बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • धनगढीका कोरोना संक्रमितसँगै आएका युवा श्रीमती र छोरीसहित अस्पताल पुगे

धनगढीका कोरोना संक्रमितसँगै आएका युवा श्रीमती र छोरीसहित अस्पताल पुगे

  • शनिबार, चैत्र १५, २०७६
धनगढीका कोरोना संक्रमितसँगै आएका युवा श्रीमती र छोरीसहित अस्पताल पुगे

कैलालीको धनगढीमा शुक्रबार कारोना भाइरस (कोभिड–१९)को चौथो संक्रमित व्यक्ति फेला परे। ३४ वर्षीय ती युवाको रिपोर्ट पोजेटिभ आएसँगै यसको चिन्ता मुलुकभर छरियो। अझ बढी पीडा त उनलाई भयो, जो ती युवासँगै सोही विमानको एउटै सिटमा आएका थिए।

दुबै जना दुबईमा काम गर्थे। दुबईबाट दिल्ली र दिल्लीबाट काठमाडौं आइपुग्दासम्म दुबै जना एउटै सिटमा थिए। विश्वभर कोरानो भाइरस फैलिरहँदा सबैलाई आफ्नो घरमा पुग्न हतार थियो। घर पुगिएला र सुरक्षित बसौंला भन्ने चाहनामा मोरङका ती युवा पनि थियो।

हताहतार यति एयरलाइन्सबाट विराटनगर हुँदै घर पुगे। सात दिनपछि उनको कानमा एउटा समाचार र्पयो– धनगढीका युवाको कोरोना भाइरस देखियो। संक्रमित युवा तिनै थिए जो उनीसँग विमानमा एउटै सिटमा कुम जोडेर अएका थिए।

उनलाई डर लाग्यो। नलागोस् पनि कसोरी। सँगै कुम जोडाएर आएको साथीमा पोजेटिभ देखियो। उनले सानी छोरीलाई हेरे, श्रीमतीलाई हेरे। आफूसँगै श्रीमती र सानी छोरीलाई पनि संक्रमण हुनसक्छ भनेर उनमा चिन्ता बढ्यो। अझ त्यसमाथि छोरीलाई रुघा र श्रीमतीलाई हल्का खोकी लागिरहेको थियो। ‘दुबईबाट मसँगै एउटै सिटमा आएको धनगढीको साथीमा पोजेटिभ देखिएछ,’ उनले भने, ‘मलाई पनि शंका लागेर जचाउन आएको।’

उनी आफैलाई भने केही भएको छैन, कुनै लक्षण पनि देखिएको छैन। छोरी र श्रीमतीलाई लागेको रुघाखोकीले अलि चिन्ता उनलाई थप्यो। उनले सोचेका थिए अस्पताल र डाक्टरको निगरानीमा गएपछि सबै सुविधा हुन्छ। सरसल्लाह गर्न पाइन्छ।

तर, सोचेभन्दा उल्टो भयो। सँगै आएको साथीलाई संक्रमण देखिएपछि उनले अस्पतालसम्मको पहुँच र क्वारेन्टाइनमा बस्ने इच्छा देखाउँदै स्थानीय वडा अध्यक्षसँग सल्लाह गरे। जिल्ला प्रहरी कार्यालय एसपीसँग पनि कुरा राखे। ‘मसँगै आएको साथीमा पोजेटिभ देखिएछ, म पनि अस्पतालमा क्वारेन्टाइनम बस्न चाहन्छु’, उनले भने, ‘मेरी बुढीलाई ज्वरो आएको छ, छोरीलाई हल्का खोजी लागिरहेको छ। यो सिजनको फ्लु हो की, के हो जचाउँन चाहन्छु।’

‘बिहान ७ बजे गाडी आउँछ बस्नु,’ उनलाई भनियो। बिआनै अस्पताल जाने तयारीमा उनी थिए। तर, ६ नबज्दै प्रहरी घरमा आइपुग्यो। ‘विहान साढे ६ बजे २ वटा पुलिस आएर मेरो घरमा चुक्कुल लगाउँदै थिए’, उनले भने, ‘हामीलाई एक अपराधी व्यक्तिजस्तो व्यवहार भयो।’

‘किन चुकुल लगाएको,’ उनले प्रहरीलाई सोधे, ‘हामी कतै हिँडेका छैनौं। केहीबेर प्रहरी र उनीबीच झगडा नै भयो। ‘हामीलाई मुखले यस्तो गर्नु भनेर सम्झाउन सकिन्थ्यो’, उनले निराश आवाजले भने, ‘बाहिरबाटै छिछि र दूरदूर गरिएको छ।’ केहीछिनपछि एम्बुलेन्स आयो। उनीहरुे तीनै जनालाई कोशी अस्पताल पु¥याइयो। अस्पतालमा पनि खासै ख्याल गरिएन। तीन घण्टा राखेर पनि केही नगरिएको उनको गुनासो छ।

डाक्टरले सामान्य सोधखोजपछि श्रीमती र छोरीलाई औषधि लेखिदिए। त्यसपछि उनीहरुलाई गाडीमा हालियो र बैनापुर पु¥याइयो। उनी त्यो ठाउँको बारेमा अपरिच छन्। ‘खै यो हेल्थपोष्ट हो कि के हो मलाई थाहा छैन,’ बसिहरेको स्थानबाट टेलिफोनमा उनले भने, ‘ यहाँ त पानीसमेत दिने मान्छेसमेत छैनन्।’

उनको तीनजनाको परिवारलाई भवनको एउटा कोठमाभित्र कोचिएको छ। सुरुको तीन चार घण्टासम्म केही सोधिएन। ‘छोरीले पानी खान्छुभन्दा पनि हामीलाई कोठाभित्रै थुनियो’, उनले भने, ‘कोही सोध्न पनि नआउने। मेडिकल टिम पनि छैन।’ उनीसँग फोनमा कुरा गरिरहँदा छोरी रोइरहेकी थिइन्। आमाको दिक्दार लाग्दो आवाज सुनिन्थ्यो।

श्रीमती र छोरीलाई डाक्टरले औषधि लेखिदिएको छ। त्यो औषधि कहाँ किन्ने हो, उनीहरुलाई थाहा छैन। छोरी भोकाएर रुन थालिन् तर कसैले केही ख्याल गरेनन्। ‘पटक–पटक अनुरोध गर्दा बल्ल नानीलाई दुईवटा ब्रेड र दूध ल्याइदिएका छन,’ उनले गुनोसो दोर्होयाए, ‘जहाँ पनि छिः छिः र दूरदूर गर्छन्।’ सुरुमा केही घण्टा बाहिरबाट चुकुल लगाइयो। सहायक जिल्ला प्रमुख अधिकारीलाई भनेर चुकुल भने खोलिदिएको उनले बताए।

‘हामी अस्पताल आउनुको कारण डाक्टरको निगरानीमा हुन्छौं भनेर आएको हो,’ उनले भने, ‘तर, यहाँ त केही पनि छैन।’ दुबईबाट काठमाडौंसम्म मार्च २० तारिखमा उनीहरुको नेपाल आउने दिन थियो। उनका अनुसार त्यो फ्लाइटमा १४ जना नेपाली थिए। ‘इके०५१० फ्लाइ इमिरेटस्को जहाज दुबईबाट दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलका लागि उड्यो। धनगढीका युवा र उनी सँगै थिए।

तीन जना बस्ने उक्त सिटमा भारतका एकजना यात्रु पनि भएको उनले बताए। दिल्लमा ६ घण्टा ट्रान्जिट र्पर्यो। दुई साथीले ६ घण्टा त्यही बिताए। ‘सँगै आएको अन्य नेपाली साथीहरु २ घण्टा अगाडि नै नेपाल एयरलाइन्सको जहाजमा काठमाडौं उडे,’ उनले भने, ‘हामी भने ६ घण्टा कुरेर विस्तारा एयरलाइन्सको जहाजका काठमाडौं आइपुग्यौं।’

काठमाडौं आइपुग्दा झन्डै साढे चार भइसकेको थियो। हत्तपत्त उनले लगेज समाए र आन्तरिक उडान कक्षमा आए। तुरुन्तै टिकट पाउन गाह्रो भयो। यात्रुको चापले आन्तरिक सबै उठानमा चाप थियो। उनले अनुरोध गरे। ‘मलाई विराटनगर पुग्नु पर्छ आज, मिल्छ भने मिलाइ दिनु,’ उनले अनुरोध गरे। अन्ततः यति एयरलाइन्सबाट विराटनगर जाने टिकट पाउन सफल भए। सँगै आएका धनगढीका साथीले टिकट पाएनन् र काठमाडौंमै बसे।

उनी दुबई बस्न थालेको पाँच वर्ष भयो। यस्तो हतार, दिक्क लाग्दो जिन्दगी कहिले भएको थिएन। दुबईमा पनि कोरोना फैलन सक्ने भएपछि कम्पनीले ‘नेपाल फर्कने कि, दुबईको कोठामा बस्ने,’ दुई विकल्पमा दियो। कम्पनी बन्द हुने भएपछि ती साथीहरुले आफ्नै घर नेपाल फर्कने इच्छा व्यक्ति भए। अझै डेढ वर्षको भिसा थियो उनीसँग। कोरोना भाइरसको संक्रमणपछि काममा फर्कन पाइनेमा ढुक्क छन् तर चिन्ता कामको भन्दा पनि आफ्नै देशमा पाएको दुःखको छ।

‘विदेशमा काम गर्न गएका हामीहरुले यहाँको अवस्था थाहा हुदैन,’ उनी भन्छन, ‘तर, गफमात्र रहेछ। काम नै नहुने।’ उनी जस्तै कयौँ नेपाली काम छोडेर दुबईमै बसेका छन्। नेपाल जाँदा जागिरमा पुनः फर्किन पाइने हो कि होइन् भन्ने चिन्ताले उनीहरु नेपाल आउन नसकेको उनको भनाइ छ। -नेपालखबरबाट

चर्चामा

सम्बन्धित समाचार