बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरा, बझाङ र दार्चुलामा बृहत्तर भेडा–बाखापालन कार्यक्रम सञ्चालन गरिने

बाजुरा, बझाङ र दार्चुलामा बृहत्तर भेडा–बाखापालन कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम

  • मङ्लबार, जेष्ठ १९, २०८३
सेयर गर्नुहोस् :
बाजुरा, बझाङ र दार्चुलामा बृहत्तर भेडा–बाखापालन कार्यक्रम सञ्चालन गरिने

बाजुरा–सुदूरपश्चिम प्रदेश सरकारले बाजुरा, बझाङ र दार्चुलामा बृहत्तर भेडा–बाखापालन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । सोरमबार प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममार्फत उक्त कार्यक्रम सञ्चालन गरिने जनाएको हो ।

प्रदेश सरकारले निजी क्षेत्रसँगको सहकार्यमा उच्च पहाडी जिल्ला बाजुरा, बझाङ र दार्चुलामा बृहत्तर भेडा–बाखापालन कार्यक्रम सञ्चालन गरिने जनाएको छ । त्यसका लागि निजी क्षेत्र, कृषि विकास बैंक समेतको सहकार्यमा बाजुरा जिल्लाको उत्तरपूर्वी क्षेत्रमा नमूना परीक्षण परियोजना लागू गरिने उल्लेख गरेको छ । यस्तै भेडा–बाखामा आधारित उद्योग तथा उद्यमशीलताको विकास र प्रवद्र्धन गर्दै औद्योगिक मूल्य शृंखलामा आबद्ध गरी ऊन प्रशोधन तथा गलैँचा उद्योग प्रवद्र्धन कार्यलाई प्राथमिकता दिइने आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा समेटेको हो ।

यसअघि २०८२ चैत्र २१ गते प्रदेश सरकारले सम्भाव्यता अध्ययनका लागि बाजुरामै पुगे पहिलो चरणमा जिल्लाको पूर्वी उत्तरी भेगका चार वटा स्थानीय तहमा बृहत्तर भेडा बाख्रा पालन कार्यक्रम सञ्चालन गर्ने जनाकारी दिएको थियो ।

तीन जिल्लाका उच्च पहाडी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर बाजुराको बुढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिकामा उक्त कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । बाजुरा जिल्लामा भेडा बाख्रा पालन क्षेत्रको स्थलगत सम्भाव्यता अध्ययन तथा अनुगमनका लागि प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विरबहादुर थापा, पूर्व अर्थमन्त्री नरेश शाही, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, प्रदेश सचिव शंकर शाह लगायतको टोली बाजुरा पुगेको थियो ।

यस्तै प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा स्थानीय तहसँगको सहकार्यमा छाडा पशु व्यवस्थापन गर्ने सामुदायिक गौशालाहरूको संरक्षण गरी बहुउद्देश्यीय व्यावसायिक उत्पादन केन्द्रका रूपमा विकास गरिने घोषणा गरेको छ । गौशालामा आहार व्यवस्थापन, गोमूत्र, गोबर मल, जैविक मल तथा पशुजन्य उत्पादनहरूलाई प्रवद्र्धन गरिनेछ र सार्वजनिक–निजी साझेदारी मोडेलमार्फत संस्थागत सुदृढीकरण तथा आर्थिक दिगोपन सुनिश्चित गरिने नीति प्रदेश सरकारले लिएको हो ।

याे पनि पढ्नुहाेस् । 

सुदूरपश्चिम सरकारले बाजुरामा बृहत्तर भेडा बाख्रा पालन कार्यक्रम गर्ने

चर्चामा

सम्बन्धित समाचार