । उनले आफ्नो काम र विचारबाट सबैलाई तरंगित पारे । गान्धी यति सर्वस्वीकृत भएछन् कि उनको फोटो पनि चाहिँदैन । एउटा रेखाले गान्धीको नेतृत्वलाई चित्रित गर्न सकिन्छ । एउटा गोलो चश्मा र लौरो ठड्याइदिनुस्, त्यो गान्धी भइहाल्छ । नेतृत्वको करिश्मा भनेको त्यो हो ।
भारतकै सन्दर्भमा भन्नुपर्दा नेहरूको पनि अचम्मको करिश्मा थियो । उनी पढे लेखेका थिए, धेरै वर्ष जले बसे । उनले आफ्नो समयमा पनि धेरै मान्छेलाई प्रभावित गर्न सके । उनको नामै काफी छ ।

बीपी कोइरालामा करिश्मा थियो भनिन्छ । शान्ति सम्झौता हुनुभन्दा अगाडिको प्रचण्डमा शायद त्यो करिश्मा थियो कि ? मैले भने प्रचण्डसँग संगत गर्ने, देख्ने, भेट्ने मौका पाएको छैन ।

त्यसैगरी शुरुका दिनमा गिरिजाप्रसाद कोइरालालाई कसैले पत्याउँदैन थिए । तर शान्ति सम्झौतापछि उनी ‘टावरिङ फिगर’को करिश्मा लिएर आए ।

रामदेवले पनि संसारलाई घुमाइरहेका छन् । सास यसरी फेर, खुट्टा यसरी घुमाउ भनेपछि मान्नेहरू थुप्रै छन् । एक किसिमको करिश्मा उनमा पनि छ ।

करिश्मा मेहनत र परिश्रमबाट बनेको पनि हुन सक्छ । जस्तो–शाहरुख खान । कला र सामाजिक क्षेत्रमा उनको नेतृत्व छ ।

तेस्रो हो– कानूनी वैधानिकता । जस्तो– भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंह । उनी प्रक्रियाबाट आए, कानूनी स्रोतबाट नेतृत्व शक्ति प्राप्त गरे । जस्तो पत्रिकाको सम्पादक । जोसुकै आओस् वैधानिक बाटोबाट सम्पादक बनेको छ भने तपाईहरूले स्वीकार्नुपर्छ । त्यस्तै प्रहरी महानिरीक्षकलाई संगठनका सबैले सलाम गर्नुपर्छ । उसको नेतृत्वको स्रोत पनि कानूनी वैधानिकता नै हो ।

नेतृत्वको नैतिकता र चुनौति

लोकतन्त्रमा नेतृत्वको चुनौति पनि छ । हामी वैधानिक तरिकाबाट समानताका कुरा गरिरहेका छौं । सबै मान्छे समान छौं, अवसरले नेतृत्वले स्थापित गर्छ भनिन्छ । तर, हाम्रो कामना के छ भने म पनि त्यो दैवी स्रोत लिएर आएको भए हुन्थ्यो । म पनि रामदेवजस्तो दुनियाँलाई घुमाउन सक्ने भएको भए हुन्थ्यो भन्ने कामना गरिरहेका छौं ।

समानताको सिद्धान्तअनुसार हामी सबै बराबर छौं । मौका पाउने हो भने तपाई हामी सबै नेता बन्न सक्छौं । तर, नेता बनिसकेपछि के बिर्सन्छौं भने हामी नियम कानूनअनुसार गर्नुपर्ने काम गर्नका निमित्त आएको हुँ । म निमित्त हुँ भन्ने नै बिर्सन्छौं । समस्या यहीँनिर छ !
नेतृत्वमा सबैभन्दा ठूलो सैद्धान्तिक समस्या कहाँनेर छ भने मान्छे, मान्छे हुन्छ गुणका कारण । तर, आज मान्छे, मान्छे छ समानताका कारण । यो समानताको जमाना हो । हरेकले केही केही काम गर्न पाउनुपर्छ र परिस्थिति सिर्जना भयो भने काम गर्न सक्छ भन्ने मान्यता छ ।

उदाहरणका लागि कानूनीरुपमा संसदका सबै सदस्य प्रधानमन्त्रीका लागि योग्य हुन्छन् । प्रत्येक सांसद प्रधानमन्त्री पदको उम्मेदवार बन्न पाउँछन् । त्यही भएर त संसदीय प्रणालीमा ‘प्राइम–मिनस्टर इज फस्ट अमङ्ग द इक्वेल’ भनिन्छ ।

भूकम्प आउँदा सबै आ–आफ्नो ज्यान जोगाउन भाग्छौं । यो स्वाभाविक कुरा हो । जब हामी नेतृत्वको चर्चा गर्छौं, त्यसरी आफ्नो ज्यान जोगाउन भाग्ने कि अरुको ज्यान जोगाउन लाग्ने ?

पश्चिमा देशहरूमा आफू जोगिन सकियो भयो अरुलाई जोगाउन सकिन्छ भन्ने मान्यता राखिन्छ । तर, हामीले यस्तो परिस्थितिमा के सुनेका छौं भने त्यो कस्तो बहादुर, कस्तो नेतृत्व गर्‍याे त्यसले आफ्नो ज्यान जोखिममा राखेर अरुलाई जोगायो ।

आफ्नो ज्यान जोगाउन भाग्ने नेतृत्व हो कि आफ्नो ज्यान जोखिममा राखेर अरुको ज्यान जोगाउन लाग्ने नेतृत्व हो ? यो नेतृत्वको विषयमा चर्चा गर्दा छुटाउनै नहुने नैतिकताको प्रश्न हो । जब नैतिकताको प्रश्न आउँछ, त्यो नेतृत्वसँगै जोडिएको हुन्छ ।

हाम्रो सन्दर्भमा हेर्दा दैवी नेतृत्व र क्यारिस्म्याटिक नेतृत्वको चाहना बढी देखिन्छ । नेतृत्वका विभिन्न तह हुन्छ । कसैले देशकै नेतृत्व गरिरहेको हुन्छ भने कसैको नेतृत्वमा एउटा विभाग वा सेक्सन हुन्छ ।

नेतृत्व तुलनात्मक र सापेक्ष हुन्छ । तर, हाम्रो कल्पना कस्तो छ भने नेतृत्व बलवान हुनुपर्छ, बुद्धिमान हुनुपर्छ, जवाफदेही हुनुपर्छ, पारदर्शी हुनुपर्छ ।

नेता र नेतृत्वलाई अलग अलग बनाएर हेर्नुपर्दछ । नेता व्यक्ति हो भने नेतृत्व सामूहिक हुन्छ ।

अर्को एउटा उदाहरण हेरौं ।

सडकमा हिँड्दा फोहोर देखियो । एकथरी मान्छे त्यसलाई टपक्क टिपेर डस्टबिनमा फाल्न जान्छन् । हरेकपटक फोहोर भेट्यो कि सफा गर्न आफैं अघि सरिहाल्छन् । अर्कोथरीको स्वाभाव कस्तो हुन्छ भने टोल छिमेकका मान्छे जम्मा गरेर यहाँ फोहर भएछ, अब फोहर नगरौं भन्छन् । अर्थात नेतृत्वको शुरुवात यसरी हुन्छ । नागरिक चेतना छ कि छैन भन्ने कुरामा नेतृत्वको महत्वपूर्ण भूमिका हुन्छ ।

नेतृत्वले बिर्सेको समाज

हिजो दशैंका बेला बाटो सफा गरिन्थ्यो । अहिले फोहोर भयो भने नगरपालिका वा गाउँपालिकालाई भन्छौं । अर्थात राज्य गुर्हाछौं । राज्यको प्रतिनिधि को हो भने नेता हो ।

विकास राज्यले गर्ने हो भन्ने धारणाका कारण हामी परामुखी भइरहेका छौं । यो कसले गर्ने त भन्दा वडाध्यक्षले गर्ने वा वडासदस्यले गर्ने भन्छौं । मैले त्यसलाई भोट किन दिएको भन्दा मेरो काम गर्नका लागि दिएको भन्ने बित्तिकै नागरिकले आफूमा भएको नेतृत्व नेतालाई हस्तान्तरण गर्‍याैं । र, आफू निकम्मा हुने स्थितिमा पुग्यौं ।

राज्य हावी हुनेबित्तिकै हाम्रो अपेक्षा राज्यतिर गयो । राज्यको प्रतिनिधित्व गरेको नेताले काम गरेन । अर्कोतिर सामाजिक नेतृत्व कमजोर हुँदै गयो । म काठमाडौंमा पढ्न बस्दा सुन्धारामा लुगा धुन जान्थ्यौं । आजको पुस्ताले त्यो सुन्धारा सफा थियो भन्ने कल्पनासम्म गर्न सक्दैन ।

राजनीतिक संक्रमणसँगै समाज पनि परिवर्तन हुँदै गयो । समाज परिवर्तन भएपछि सामाजिक धरातल पनि परिवर्तन भयो । परिवर्तन हुनेबित्तिकै समाजको नेतृत्वमा संकट देखिन थाल्यो ।

राजनीतिकरुपमा नेतृत्व बडो क्रान्तिकारी देखियो । समावेशिता भन्यो, समानुपातिकता भन्यो, संविधान पनि बनायो । तर, कार्यान्वयनमा समस्या देखियो ।

यत्रो युगान्तकारी परिवर्तन गरेर आएको राजनीतिक नेतृत्व सामाजिक परिवर्तनलाई बुझ्न सकेको छैन । त्यही भएर राजनीतिक नेतृत्व सामाजिक विषयमा कन्जरभेटिभ छ । सामाजिक परिवर्तनलाई राजनीतिक नेतृत्वले आत्मसात गर्न सकेको छैन ।

मेरो गाउँमा म मात्रै बस्छु भन्ने मानसिकता छ । जबकि उसको गाउँमा धेरै मान्छे आएर बस्न थालिसक्यो । संसार परिवर्तन भइसक्यो । आफ्नै छोरीहरू पढालेखा भइसके । तर, त्यही एउटा निर्मला पन्तको मुद्दा सल्टाउन सकेको छैन ।

नागरिकताका बारेमा त्यत्रो हंगामा गर्‍याे । नागरिकताको मामिलामा लिडरसीप सबैभन्दा बढी रिग्रेसिभ भएर आयो । सामाजिक परिवर्तनलाई आत्मसात् गर्न नसकेर सोसल्ली कञ्जरभेटिभ भएको हुनाले राजनीतिक नेतृत्वमाथि सबैभन्दा ठूलो प्रश्न चिह्न खडा भएको छ ।

नचाहेको पनि हो नसकेको पनि हो । जस्तो संघीयताको विषयमा । त्यसलाई एक पटक प्रयोग नै नगरिकन, एउटा निर्वाचन चक्र पूरा नभइकन शिक्षा, स्वास्थ्यको अधिकार फर्काउँदैछ नि त । एक त नेतृत्व लोभी भएछ । तल दियो भने मैले निर्णय गर्ने के हो भन्ने सोच भएछ । अर्को बेइमान पनि देखियो ।

शुरुमा त उसले नेपाली समाजलाई अनुकुल ठानेर प्रयोग गर्‍याे । त्यो पनि आफैंमा बेइमानी थियो । उसले भनेजस्तो एजेण्डाका लागि समाज तयार भएको थिएन भने उसले तयार पार्नुपथ्र्यो ।

त्यसकारण मलाई राजनीतिक नेतृत्व वा सामाजिक नेतृत्व बडो जाली रहेछ भन्ने लाग्न थालेको छ । किनभने यसले भनेको कुराहरू नगरिकन हात झिक्ने काम गरिरहेको छ । नेतृत्व हो भने त उसले समाजको स्पन्दन त सुन्नुपर्‍याे नि । सत्ताको कारणले गर्दा सुन्न नसक्ने बहिरो त हुनुभएन नि ।

अर्को कुरा, नेतृत्वले प्रतिक्रियात्मक रुपमा यो काम गरे भन्ने सुनेको छैन । माग पनि पूरा गर्न सकेको छैन । जब कि हिजो उसकै कारणले माग सिर्जना भयो । नेतृत्वको सबैभन्दा ठूलो क्षमता नै अरुको कुरा सुन्ने हो । सुन्दै नसुन्नै नेतृत्व बेइमान हो ।

 नेतृत्व फेरिएको नेतृत्व

पहिला–पहिला फर्म भर्ने बेलामा नेताहरुले सामाजिक सेवा लेख्थे । अहिले राजनीति गर्नेहरूले पेशाको महलमा व्यावसाय लेख्छन् ।

राजनीति गर्नेहरूको सबैभन्दा ठूलो समस्या के हो भने उनीहरू लगानीकर्तामा परिणत भए । नेताहरू नै अस्पताल, विद्यालय चलाइरहेका छन् ।
चलाउन पाइँदैन भन्ने होइन, तर सार्वजनिक नीति आफ्नो अनुकुल बनाउनुभएन । उनीहरू आफ्नो स्वार्थबाट मुक्त छैनन् । संसदको नीति निर्माण आफ्नो व्यवसाय हेरेर बनाउनु भएन । सार्वजनिक हितमा काम गर्छु भन्ने हो भने यो विषयमा मेरो स्वार्थ बाझिन्छ, त्यसैले म यो काम गर्दिनँ भन्न सक्नुपर्छ ।

नेता धनी हुनु, ठूलो घर बनाउनु समस्या होइन । हिजो चप्पल लगाएको नेता गाडीमा हिँड्यो भनेर रोइलो गर्न पनि आवश्यक देख्दिनँ । तर, उसको आयआर्जनको स्रोत पारदर्शी हुनुपर्छ । भारतमा नेहरुलाई त कसैलाई प्रश्न उठाउन सकेन नि ।

धनी र गर्न सक्ने मान्छे नै आउने हो राजनीतिमा । गरेर खानुपर्ने मान्छेहरू त साँझ बिहानका लागि, खानाकै जोहो गर्न लागिरहेका हुन्छन् । त्यो वर्गलाई त कम्युनिष्टहरूले रोमान्टिज्म मात्रै गरेका हुन् । परेका बेलामा उनीहरू कोदालो फ्याँक्न भने सक्छन् ।

जस्तोे ट्रेड युनियन तिरको साइड बाट हेर्दा – मजदुरले फ्याक्ट्री बन्द गर्छन् । तर, खोल्नका लागि । सँधै बन्द होस् भन्ने उनीहरू पनि चाहँदैनन् । यस्तो संघर्षलाई जसरी रोमान्टिसाइज्ड गरिन्छ, त्यति सजिलो हुँदैन । संघर्ष गर्नका लागि समय, साधन स्रोत पनि चाहिन्छ ।

दुनियाँले ट्याक्स तिर्ने, नेताले नतिर्ने हुनुभएन । राजनीति गर्नेहरूलाई विशिष्ट श्रेणीको जस्तो व्यवहार गरिन्छ । नियम, कानून र व्यवहार समान हुनुपर्‍याे । पदमा होस् कि नहोस्, कुनै पनि नेता लाइनमा बसेको देख्नुभएको छ ?

मेरो भनाइ के हो भने समानताको जमानामा लिडरसीपको महत्व नै फरक हुन्छ । त्यसको ‘वेटेज’ नै फरक गर्नुपर्छ । हामी हिजोको असमानताको जमानाको कुरा गरिरहेका छौं ।

नेपालमा मात्रै राजनीतिमा आकर्षण देखिएको हो । संसारभरि राजनीतिप्रति विकर्षण छ । किनभने, राजनीति गर्नु भनेको निक्कै ठूलो त्याग गर्नु हो । राजनीति रोज्नु भनेको व्यक्तिगत हितको सट्टा सार्वजनिक लाभका लागि काम गर्नु हो । त्यसैले त यसलाई ‘डिक्लियरेसन अफ कन्फिल्क्ट अफ इन्ट्रेस्ट’ पनि भनिन्छ । अमेरिकामा अहिले यो विवाद छ । डोनाल्ड ट्रम्पले मानिरहेका छैनन् । उनी व्यापार पनि गर्छन् । इथिक्स कमिटीले ट्रम्पलाई दबाव दिइरहेको छ ।

सदावहार नेतृत्वमा

राजनीतिमा जाने मान्छेले म व्यक्तिगत लाभ लिने छैन भन्न नसक्दा नै जनताले जुन जोगी आए पनि कानै चिरेको भन्ने अवस्था आएको हो । ४ वर्ष, ५ वर्षमा निर्वाचन हुनुको अर्थ एउटा व्यक्ति निश्चित अवधिका लागि मात्रै पदमा जानुपर्छ भनेर हो । तर, हामीकहाँ बीसौं वर्षसम्म पनि त्यही व्यक्तिले पद ओगटिरहेको हुन्छ ।

यस्तै कारणले हाम्रो सार्वजनिक नीति फितलो भएको हो । जस्तो यातायात क्षेत्रको सिण्डिकेटको अन्त्य सार्वजनिक हितमा छ । तर, नेतृत्वले व्यक्तिगत लाभ हेर्दा घोषणा भइसकेको सिण्डिकेट पनि अन्त्य हुन सकेन । समाजवाद उन्मुख नीति लिएको भनिए पनि शिक्षा क्षेत्रमा लागु हुन सक्दैन रे । किनकि त्यहाँ पनि व्यक्तिगत हितकै कुरा छ ।

मैले अघि राजनीति गर्नेहरू लगानीकर्ता भए भनेको थिएँ । राजनीतिमा पनि उनीहरूकै सन्तान नयाँ लगानीकर्ताका रुपमा आएका छन् । पैसा भएपछि राजनीतिमा स्थापित हुन गाह्रो छैन । पार्टी कब्जाको मनस्थितिबाट राजनीति अगाडि बढेकाले पुस्तान्तरणको कुरा मैले यहाँ देखेको छैन ।

गएको २० वर्षमा राजनीतिमा प्रयोग भएका शब्द लोकतान्त्रिक छैनन् । कब्जा, घेराबन्दीको कुरा आएका छन् । लोकतन्त्रमा पनि ‘कब्जा’ भन्ने हुन्छ र ?

पार्टीभित्र शत्रुगत व्यवहार छ । एकअर्काबीच बेलाचाल छैन । विकृत सम्बन्ध जोडिएको छ । सकारात्मक सम्बन्ध जोडिएका छैनन् ।
# समाजसँग नजोडिएको नेतृत्व

समाजलाई राजनीतिले डोर्‍याउनुपर्ने हो । तर, समाज आफ्नो किसिमले र राजनीति आफ्नो किसिमले हिँडिरहेको छ । बसाइँ सराइको यत्रो समस्या छ । त्यसले समाजमा पारिरहेको असर बारे नेतृत्व मौन छ । वैदेशिक रोजगारीमा जानेहरूले पठाइएको आइफोन, ट्याब बोक्ने । तर, उनीहरूको परिवारमा आएको विचलनको विषयमा नबोल्नु विडम्बना होइन र ?

राजनीतिक पार्टीहरू पनि त्यही वैदेशिक रोजगारीमा जानेहरूको कमाइबाट चलेका छन् । परिवार टुटेको छ, केटाकेटीहरू ड्रग्समा फसेका छन्, विद्यालय राम्रोसँग पढ्न पाएका छैनन् । यसका बारेमा बोलेको खै ? समाज त्यहाँ छ, नेतृत्व चुनाव मात्रै जित्ने ध्याउन्नमा छ ।

समाजमा सकारात्मक परिवर्तन पनि नभएको होइन । तर, नेतृत्वले त्यसतर्फ ध्यान नदिँदा त्यो परिवर्तनले विकृत रुप धारण गरेको छ । व्यक्तिगत केहीलाई नोकरी लगाउने कुरा गर्छन् । तर, सामूहिक रुपमा युवालाई नोकरी दिने कुरै गर्दैनन् । गाउँको एक/दुई जनालाई नोकरी दिने काम नेतृत्वको होइन । उसले सबैलाई नोकरी दिने नीतिमा बनाउने हो । देशभरिकै बेरोजगारी समस्याको विषयमा बोल्नुपर्‍याे । घोषणापत्रमा त सबैलाई रोजगारीको व्यवस्था हुन्छ भनेर लेखेकै छ । रोजगारी नीतिमा छलफल भएको खै ?

गल्फका युवाहरू कुनै कारणले फर्कनुपर्ने अवस्था आयो भने ठूलो समस्या हुन सक्छ । केही सीप त लिएर आउलान्, त्योभन्दा बढी त नैराश्यता नै ल्याउँछन् । यो विषयलाई सबैले बेवास्ता गरेका छन् । राजनीति मात्रै होइन, सामाजिक नेतृत्वले पनि यो विषयमा बोलेको छैन । गैरसरकारी संस्थाहरूको पनि यता ध्यान गएको छैन । समाज आहत भयो, कुण्ठाग्रस्त भयो, पीडामा पर्‍याे भने यो नेतृत्व सप्रेर बस्छ ? बस्दैबस्दैन ।

यी मुद्दालाई सामाजिक आन्दोलनले राजनीतिसँग जोड्नुपर्दछ । त्यस्तो कुरा उठाउँदा गैससले राजनीति गर्‍याे भनिन्छ । कुनै दलमा नलागेर सामूहिक काम गरिसकेपछि त गैसस भइहाल्यो नि । जस्तै– बेरोजगारीको विषयमा कुरा उठायो भने त्यो राजनीति हुन्छ ।

सामाजिक आन्दोलन कमजोर भएर गएका छन् । जब कि यस्तो बेलामा सामाजिक आन्दोलनको ठूलो आवश्यकता देखिन्छ । सामुदायिक प्रयत्नहरूको खाँचो छ । स्थानीय समूह, समुदायलाई पनि दशैंका बेला एउटा खसी, दुईवटा भाले बल दिएर हुन्छ कि चारजनालाई विदेश पठाएर हुन्छ, उनीहरूलाई किनिसकेको अवस्था छ ।

क्लब, जातजाति, समुदाय, महिला जस्ता सामाजिक समूहहरू एक प्रकारले लेफ्ट ओरियन्टेड धेरै छन् । अहिले बाम सरकार छ । सरकारलाई के लागेको छ भने ती सामाजिक मुद्दा हामीले समाधान गर्ने हो, सामाजिक दायित्वले होइन भन्ने लागेको छ ।

राज्यको आफ्नै चुनौति हुन्छ । राज्य जति माथि जान्छ, त्यति अन्धो हुँदै जान्छ । अहिलेको सरकार भ्रष्ट किन भन्नुपर्छ भने उसँग निरपेक्ष पावर छ । सरकारको मात्रै कुरा होइन, सामाजिक समूहहरूको नेतृत्वमा पनि रुखोपन आएको छ । हामी त निर्वाचित भएर आएका हौं । त्यसैले हाम्रो कुरा सुन भन्छन् ।

एउटा अनौठो समाचार आएको छ । विदेश गएर नेपालका बारेमा आलोचनात्मक कुरा गर्नेको राहदानी रोक्नुपर्छ भनेर माधव नेपालले बोलेको भन्ने समाचार आएको छ । युएनसीएचआरलाई हटाउन जेनेभा र अरुण तेस्रोको विषयमा विश्व बैंकलाई पत्र लेख्ने उहाँ नै होइन र ? १२ बुँदे भारतमै भएको होइन र ? माओवादीलाई भारतमा पुगेर भेटें भनेर वामदेव गौतमले सगर्व भन्दै आएका छन् ।
युवा नेतृत्वबाट पनि आश गर्न सकिने आधार देखिएको छैन । टाठाबाठा, जान्ने सुन्ने छन् । तर, उनीहरू पनि एउटा न एउटा पुराना नेताको फेरो समातेर हिँडेका छन् । दाइको अनुकम्पबाट माथि उठ्न सकेका छैनन् । नेतृत्व हस्तान्तरणका लागि त तलबाटै दवाब सिर्जना गरेर आउनुपर्ने हो । नेतृत्व वैधानिक प्रक्रियाबाट आउनुपर्छ । अहिले दासा मानसिकता हाबी छ । भित्रैबाट झिल्को जगाउने खालको छैन । सेल्फ करेक्टिङ अर्गनाइजेसन नै अगाडि बढ्न सक्छ । चेतना भया

चर्चामा

सम्बन्धित समाचार