शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिका–इरान तनाव : भूमध्यसागरमा युद्धपोत र मिसाइल तैनाथ

अमेरिका–इरान तनाव : भूमध्यसागरमा युद्धपोत र मिसाइल तैनाथ

  • बुधबार, जेष्ठ १, २०७६
अमेरिका–इरान तनाव : भूमध्यसागरमा युद्धपोत र मिसाइल तैनाथ

वासिङटन (एजेन्सी) : अमेरिकाले इरानसँग बढ्दो तनावबीच भूमध्यसागरमा प्याट्रियस मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गर्न लागेको छ। अमेरिकी युद्धपोत यूएसएस आर्लिङटनलाई समेत उसले भूमध्यसागरमा पुगिसकेको अर्को युद्धपोत यूएसएस अब्राहम लिंकन युद्ध समूहमा सामेल गर्न लागेको छ। युद्धपोतमा रहेका लडाकु बमवर्षक विमानले जल र स्थल दुवै ठाउँमा प्रहार गर्न सक्छन्।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले कतारस्थित एउटा अमेरिकी सैन्य अखडामा यसअघि नै बमवर्षक विमान यूएस बी–५२ विमान पठाइसकेको जनाएको छ। पेन्टागनका अनुसार खाडी राष्ट्रहरूमा रहेका अमेरिकी सेनालाई इरानका कारण उत्पन्न हुनसक्ने जोखिमबाट जोगाउन यसो गरिएको हो। तर उसले इरानबाट अमेरिकालाई उत्पन्न हुने सम्भावित खतराबारे भने कुनै विवरण दिएको छैन।

इरानले भने अमेरिकाका सबै भनाइलाई ‘हावादारी कुरा’ भन्दै खण्डन गरेको छ। उसले अमेरिकाका बमवर्षक विमान बी–५२ र युद्धपोत तथा प्याट्रियट तैनाथीको एक मात्र उद्देश्य आफूलाई ‘तर्साउने मनोवैज्ञानिक युद्ध’ भनेको छ।

इरान–अमेरिका सम्बन्ध

यसअघि युरोप भ्रमणमा निस्केका अमेरिकी विदेशमन्त्री माइक पम्पियोले पत्रकारमाझ भनेका थिए, ‘इरानले अमेरिकालाई उत्तेजित पार्ने काम गरिरहेको हामीले अनुभूति गरेका छौं। अब हामीमाथि कुनै पनि आक्रमण भयो भने त्यसको जिम्मेवार इरानलाई ठान्नेछौं।’ हुन त उनले पनि ‘इरानका उत्तेजक काम’बारे केही पनि बताएका थिएनन्।

एकातिर अमेरिका आफ्ना सहयोगी राष्ट्रमाथि इरानी पेट्रोलियम पदार्थ नकिन्न दबाब दिएर उसको अर्थव्यवस्था धराशयी बनाउन प्रयास गरिरहेको छ। अर्कातिर इरान पनि आफू अमेरिकासँग कुनै पनि हालतमा नझुक्ने अडानमा अडिग छ।

इरान–अमेरिकाबीच केही समययता तनाव बढ्दै गएको छ। इरानसहित ६ राष्ट्रबीच सन् २०१५ मा भएको आणविक अप्रसार सन्धिबाट अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष बाहिरिएको घोषणा गरेका थिए। त्यसपछि उसले इरानमाथि फेरि कैयौं प्रतिबन्ध लगाउँदै आएको छ।

साथै अमेरिकाले यमन र सिरिया युद्धमा इरानले निर्वाह गरेको भूमिकाको पनि आलोचना गरेको थियो। ट्रम्प प्रशासनले यसरी चौतर्फी दबाब दिएर इरानलाई आणविक र ब्यालेस्टिक मिसाइल विकास कार्यक्रम त्याग्न बाध्य पार्ने अपेक्षा गरेको छ।

इरानले अमेरिकाको नाकाबन्दी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै विरोध गर्दै आएको छ। इरानी सञ्चारमाध्यमले अमेरिकी प्रतिबन्धको जवाफ दिन आफूसँग निकै विकल्प भएको इरानका विदेशमन्त्री मोहम्मद जवाद जरिफले बताएको उल्लेख गरेका छन्। उसले आफूलाई तेल बेच्न नदिए त्यसको परिणाम गम्भीर हुने चेतावनीसमेत दिएको छ।

चर्चामा

सम्बन्धित समाचार