• होमपेज
  • मनोरञ्जन
  • नेपाली फिल्ममेकर आकर्षित गर्दै स्कटल्यान्ड

नेपाली फिल्ममेकर आकर्षित गर्दै स्कटल्यान्ड

  • आइतवार, जेष्ठ १२, २०७६
नेपाली फिल्ममेकर आकर्षित गर्दै स्कटल्यान्ड

ध्रुवराज अर्याल । लन्डन  : हलिउड र बलिउडका थुप्रै चलचित्र छायांकन भएका छन् स्कटल्यान्डमा। हिउँले ढाकेका सेताम्मे हिमाल र हरिया डाँडाकाँडादेखि पहेँला फाँटसम्मका मनै लोभ्याउने दृश्य यहाँका आकर्षण हुन्। समुद्री किनार, क्यासलदेखि क्लासिकल ट्रेन र कलात्मक सहर विश्वभरका फिल्म मेकरलाई सजिलै आकर्षित गर्न सफल छन्।

स्कटल्यान्डको यही सुन्दर दृश्यमा पछिल्लो समय केही नेपाली चलचित्रकर्मी आफ्ना फिल्म छायांकन गरेका छन्। सन् २०१६ मा बेलायतवासी निर्देशक मिलन चाम्सले निर्देशन चलचित्र हेप्पी डेजको छायांकन स्कटल्यान्डमा गरेका थिए। सम्भवतः स्कटल्यान्डमा छायांकन गरिएको पहिलो नेपाली चलचित्र यही थियो।

‘हेप्पी डेजअघि कुनै नेपाली फिचर फिल्म स्कटल्यान्डमा छायांकन भएको जानकारी छैन’, चलचित्रमा प्राविधिक सहयोग गर्ने बेलायतस्थित सपन इन्टरटेनमेन्ट लिमिटेडका निर्देशक सपनकुमार राई सम्झिन्छन्, ‘यो चलचित्रले नेपाली चलचित्रकर्मीमाझ स्कटल्यान्ड चिनाउने काम गरेको थियो।

यहाँका लोकेसनमा विविधता र सुन्दरता मात्र छैन, शान्त र भीडभाडमुक्त वातावरण पनि छ। छायांकनका लागि स्थानीय प्रशासनबाट अनुमति लिने प्रक्रिया पनि लचिलो र छिटो हुनाले सजिलो छ।

चाम्सकै निर्देशनमा बनेको चलचित्र लिलीबिली त लगभग पूरै स्कटल्यान्डमै छायांकन गरियो। प्रदीप खड्का र जसिता गुरुङको शीर्ष भूमिका रहेको चलचित्र छायांकनका लागि नेपालबाट सिंगो युनिट नै केही साता स्कटल्यान्ड बसेको थियो। ‘लिलीबिली प्रदर्शनमा आइसकेपछि दर्शकले चलचित्रको लोकेसन अत्यधिक मन पराए’, चलचित्रका एक कलाकार ध्रुव दत्त भन्छन्, ‘सधैं उस्तै लोकेसन हेरेका नेपाली दर्शकलाई स्कटल्यान्ड एउटा नौलो स्वाद बन्यो।’

अनमोल केसी अभिनीत चलचित्र कृको जानी नजानी माया बोलको गीतको छायांकन स्कटल्यान्डमा गरिएको हो। अब छायांकन सुरु हुने तयारीमा रहेका चलचित्र ‘कैदीको पत्र’ र ‘मिसन लन्डन’ ले पनि स्कटल्यान्डकै लोकेसन फिक्स गरिसकेका छन्।

नौलो र सुन्दर लोकेसन पस्कन चाहने नेपाली चलचित्रकर्मीका लागि विदेशका लोकेसनमध्ये स्कटल्यान्ड उत्तम विकल्प बन्न सक्छ। ‘यहाँका लोकेसनमा विविधता र सुन्दरता मात्र छैन, शान्त र भीडभाडमुक्त वातावरण पनि छ’, सपन इन्टरटेनमेन्टका निर्देशक राई सुनाउँछन्, ‘छायांकनका लागि स्थानीय प्रशासनबाट अनुमति लिने प्रक्रिया पनि लचिलो र छिटो हुनाले सजिलो छ।’

स्कटल्यान्डमा एडिनबरा, ग्लास्गो, एबर्डिन, पर्थलगायतका ठाउँ चलचित्र छायांकनका लागि रोजाइमा पर्ने क्षेत्र हुन्। स्थानीय नेपाली समुदायका कारणसमेत नेपाली चलचित्रकर्मीलाई स्कटल्यान्डमा छायांकन गर्न सजिलो हुने कलाकार ध्रुव दत्तको अनुभव छ। स्कटल्यान्डका विभिन्न क्षेत्रमा नेपालीहरू लज सञ्चालन गरेर बसेका छन्। ‘त्यहाँ नेपाली चलचित्रकर्मीलाई खाने, बस्ने प्रबन्ध मिलाउन धेरै सजिलो हुन्छ’, दत्तले सुनाए, ‘जुनसुकै सहयोग आवश्यक पर्दा पनि उनीहरू’ आफैं अघि सरेर सहयोग गर्न आउने अनुभव हामीले सँगालेका छौं।’

चर्चामा

सम्बन्धित समाचार