
सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नम्बर ३ मा पर्ने साइपाल हिमालको पुर्वी बेसक्याम्प रानीसैन (रानीखर्क)को पर्यटकीय क्षेत्र विकास, देश तथा विदेशलाई चिनाउने र पर्यटन प्रवद्र्धनका आधारभूत कार्य निर्माण गर्न असल उद्देश्यले हिमाली गाउँपालिकाले गाउँ कार्यपालिकाको निर्णय बमोजिम रानीसैन बहस कार्यक्रम तय गर्यो ।
सोही अनुसार बाजुरा र हुम्ला जिल्लामा रहेका राजनितीज्ञ, जनप्रतिनिधी, प्रशासन र सुरक्षा निकायलाई पत्राचार गरी आमन्त्रण गर्यो । यसै शिलसिलामा जिल्ला समन्वय समिति बाजुराको प्रमुखको हैसियतले एक जना कर्मचारी लिएर जेठ ३ गते मार्तडीबाट विहान हिँडे, र बाटोमा खाजा खाँदै ९ बजे हिमाली गाउँपालिकाको कार्यालयमा पुगे । “हाम्रो सुदूरपश्चिम प्रदेश हामी चिनाउँछौं”अभियानको नारा बोकेर हिडेका धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमालको ३२ जनाको टीम र केही भरिया सहित ३८ जनासंग धुलाचौरमा भेट भयो ।
उक्त टिमलाई हिमाली गाउँपालिका परिवारले स्वागत गरे । धनगढी उप महानगरपालिकाका नगर प्रमुख हमालले पनि चिनो दिनुभयो । फेरी धुलाचौरबाट ३ घण्टाको गाडीको बाटो तय गरि अन्तिम गाडी पुग्ने ठाउँ मैतर्नामा पुगियो ।
सोही ठाउँमा दिउँसोको खाना भयो । केही बेरपछि हिमाली गाउँपालिकाका वडा नम्बर ३ ले वडाको युना गाउँमा पुग्दा त्यहाँका स्थानीयले अविर र फुलमालाले स्वागत गरे । त्यहाँबाट वडा कार्यालय भएको गाउँ बौडीमा बेलुका ६ बजे पुगियो । सबै टिमलाई वडा कार्यालयको तर्फबाट स्वागत गरे । बेलुका बाजुराको टिम स्थानीयको घर घरमा बस्ने व्यवस्था भयो । धनगढीको टिमलाई नेतीखोला नजिकै विद्यालय र स्थानीय होटलमा खाना बस्नको व्यवस्था भयो ।
४ गते विहान सबै रानीसैन जाने गरी बाटो लागियो । दिउँसो छिटो पुग्ने टोली २ बजे गुम्बा पुगेर खाना भयो । केही मानिस अलि ढिलो पुगे । सबैको खाना त्यही भयो । सोही बेलुका ५ बजे देखि ७ बजेसम्म किप्याड (साधारण) मोवाईल निश्चित ठाउँमा फोन लाग्दो रहेछ । सोही ठाउँ गएर हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले बाजुरा र हुम्लाका माननीय, गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुखसंग फोन कुरा गर्दा सबै वातावरण ठीक छ । निश्चिन्त भइ जानुहोस्, भन्ने कुरा भयो । ३ गते ४ बजेतिर हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका थालीका करिव ६० जना हाल घटना भएको लाम्पाटा भन्ने ठाउँमा ३ नम्बर वडाका वडा सदस्य पेमा गारा गुरुङ्ग, उनको श्रीमतीलाई र उनका आफन्त भेडा हेर्ने मानिसलाई कुटपिट गरेको रहेछ ।
हामीले ४ गते बाटोेमा सुनेको माथिबाट तल झर्ने स्थानीय र केही सामान ढुवानी गर्ने खच्चरवालाले हामीलाई सुनाएका थिए । सोही विषयलाई सोधपुछ गर्दा माथि भनिएका व्यक्ति हुम्लाका माननीय, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीले कुनै प्रकारको अप्रिय घटना हुँदैन । सबै मानिस आ–आफ्नो घर (हुम्ला) फर्कि सकेको भनेका थिए ।
५ गते विहान चिया खाएर हामी रानीसैनको यात्रामा हिड्यौं । साढे ३ घण्टामा लाम्पाटा पुगियो ।
मैले जे देखे
१० बजेर २२ मिनेटमा पुग्दा प्रहरी चौकी स्थापना प्रयोजनका लागि खएिको जग भत्काइएको, ५० व्याग सिमेन्ट छताछुल्ल पारिएको, काठ यत्रतत्र मिल्काइएको र त्रिपाल च्यातिएको देखियो । सो ठाउँ उक्त वडा सदस्यको कित्ता नम्बर ११० को नम्बर दर्ता पाला जग्गा मध्ये ३०२० वर्गमिटरमा ७५० वर्गमिटर जग्गा रहेछ । २० जनाले काम गरी रहेका रहेछन् । नजिकै पेमा गाराको घर रहेछ । निजकै केही आफन्त जनजातीका पालमा छन्,र घरको पुर्वपट्टी एउटा अस्थायी पाल टाँसिएको थियो । त्यसैपालमा ६० जनाको भान्छा हुँदो रहेछ । निज पेमा गाराको पुरै घर ती ६० जनाले कब्जा गरेको देखियो । त्यतिखेर नै केही बाजुराको २५ जना महिला सहितको टोली पुगेका थियौ ।
हामीलाई भनेर एक ताउली भात पाक्यो, करकलोको तिउन बन्यो र हामीलाई खान आग्रह गर्यो । केही खाइ सकेको थियो । केही व्यक्ति खाँदै थिए । उसै बेला बाजुराको टिमले क्यामराको प्रयोग गरी भिडियो बनाउँदा उनीहरुले केही चलखेल गरे । पारीपट्टी च्याँचौरमा १०० भन्दा बढी व्यक्ति तलमाथि गरी रहेका थिए । दुबै ठाउँका मानिसहरुका हात हातमा लाठी,भाँटा झोलामा हँसियाजस्ता धारिला सामग्री देखिन्छ । कसैको मुखबाट राम्रो शब्द थिएन । गाली गलौज बेइजती र अपशब्द र मार्छौ जस्ता शब्द सुनिन्थ्यो । घर भएको व्यक्ति(पिडित) लाई तुरुन्त घर खाली ग भन्नेजस्ता अपशब्द सुनिन्थ्यो ।
त्यसै बेला धनगढीका मेयर ३०० मिटर टाढा ठाउँमा आराम गरी रहनु भएको थियो । भने हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्ल स्वास्थ्यका कारण घोडामा चढी प्रहरी चौकी बन्न लागेको लाम्पाटा ठाउँमा पुग्नासाथ पारीबाट १५/२० जनाको टिम लाठी सहित हामी भएको ठाउँमा आयो । एक्कासी हातपात गर्न थाल्यो । गुम्बाका स्थानीय नर गुरुङ्ग माथि कुटपिट सुरु भयो । यसक्रममा कतिले कतिलाई पिट्यो भिडियोमा प्रष्ट देखिन्छ । ५ मिनेटपछि हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापालाई आक्रमण भयो । मोवाईल थुत्यो । त्यति हुँदै गर्दा गाउँपालिका अध्यक्ष दौडिनु भयो । केही छिनपछि हामी जेन्जी भन्दै २०–२५ जना युवा गाली गर्दै अध्यक्ष समातेर ल्याउँछौ नमाने पिटेर आउँछौं, भन्दै दुगुरे । यति समयसम्म गोपाल हमाल र गोविन्द्र मल्लको भेट भइसकेको थियो । सायद उहाँहरु बीच वातावरण ठीक छैन ज्यान जोगाउन गाह्रो हुने कुरा हँुदै थियो । २०–२५ जना पुगेर अपहरण गर्न थालेछन् । त्यति नै बेला २ जना प्रहरीले बचाए । केही बेला हिडेपछि अरु मानिस थपिए र २०० मिटर तल आएर काठेपुल भत्काउने र हातपातको अवस्थामा पुगेछन् । सोही बेला हुम्लाबाट खटिएको प्रहरीले ती व्यक्तिबाट गोविन्द्र मल्लको केही टिमलाई बचायो । पछि हामी पनि आफ्नो कुनै परिचय नदिइ ज्यान जोगाएर आयौं ।
त्यो २०/२५ जना र १५ जना प्रहरीको टिम माथि पुगेर ३ गते र ५ गते मराणसन्न हुने गरी पिटिएका व्यक्तिलाई आफन्तको साथमा गुम्बातिर पठायो ।
प्रहरी नभएको भए ति विरामीलाई लतारेर हुम्ला लग्ने भन्दै थिए । उनको जीउ ज्यान के हुन्थ्यो ? कस्तो व्यवहार थियो ?
समझ्दार कुनै व्यक्ति थिएन । सबैको मुखबाट जग्गा हाम्रो हो । रानीसैन हुम्लाको हो । कसैले आउन मिल्दैन, खुट्टा काट्छौं । ज्यान रहन्न, हाम्रो बैंक हो, कमाउने स्थान हो, जस्ता शब्द तमाम सुन्न र नसकिने शब्दको प्रयोग थियो म त्यति भन्दा बढी व्याख्या वा उनका शब्द बोलेर मेरो मुख अपवित्र गर्दिन ।
सामान्य मानवता थिएन । नियम, कानुन, संविधान प्रदत्त अधिकार मानव अधिकारको कुनै वास्ता थिएन । अति अमानवीय थियो कि, के कसरी भनौं । महिला हिंसा व्यापक देखिन्थ्यो । घर कब्जा, दाल, चामल, नुन, तेल, कपडा, भाँडाकुँडा, सबै उनै (पिडित) को प्रयोग जे गरेनी हुने जे बोलेनी हुने ।
उनीहरु विशेष चाहना सबैलाई पिटेर कब्जा गरेर अब हाही आउँदैन, त्यो तिम्रो हो,जस्ता कागज गराउने, नमाने ज्यानको आशा नरहने गरी षडयन्त्र गरेकोजस्तो देखियो ।
हुम्लाका माननीय जयपति रोकाया र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष र हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लसंगको फोनवार्ताले तपाई कुनै चिन्ता नमानी जानु भन्ने शब्द जालले सिडियो हुम्लाले शान्ति सुरक्षाको पूर्ण व्यवस्था छ,भन्नुले प्रष्ट्याउँछ ।
अन्तमा रानीसैन(रानीखर्क) प्रकृतिको एक अनुपम उपहार हो । मानव वस्तीबाट सबै सजिलो र नजिक अति सरल यात्रा गर्न सकिने ३५७० मिटर उचाईमा रहेको अति मनोरमस्थल जहाँ हिम श्रृङ्खला,हिमताल,हिमनदी, रमणीय पाटन, दुर्लभ वन्यजन्तु र बहुमूल्य जडीबुटी,बहुउपयोगी जडीबुटीको अथाहा भण्डार भएको दृश्य र देवी देउताले विचरण गर्ने ऋषीहरुको तपस्थलीअनि सुक्ष्म चेतनाको बास रहेको भूस्वर्ग मानिन्छ ।
जहाँ मेरो यात्रा अधुरो रहेपनि जीवनमा एक पटक उक्त दिव्यस्थलको पर्यटक भइ जानैपर्ने पाठकहरु तथा सम्पूर्ण महानुभावहरुमा सादर अनुरोध ।


