बाली जोगाउनै मुस्किल

  • शुक्रबार, भदौ २७, २०७६
बाली जोगाउनै मुस्किल

अछाम : अछामको साँफेबगर नगरपालिका ३ नौलाकोटकी मंगला कुँवरले गत वर्ष बँदेल भगाउन रातभरी जाग्राम बस्दा पनि मकै जोगाउन सकिनन्। तीन रोपनीमा लगाएको मकै बादर र बँदेलले खाएर सखाप पार्‍यो। यो वर्ष उनले मकै लगाइनन्।

अहिले धान र कोदो जोगाउन उनी रातभरी बँदेल भगाउने गर्छिन्। ‘राती बँदेल आउँछ, दिउँसो बादर’, उनले भनिन्। ‘यस्तै हो भने भोकमरी हुन्छ ,दुःख गरेर लगाएको खेती जती सबै बाँदर र बँदेललाई हुन थाल्यो, गत वर्ष मकैखेती राम्रो भएको थियो तर जोगाउन सकिएन।’ गाउँका सबैले अहिले मकै लगाउन छोडिसके। नजिकैको सामुदायिक वनले जंगली जनावरको बिगबिगी बढ्न थालेको छ। साँफेबगर नगरपालिका–४ मष्टामाण्डौंका किसान दल बोगटीले नपाकेकै धान काटे। दुई चार दिन पहिले नै धान काट्यो भने केही कम क्षति हुन्छ कि भनेर राम्रोसँग नपाकेकै धान पनि काट्न थालेको बताए।

उनले भने, ‘रातको समयमा बथानको बथान आउने बँदेलले धानमा धेरै क्षति पुर्‍याउने गरेको छ। आफूले मात्र नभएर गाउँका प्रायः सबैले बँदेलको चिन्ताले हप्ता १० दिनपछि काट्न हुने धान पहिले नै काट्न थालेको छन्।’

जंगली जनावर बँदेलले पाक्नै लागेको बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन्। मकै, धान, कोदो जस्ता बर्खेबाली उम्रिने बेलादेखि नै बँदेलले खाएर नष्ट गर्न थालेपछि भोकमरी हुने भन्दै कृषक चिन्तित छन्। बँदेलबाट बाली जोगाउने चुनौती कुनै निश्चित एक गाउँ किसानलाई मात्र नभएर जिल्लाका अधिकांश किसानलाई यो चुनौती छ।

उच्च भेगमा बढी फल्ने मकै पसाउन थालेदेखि नै बीच खेतमा पाल टाँगेर रातभर बँदेल धपाउन जाग्राम बसे पनि बाली जोगाउन नसकेको किसानको गुनासो छ। मेल्लेख गाउँपालिका ७ नन्देगडाका दिपबहादुर बुढाले भने, ‘बुडावाडा गाउँमा प्राय सबैले मुम्फली खेती गर्ने गरेका छन्।’ खेतीबाली यसपालि बँदेलले पाक्न नपाउँदै सबै नष्ट पारेको उनले सुनाए।

मुम्फली बिक्री गरेर मात्र गाउँका एक परिवारले कम्तीमा ७० हजारसम्म कमाइ गर्ने गरेको बुढाले जानकारी दिए। मुम्फली बारीमा पाल टागेर रातभर जाग्राम बसेर होहल्ला गर्दा पनि बँदेलबाट जोगाउन नसकेको सोही ठाउँका रनी बुढाले बताए। ‘घरखर्च चलाउने आधार नै मुम्फली हो, यसपालि सबै बँदेलले नष्ट गरिदियो’, उनले भने। अछामका अधिकांश गाउँका खेतबारीको बीच भागमा पाल टागेर रातभर होहल्ला गर्दै बँदेल भगाउन जाग्राम बस्ने गरेका छन् भने पाल टाँगेर नबस्ने खेतबारीमा फाटो लुगा कपडा टाँगिएको छ। ५–६ वर्षदेखि बँदेलको बिगबिगी बढेको घुघरकोटका एकेन्द्र महताले बताए।

बँदेलले पूरै बाली सखाप गरिदिएपछि वन जंगल नजिकका जग्गामा त कतिपयले खेती लगाउनै छाडेको उनले बताए। केही वर्ष पहिले लेकाली भेगमा मात्र बँदेलले बालीमा क्षति पुर्‍याउँदै आएकोमा पछिल्लो समय बेसीतिर क्षति पुर्‍याउन थालेको छ। एकातर्फ जमिनमा खेती नगरेर बाँझो राख्ने प्रचलन बढ्नु तथा अकोतर्फ गाईभैंसी पाल्ने क्रम विस्तारै घट्नुले वन जंगलको क्षेत्र बढ्दै जाँदा बँदेललगायत जंगली जनावरको बिगबिगी बढ्न थालेको स्थानीयको भनाइ छ।

‘पहिले त प्रत्येक घरमा गाईभैंसी, गोरु बाख्रा हुन्थे, टाढा टाढाको जंगलसम्म चराउन लगिन्थ्यो, अहिले त पशुचौपाया पाल्ने क्रम निकै घटेपछि घर वरिपरी नै जंगलजस्तै देखिन थालेपछि जंगली जनावरको संख्या बढ्न थाल्यो’, नन्देगडाका तिलक साउदँले भने।

जंगली जनावर बँदेलले बर्खेबाली मात्र नभएर हिउँदे बाली तथा तरकारी बाली खाएर किसानलाई हैरान तुल्याउने गरेको छ। पाक्नै थालेको मकै, धान, कोदो, गहुँजस्ता बाली बँदेलले सकेजति खाने र नसकेको नष्ट गर्न थालेपछि किसान हैरान बनेका हुन्। बँदेलले बाली खाएर हैरान तुल्याएपछि पीडित किसान प्रशासनलाई गुहारे पनि प्रशासनले जंगली जनावर नियन्त्रणका लागि खासै ठोस पहल नगरेको उनीहरूको आरोप छ। जंगली जनावर बँदेलले उच्च पहाडी भेगदेखि समथर फाटसम्मका बालीनालीमा नोक्सान पुर्‍याएको छ।

अन्नपुर्ण पाेष्टमा गिता कुवरले अछामबाट लेखेकाे छ 

चर्चामा

सम्बन्धित समाचार