बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • कक्षा ११ र १२ को परीक्षा चुनावपछि

कक्षा ११ र १२ को परीक्षा चुनावपछि

  • शनिबार, माघ २९, २०७८
कक्षा ११ र १२ को परीक्षा चुनावपछि

स्थानीय तहको निर्वाचनअघि नै कक्षा १-१० को शैक्षिकसत्र अन्त्य गरी परीक्षासमेत सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले तयारी थालेको छ । कोभिड संक्रमणका कारण शैक्षिकसत्रको सुरुमा र अहिले पनि पठनपाठन प्रभावित बनिरहेको छ । चुनावका कारण पठनपाठन अझ प्रभावित हुन सक्ने भएकाले बोर्डले त्यसअघि नै परीक्षा सकेर नयाँ शैक्षिकसत्रको तयारी गर्न लागेको हो ।

बोर्डले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुखहरूसँग परीक्षा सञ्चालनका विषयमा छलफल गरेको थियो । प्रमुखहरूले ७० प्रतिशत पाठ्यक्रम पूरा भएकाले फागुन र चैत महिनाभर कक्षा सञ्चालन हुन सके वैशाखमा परीक्षा गर्न सकिने राय दिएका थिए ।

‘पहिले चैतको पहिलो साता परीक्षा हुन्थ्यो, यसपालि पढाइमा असर पुगेर चैत महिनाभर पठनपाठन गराउने र वैशाखमा परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ,’ बोर्ड अध्यक्ष महाश्रम शर्माले भने, ‘चुनावअघि परीक्षा सकिन्छ ।’ ३० प्रतिशत मात्रै पाठ्यक्रम बाँकी रहेकाले दुई महिना कक्षा सञ्चालन हुन पाए परीक्षा लिन सकिने उनको भनाइ छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले एसईई सँगसँगै पालिकाहरूले पनि कक्षा १-९ को परीक्षा सञ्चालन गर्नुपर्ने आग्रह गरे । बोर्डले वैशाख ९ बाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्न बुधबार समय तालिका प्रकाशित गरिसकेको छ ।

‘अन्तिम चैतसम्म विद्यार्थीले पढ्न पाउँछन्, चुनावअघि नै परीक्षा सकेर निर्वाचनमा सहयोग गर्नुपर्छ,’ शर्माले भने, ‘विद्यालयहरू मतदान केन्द्रका रूपमा प्रयोग हुने भएकाले पनि त्यसअघि नै पढाइ र परीक्षा सक्नुपर्ने हुन्छ ।’ वैशाखमा नै भर्ना अभियानसमेत सञ्चालन गर्न सके जेठ १ गते नयाँ शैक्षिक सत्र सुरु गर्न सकिने मन्त्रालयको योजना छ ।

‘विद्यालयले चैत महिनाभर पढाइ सके भने पाठ्यक्रम पूरा हुन्छ भन्ने अनुमान छ,’ प्रवक्ता शर्माले भने, ‘चुनावले बालबालिकाको पठनपाठन बिथोलिन सक्छ, त्यसैले पहिले नै उनीहरूको सिकाइ उपलब्धि मापन गर्नुपर्छ ।’

शिक्षाविद्हरूले पनि फागुन र चैतभर निरन्तर कक्षा सञ्चालन गरेर चुनावअघि नै परीक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् । कोभिडको तेस्रो लहरका कारण बन्द विद्यालय फागुन १ देखि सञ्चालन गर्न सरकारले अनुमति दिइसकेको छ ।

जोखिम कम रहेका अधिकांश पालिकाले भने विद्यालय सञ्चालन गर्न थालिसकेका छन् । निर्वाचनमा शिक्षकसमेत परिचालन हुने सम्भावना रहेकाले पहिल्यै परीक्षा सञ्चालन गर्न लागिएको हो । कक्षा ११ र १२ को परीक्षा भने चुनावपछि जेठको अन्तिमसम्म सञ्चालन गर्न सकिने बोर्डले जनाएको छ ।

एसईई सञ्चालनका लागि बोर्डले आफ्नो तयारी बढाइसकेको एसईई परीक्षा नियन्त्रण अर्जुन रायमाझीले जानकारी दिए । ‘चुनावले परीक्षालाई र परीक्षाले चुनावलाई असर नगर्ने गरी समय तालिका मिलाएका छौं,’ उनले भने ।

एसईईमा करिब ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ । बोर्डले प्रश्नपत्र छपाइको काम सुरु गरिसकेको छ । यसअघिका दुई शैक्षिकसत्रमा एसईई सञ्चालन हुन नसक्दा आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रमाणीकरण गरिएको थियो । ‘कोभिड नभए शतप्रतिशत पूर्णाङ्कमा पहिले जस्तै परीक्षा सञ्चालन गर्न प्रश्नपत्र छपाइ गरिरहेका छौं,’ रायमाझीले भने, ‘परीक्षा केन्द्र तोक्ने छनोटको काम पनि भइरहेको छ ।’

कोभिड संक्रमण नबढे कक्षा १२ को परीक्षा पनि दुई वर्ष पहिले जस्तै निश्चित केन्द्र तोकेर सञ्चालन गर्ने बोर्डको तयारी छ । अघिल्ला दुई वर्ष संक्षिप्त परीक्षा होमसेन्टरमा नै लिइएको थियो ।

दुई वर्षदेखिको महामारीका बीच कक्षा ११ को परीक्षा सञ्चालन गर्ने अधिकार बोर्डले विद्यालयलाई नै दिएको छ । फागुन पहिलो सातादेखि त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालय र सीटीईभीटीलगायत शिक्षण संस्थाको स्थगित परीक्षा पनि सञ्चालन हुँदै छ । कान्तिपुर दैनिकबाट

चर्चामा

सम्बन्धित समाचार