• होमपेज
  • अन्तर्राष्ट्रिय
  • निक साइमन्स इन्स्टिच्युटका संस्थापक जिम साइमन्सको निधन

निक साइमन्स इन्स्टिच्युटका संस्थापक जिम साइमन्सको निधन

  • आइतवार, बैशाख ३०, २०८१
निक साइमन्स इन्स्टिच्युटका संस्थापक जिम साइमन्सको निधन

निक साइमन्स इन्स्टिच्युटका संस्थापक जिम साइमन्सको निधन भएको छ । ८६ बर्षीय जिमको गत शुक्रबार अमेरिकाको म्यानहट्टनस्थित आफ्नै घरमा निधन भएको हो। मृत्युको कारण भने बताइएको छैन । उनले स्थापना गरेको निक साइमन्स इन्स्टिच्युटले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आइरहेको छ ।

अमेरिकाकै धनी मध्येका एक उनले गणितका क्वान्टम फिल्ड थ्यौरी, स्ट्रिङ थ्यौरी लगायत पत्ता लगाएका थिए। गणितलाई नै प्रयोग गरेर उनले ४० वर्षको उमेरमा लगानी क्षेत्रमा पाइला राखेका थिए। त्यही सुत्रबाट वार्षिक ६६ प्रतिशतसम्म उनको कम्पनीले नाफा हासिल गरेको थियो। उनीसँग हाल ३१ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ।

नेपालमा उनी छोरा निक साइमन्सका कारण आइपुगेका थिए। सन् २००३ मा इन्डोनेसियामा पौडी खेल्ने क्रममा पानीमा डुवेर मृत्यु भएका छोरा निक साइमन्सको चाहना अनुसार उनले नेपालको स्वास्य क्षेत्रमा सहयोग गरेका हुन् । उनका छोरा निक सन् २००२ मा नेपाल घुम्न आएका थिए । त्यसबेला नेपालको र त्यसमा पनि ग्रामिण क्षेत्रको अवस्था देखेर फर्केका निकले निकले आफ्नी आमासँग नेपालमा सेवा गर्ने चाहना रहेको सुनाएका थिए । तर, दुर्भाग्यवस उनको एक वर्ष पछि नै मृत्यु भयो । छोराको मृत्युपछि साइमन्स दम्पत्तीले इन्स्टिच्युट स्थापना गरी नेपालको स्वास्थ्य सेवामा योगदान दिन थालेका हुन् ।

उनका जेठा छोरा पलको सन् १९९६ मा न्युयोर्कमा ट्राफिक दुर्घटनामा मृत्यु भएको थियो भने कान्छा छोरा निकको सन् २००३ मा बालीको समुन्द्र पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । निक मृत्यु हुनुभन्दा केही वर्ष अगाडि नेपाल घुमफिरका लागि आएका थिए । नेपालको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा लिन कठिनाई भोगिरहेको देखेपछि उनले यहीँ आएर सेवा गर्ने योजना बनाए । सन् २००२ मा नेपाल आएका निकले बुबासँग नेपालमा सेवा गर्ने चाहना रहेको सुनाएका थिए ।

उनको मृत्युपछि त्यो सपनालाई पूरा गर्न ‘जिम’ र उनकी अर्थशास्त्री पत्नी मर्लिनले ग्रामीण क्षेत्रका सरकारी अस्पताल सुधारका लागि निक साइमन्स इन्स्टिच्युट स्थापना गर्न नेपाल भ्रमण गरेका थिए । जनस्वास्थ्यविद् तथा निक साइमन्स इन्स्टिच्युटका सदस्य डा. बाबुराम मरासिनीका अनुसार सन् २००५ मा जेम ह्यारिसले स्वास्थ्य मन्त्रालयमा आएर उनले ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवामा सुधार गर्ने योजना सुनाएका थिए ।

तत्कालिन समयमा मन्त्रालयको नीति योजना महाशाखामा कार्यरत रहेका डा. मरासिनीसहित जेम ह्यारिसको टोलीले डेडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, तानसेनको मिसन अस्पताल, सेती प्रादेशिक अस्पताललगायतका केही अस्पतालको भ्रमण गरेका थिए ।

‘त्यस बेला नेपालको स्वास्थ्य मन्त्रालयको कार्यक्रमलाई नै कसरी सहयोग गर्न सकिन्छ भन्ने उनीहरुले योजना बनाएका थिए,’ ती दिन सम्झिँदै डा. मरासिनीले भने, ‘२० वर्ष अगाडि अस्पताल त्यति व्यवस्थित थिएनन्, अस्पतालबाट स्वास्थ्यकर्मीलाई तालिम दिएर स्वास्थ्य सेवा सुदृढ बनाउने काम गरेका थिए ।’

सन् २००५ पछि नेपालको ग्रामीण क्षेत्रमा उनीहरुले महत्वपूर्ण सहयोग पुर्‍याइरहेका छन् । निक साइमन्स इन्स्टिच्युटले सुरक्षित मातृत्व सेवा, स्वास्थ्यकर्मीलाई तालिम, अस्पतालमा उपकरण र बजेट सहयोग गर्दै आएको छ ।

‘धेरै जिल्ला अस्पतालमा एमडीजीपी चिकित्सक, नर्स राख्ने, तालिम दिने, भवन बनाउने, चिकित्सकलाई पढाउने लगायतका थुप्रै काम संस्थाले गरेको छ,’ डा. मरासिनी भन्छन्, ‘नेपालको ग्रामीण स्वास्थ्य को सुधार को लागि महत्वपूर्ण नै छ ।’ हाल दुरदुराजमा सरकारसँगको समवन्यमा निक साइमन्स इन्स्टिच्युटले एमडीजीपी चिकित्सकलगायतका विशेषज्ञ चिकित्सक दुई–तीन वर्ष खटाउने गरेको छ ।

यस्तै विशेषज्ञ चिकित्सकलाई छात्रवृत्तिमा अध्ययन गराएर विशिष्टकृत सेवा विकट ठाँउमा पुर्‍याउँदै आएको छ । निक साइन्मस फाउन्डेसनले पाटन अस्पतालमा ठूलो सहयोग गरेको छ । पाटन अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. युवराज शर्माका अनुसार निक साइन्मस भवन, मेडिकल आइसियूको पुननिर्माण, सानेपामा नर्सिङ होस्टेल भवन फाउन्डेसनले निर्माण गरेको छ ।

डा. शर्माका अनुसार सन् २००५ पछि जेम ह्यारिस प्रत्येक वर्ष नेपाल आउने गरेका थिए । ‘उहाँ प्रत्येक वर्ष आएर पाटन अस्पताललाई पहिलो प्राथमितामा राख्नुहुन्थ्यो । हरेक पटक आउँदा के आवश्यक छ? के सहयोग गर्न सकिन्छ भन्नुहुन्थ्यो,’ डा. शर्माले भने, ‘उहाँको निधनले हामी दुःखित भएका छौं ।’ हाल ताप्लेजुङ, भोजपुर, त्रिशुली, बैतडी, डोटीलगायतका जिल्ला अस्पतालमा निक साइमन्सको कार्यक्रम सञ्चालित छन् ।

चर्चामा

सम्बन्धित समाचार