बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • किन बढ्दैछ देशभर गर्मी ? यस्तो रहेछ कारण

किन बढ्दैछ देशभर गर्मी ? यस्तो रहेछ कारण

  • आइतवार, असार १, २०७६
किन बढ्दैछ देशभर गर्मी ? यस्तो रहेछ कारण

काठमाडौं – तराईदेखि पहाडसम्म गर्मी आकाशिँदै गएको छ । नेपालमा मनसुन आइपुग्न ढिलाइ हुँदा गर्मी व्यापक बढेको छ ।

सोमालिया आसपास बन्ने मनसुनी बादल बंगालको खाडीसम्म विकसित हुँदै आएपनि नेपाल पसिसकेको छैन । ‘मनसुनको बादल बंगालको खाडीसम्म सिर्जना भएपनि त्यो बढोत्तरी हुँदै नेपाल आउन सकेको छैन,’ मौसमविद् गंगा नगरकोटीले भन्नुभयो, ‘प्रिमनसुन कमजोर बनेको यो बेला गर्मी बढ्छ । त्यो बादल नेपाल आउन मनसुनका केही मापदण्ड पूरा गर्नुपर्छ । तर अरब सागरमा आइरहेको फानी आँधीले मनसुन विकसित हुन दिइरहेको छैन ।’ यसअघि असारको पहिलो साता मनसुन शुरु हुने अनुमान गरिएको थियो ।

चक्रवातले बंगालको खाडी र आफ्नै क्षेत्रको पानी पर्ने वाष्पयुक्त मोइस्चरलाई तानेर लगिरहेको मौसमविद्को भनाइ छ । नगरकोटी भन्नुहुन्छ, ‘दक्षिण भारत आइपुगेको मनसुन त्यही रहेको छ ।’ अरब र बंगालको खाडीमा उत्पन्न हुने जलवाष्प सहितको संयुक्त उच्च चापीय वायु नै नेपालको मनसुनको मुख्य आधार हो । उहाँका अनुसार न्यून चापीय रेखाले नेपालको हिमाली रेखा छुनु पनि वर्षा हुने एउटा आधार हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

वरिष्ठ मौसमविद् मदनलाल श्रेष्ठका अनुसार मनसुन सुरु हुन उच्च चापीय दक्षिणपूर्वी वायुले न्यून चापीय पश्चिमी वायु विस्थापित गर्नुपर्छ । ‘पश्चिमी वायुको गति र प्रभाव कम हुँदै जाँदा पानी पर्छ र धर्तीमा बढ्दो तापमान सन्तुलनमा आउने हुँदा मानिसले राहत महसुस गर्छन्,’ उहाँले भन्नुभयो, ‘तर मनसुन प्रक्रिया अगाडि नबढ्दा अत्यधिक गर्मी भएको हो ।’ मनसुन सुरु हुने बेला प्रायः यही खालको तापमान देखिने भएपनि यो वर्ष अलिक लामो भएको उहाँ बताउनुहुन्छ ।

काठमाडौंमा गत वर्षभन्दा बढी

प्रिमनसुन लागे यता जुन १४ अर्थात् जेठ ३१ गते शुक्रबार काठमाडौंमा अत्यधिक गर्मी महसुस गरियो । मुख्यतः मे महिनालाई नेपाल र भारत लगायतका देशमा बढी गर्ने हुने महिनाका रूपमा चिनिन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसवर्षको मे महिनाको ३२.५ डिग्री तापक्रमको आफ्नै रेकर्ड तोड्दै शुक्रबार काठमाडौंको तापक्रम माथि उक्लिएको हो । शुक्रबार ३३.५ डिग्री सेन्टिग्रेड तापक्र रेकर्ड भयो । गतवर्ष सन् २०१८ को मे महिनामा सैभन्दा बढी ३१.५ डिग्री तापक्रम रेकर्ड भएको थियो । सन २०१७ को मे महिनामा काठमाडौंमा ३१.६ डिग्री सेन्टिग्रेड तापक्रम रहेको थियो ।

तातिँदै मुख्य शहर

यसवर्षको मे महिनामा अर्थात् बैशाख २९ गते ४३.५ को अत्यधिक तातो महसुस गरिएको बाँके जिल्लाको नेपालगञ्जमा त्यसपछि तापक्रम ओरालो लाग्यो । तर प्रिमनसुन कमजोहुँदै जाँदा तातो बढ्न थालेपछि तापक्रम फेरि उकालो चढ्दैछ । शुक्रबार जुन १४ मा ४१.५ तापक्रम रेकर्ड भयो । यस्तै मे २७ मा धनगढीमा सबैभन्दा बढी ४२.६ डिग्री तापक्रम रेकर्ड भएको थियो ।

मौसम विज्ञान विभागका अनुसार पोखरामा शनिबार ३४.० डिग्री तापक्रम छ । गत वर्षको जुन महिना २० तारिखको सबैभन्दा बढी ३३.२ डिग्री तापक्रमको रेकर्ड पोखराले यसपाला पाँचदिन अघि नै तोडेको छ । वैशाख २९ गते पोखरामा ३२.७ डिग्री तापक्रम थियो ।

अघिल्लो महिना विराटनगरमा औसत ३५ डिग्री आसपास तापक्रम थियो । तर अहिले बढेर ३८.० डिग्री तापक्रम पुगेको छ । गतवर्ष जुन १० का दिन ३७.८ डिग्री तापक्रमको रेकर्ड यसपाला विराटनगरले पछि पारेको छ ।

चिसो गुमाउँदै जुम्ला

चिसो जिल्ला मानिने जुम्लाको चिसो पनि यसपालाको गर्मीले पगालेको छ । जुम्लामा शुक्रबार २९.७ डिग्री तापक्रम रेकर्ड भएको छ । गएको वर्ष पाँचदिन अघि जुन १० का दिन २९.१ डिग्री तापक्रम रेकर्ड भएको थियो । गएको वैशाख २९ गते जुम्लामा २५.५ डिग्री तापक्रम रेकर्ड भएको थियो । सन् २०१७ मे महिनामा जुम्लामा २७.५ डिग्री सेन्टिग्रेड तापक्रम रहेको थियो । त्यस्तै सन् २०१८ को जुन महिनामा २७.३ डिग्री थियो ।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद प्रतिभा मानन्धरका अनुसार सन १९९५ को जुन ५ मा धनगढीमा हालसम्मकै सबैभन्दा बढी ४६.४ डिग्री तापक्रम रेकर्ड भएको थियो । त्यही साल नेपालगञ्ज ४५ डिग्री तातो भयो ।

मौसमविद्का अनुसार अझै एकसाता पहाडी भेगमा अत्यधिक गर्मी रहनेछ । तराइमा भने अलिक लामो समय गर्मी रहने छ । गत साता नै आइपुग्नुपर्ने मनसुन यो वर्ष एक हप्ता ढिला हुने मौसमविद्को भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार