• होमपेज
  • प्रदेश ७
  • टुलुटुलु अरुको दशैं हेरेर बित्दैछ, टुहुरा बालबालिकाको दशैं

टुलुटुलु अरुको दशैं हेरेर बित्दैछ, टुहुरा बालबालिकाको दशैं

  • बुधबार, अशोज २२, २०७६
टुलुटुलु अरुको दशैं हेरेर बित्दैछ, टुहुरा बालबालिकाको दशैं

नेपालभर दशैंको हर्ष उल्लास छ । बालबालिका नयाँ रङ्गीचङ्गी लुगा लगाएर मीठा परिकार खाँदै, खेल्दै रमाईरहेका छन् । तर, बैतडीको एक दलित परिवारका छजना टुहुरा बालबालिका भोक भोकै रुँदै यी दृश्य टुलुटुलु हेरिरहेका छन् ।

हो, जिल्लाको दशरथ चन्द नगरपालिका वडा नम्बर १० सतपालिका छजना टुहुरा बालबालिका रुवाउन मात्र दशैं आएको छ । आमाले छोडेर गईन् । क्यान्सर पीडित बुवाको उपचार नपाएर १० महिना अघि मृत्यु भएपछि बालबालिका सहाराविहीन बन्न पुगेका छन् ।

बेसहारा बालबालिकाका बुवा राजुराम लावडको मृत्यु हुनु अघिनै औषधि लिन्छु भनेर भारतको पिथौरागढ गएकी आमा मीनादेवी लावड दुई वर्षदेखि घर फर्केकी छैनन् । रोगी बुवालाई छोडेर गएकी आमा त फर्किनन्, सहारा दिने बुवाको पनि निधन भएपछि तीन वर्षदेखि १४ वर्षसम्मका छजना दिदी बहिनीको बिचल्ली भएको छ ।
दशरथचन्द नगरपालिका वडा नम्बर १०, सतपाली गाउँका निलम लावड ९ १४ वर्ष० ईन्द्रा लावड ९ १२ वर्ष० पार्वती लावड ९ ११ वर्ष० लीला लावड ९ नौ वर्ष० बिन्दु लावड ९छ वर्ष० र माया लावड ९तीन वर्ष० को बिचल्ली भएको हो ।

१० महिनादेखि सहाराविहीन बालबालिकाको बस्ने घर समेत भत्केको छ । वर्खामा पानी परेर बस्नै नक्ने अवस्था आएपछि दशरथ चन्द नगरपालिकाले एक लाखरुपियाँ आर्थिक सहयोगमा घर मर्मत गरिदिए पनि बिजुली बत्ती छैन । गाउँमा बिजुली बत्तीको सुविधा भए पनि मिटर जडान गर्न नसक्दा बत्ती बाल्न नपाएको जेठी बालिका निलम लावडले पीडा सुनाइन् ।
सानी बहिनीलाई काखी च्यापेर आँसु टलपलाउँदै निलमले भनिन्, “गाउँमा सबै जना दशैंको खुशीयालीमा छन् । हाम्रो घरमा त भोक लाग्दा खानेकुरा पनि हुँदैन । अस्ति नगरपालिकाले दिएको चामल पनि सकियो । यताउती मागेर खान्छौं ।”

टुहुरा बालबालिको घर पनि खोला नजिक छ । गाउँमा सबैका घरमा बिजुली भए पनि बालबालिका अध्याँरोमा बस्न डराउने भएकोले छिमेकीले पालैपालो घरमा सहारा दिने गरेको स्थानीय गीतादेवी लावडले बताइन् ।

बिचल्लीमा परेका बालबालिकालाई सहयोग गर्ने मन भए पनि छिमेकी दलित परिवारको पनि आर्थिक अवस्था राम्रो नभएको गीतादेवी लावडले बताइन् ।
बालबालिकालाई समस्या र पीडाको बारेमा कुरा गर्दा बालबालिका टोलाउँछन् मात्रै बोल्न सक्दैनन् । बालबालिकोे पीडा पनि छिमेकीले नै राख्ने गरेका छन् । बोल्न सक्ने मध्येकी जेठी निलम एउटै कुरा दोहोर्याएर भन्छिन्–“ आमाले छोडेर जाँदा सबैभन्दा कान्छी छैटौं बहिनी एक वर्षकी मात्र थिईन् । अरु बहिनी पनि सानै छन् । घरमा खान लगाउन केही पनि छैन । भोक लाग्दा बहिनीहरु रुन्छन् ।”

टुहुरा बालबालिकाको बस्ने घर समेत भत्केपछि दशरथ चन्द नगरपालिकाबाट एक लाख रुपियाँ बजेट दिएर घर मर्मत गर्न सहयोग गरेको दशरथ चन्द नगरपालिकाले जानकारी दिएको छ । (साभार : गोरखापत्र अनलाइन)

चर्चामा

सम्बन्धित समाचार