• होमपेज
  • अर्थ/वाणिज्य
  • कर्णालीबाट झण्डै दुई अर्बको कृषिउपज निर्यात

कर्णालीबाट झण्डै दुई अर्बको कृषिउपज निर्यात

  • बिहिबार, बैशाख २०, २०८१
कर्णालीबाट झण्डै दुई अर्बको कृषिउपज निर्यात

सुर्खेत– कर्णाली प्रदेशबाट आर्थिक वर्ष २०८०/०८१ का ६ महिनामा झण्डै दुई अर्बको कृषि उत्पादन निर्यात भएको छ । यस वर्षको साउनयता पुससम्म खाद्यान्न, तरकारी र फलफूल गरी कर्णालीबाट एक अर्व ९६ करोड सात लाख रुपैयाँको कृषिउपज निर्यात भएको हो । कृषि विकास निर्देशनालय सुर्खेतको तथ्यांकअनुसार उक्त मूल्य बराबरको ४७ हजार १२४ मेट्रिकटन कृषि उपज निर्यात भएको छ । ६ महिनामा सबैभन्दा धेरै ६६ करोड ७४ लाख मूल्यको अदुवा निर्यात भएको छ ।

सुर्खेत, सल्यानलगायतका जिल्लामा उत्पादन भएको अदुवा जर्मनीसम्म निर्यात हुने गरेको छ । यसै वर्ष कर्णालीबाट ५० करोडको स्याउ निर्यात भएको छ । कर्णाली प्रदेशका जुम्लालगायत हिमाली जिल्लाबाट यस वर्ष १० हजार ४५१ मेट्रिक टन स्याउ निर्यात भएको कृषि विकास निर्देशनालय सुर्खेतका कृषि प्रसार अधिकृत तिलक पाण्डेले जानकारी दिए ।

यस्तै २६ करोड ४१ लाखको तरकारी, २० करोड २० लाख मूल्यको सुन्तला, पाँच करोड ४२ लाख बराबरको मकै, मार्सी, कोदो, चिनो, कागुनो, फापरलगायत खाद्यान्न ६ महिनामा निर्यात भएको कृषि प्रसार अधिकृत पाण्डेले बताए । ११ करोडको बर्षे आलु निर्यात हुँदा तीन करोड १९ लाखको मह, तीन करोड ५८ लाखको सिमि, तीन करोड ९१ लाखको बेसार र तीन करोड ८८ लाखको तरकारी बीउ निर्यात भएको छ ।

गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा यस वर्ष १७ लाख ८६ हजारले निर्यातमा वृद्धि भएको छ । सिँचाइ, प्रविधि, बीउलगायत सहयोग कार्यक्रमले उत्पादनमा वृद्धि भई निर्यात बढेको पाण्डेको भनाइ छ । कर्णालीमा जम्मा क्षेत्रफल २५ लाख २५ हजार २७५ हेक्टरको ११ प्रतिशत अर्थात दुई लाख ९९ हजार ३३९ हेक्टरमात्रै खेतीयोग्य जमिन छ । जम्मा खेतीयोग्य जमिनमध्ये पनि ७२.४५ प्रतिशत जमिनमा खेती गरिएको कृषि निर्देशनालयको तथ्यांक छ ।

खेतीयोग्य जमिनमध्ये ३९ हजार ६११ हेक्टरमा वर्षभरि र ३३ हजार ६०२ हजार हेक्टरमा आंशिक गरी ७३ हजार २१३ हेक्टरमा मात्रै सिँचाइ सुविधा छ । जुन खेतीयोग्य जमिनको ३३.७६ प्रतिशतमात्रै हो । चालु आर्थिक वर्षमा अघिल्लो वर्षको भन्दा एक हजार २७८ हेक्टर वर्षभरि सिँचाइ हुने र तीन हजार ६ सय हेक्टर जमिनमा आंशिक सिँचाइको सुविधा विस्तार भएको कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत पाण्डेले बताए ।

सात जिल्लामा खाद्यान्न अपुग
चालु आवको ६ महिनाको अवस्था हेर्दा खाद्यान्न बचतमा कमी देखिएको छ । सुर्खेत, दैलेख र सल्यानबाहेकका सात जिल्लामा खाद्यान्न अपुग देखिएको हो । निर्देशनालयको तथ्यांकअनुसार समग्र प्रदेशभर २३ हजार ४३४ मेट्रिकटन खाद्यान्न अपुग छ । कर्णाली प्रदेशका लागि तीन लाख ४४ हजार ३२४ मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा तीन लाख २० हजार ८९० मेट्रिक टनमात्रै खाद्यान्न भण्डारण छ ।

यस वर्ष हावाहुरीका कारण मकै बालीमा, केही जिल्लाको धान बालीमा क्षति भएको तथा भूकम्पका कारण भण्डारण भएको खाद्यान्नमा क्षति भएका कारण बचत कम देखिएको निर्देशनालयका सूचना अधिकारीसमेत रहेको कृषि प्रसार अधिकृत पाण्डेले बताए । पाण्डेका अनुसार सुर्खेतमा चार हजार ८६७ मेट्रिक टन, दैलेखमा ६ हजार ४५१ र सल्यानमा चार हजार ५८६ मेट्रिक टन खाद्यान्न बचत छ । अन्य सात जिल्लामा भने खाद्यान्न अपुग छ ।

डोल्पामा पाँच हजार ९९, हुम्लामा आठ हजार ५६५, मुगुमा ६ हजार ४३९, जुम्लामा तीन हजार पाँच र कालिकोटमा १० हजार ३१७ मेट्रिकटन खाद्यान्न अपुग छ । यस्तै रुकुम पश्चिममा एक हजार ६१५ र जाजरकोटमा चार हजार २९९ मेट्रिकटन खाद्यान्न अपुग छ । खाद्यान्न लगायत उत्पादन वृद्धिका लागि निर्देशनालयले आलु, तरकारी, अदुवा बेसार, मौरी, च्याउलगायत पकेट क्षेत्र कार्यक्रम तथा ब्लक विकास कार्यक्रम सञ्चालन गरेको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले बताए ।

उनले निर्देशनालयबाट ३७२ वटा कृषि सिँचाइ निर्माण गरी पाँच हजार ५८० हेक्टरमा सिँचाइ पुर्‍याएको करिब सात हजार ६०० जनालाई आंशिक रोजगारी सिर्जना भएको बताए । यस्तै सिम्ता र चौकुने गाउँपालिकामा प्राङ्गारिक मिसन कार्यक्रम, कृषि बजार निर्माण, महिला सहकारीमाफर्त घुम्तीकोष परिचालन, दलित अतिविपन्न तथा लक्षित वर्ग विशेष कार्यक्रम लगायतका कार्यक्रम निर्देशनालयबाट सञ्चालन गरिरहेको निर्देशक रोकायले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार