बुधबार, मंसिर २२, २०७८
  • होमपेज
  • विचार/ब्लग
  • दाईजो प्रथाः इतिहास र वर्तमान

दाईजो प्रथाः इतिहास र वर्तमान

  • आइतवार, चैत्र २४, २०७५
दाईजो प्रथाः इतिहास र वर्तमान

✍️अनितादेवी

अरबी भाषाको शब्द ‘जहेज’ भई हिन्दी र मधेसका अन्य भाषामा ‘दहेज’ शब्द भयो। सोही दहेज शब्द नेपाली भाषामा आइपुग्दा दाइजो भयो। दहेज वा दाइजो हजारौं वर्ष पहिले देखि विश्वभर नै प्रचलित छ।अङ्ग्रेजीमा ‘डओरी’ भनिने यो शब्दको लागि फ्रेन्चमा ‘डट’, स्पानिसमा ‘डोते’ जस्ता शब्दहरूको प्रयोग गरिने गर्छ।

इतिहास पल्टाएर हेर्दा रोम सभ्यता, बेबिलोन सभ्यता , भारत, चीन, युरोप, अमेरिका का जनजाति संस्कृति तथा फ़्रान्स मेक्सिको ब्राजिल लगायतका देशहरूमा पनि दहेज वा दाईजो प्रथा प्रचलनमा रहेको आधारहरू भेटिन्छन्। वर्तमानमा यो प्रथा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, इरान, अरब, तज़िक्स्थान, जस्ता देशहरूमा बढी मात्रामा प्रचलनमा रहेको छ।

दाइजोको प्रचलन बिभिन्न देश र क्षेत्रहरूमा बिभिन्न कालखण्डमा फरक फरक पृष्ठभूमिबाट सुरु भएको इतिहासकारहरूले बताउने गरेका छन्। तर दाइजोको सुरुवात महिलाको हितमा सम्पत्ति माथिको अधिकार संरक्षणको लागि भएको थियो वा तिनिमाथिको भेदभाव रूपमा त्यसमा चाँही कसैको पनि एक मत छैन। अधिकांश सभ्यतामा महिलाहरूलाई आत्मनिर्भर बनाउन र सम्पत्तिमाथिको अधिकार एवं भविष्य सुरक्षित गर्न दाइजोको सुरुवात भएको धेरै जसो विद्वान्‌हरूको तर्क छ।

कतिपय सभ्यतामा राज्यको तर्फबाट नै महिलाको विवाहमा सम्पत्तिको अधिकार सुरक्षित गर्ने गरी दाइजोको कानूनी व्यवसथा नै गरेको समेत इतिहास छ। कतिपय विद्वानहरूका अनुसार सुरुमा महिलालाई आत्मनिर्भर बनाउन व्यवस्था गरिएको दाइजो प्रथा कालान्तरमा विकृत भई महिला हिंसाको कारणको रूपमा परिणत भएको तर्क गर्छन।

भारतीय उपमहादीपको कुरा गर्दा यस क्षेत्रमा दाइजो कहिलेबाट सुरु भएको थियो भन्ने कुरामा कोही पनि एक मत छैन। भारतीय उपमहाद्वीपमा माथिल्लो भनिएका जाति समुदायमा मात्र रहेको दाइजो प्रथा पछि पुरै समाजमा विस्तार भएको हो। विश्वका अन्य भागमा जस्तै भारतीय उपमहाद्वीपमा पनि दाइजोको सुरुवात दुईथरिबाट भएको थियो। पहिलो अपार सम्पत्ति भएका धनाड्य व्यक्ति र राजा रजौटाले आफ्नी छोरीलाई विवाहको समयमा उपहार स्वरूप सम्पति प्रदान गर्ने चलनबाट र अर्को महिलालाई पैतृक सम्पत्तिमाथिको हक कायम गराई आत्मनिर्भर गराउन

दाइजो दिने चलन कसैको करकापले नभई महिलाको परिवारले आफू राजीखुसीले आफ्नो छोरीको लागि भनी छुट्याएर दिने चलन थियो तर कालान्तरमा दाइजोलाई स्तर मिलानको माध्यम बनाएर आफ्नो छोरीलाई यति दिन सक्नेको छोरीसँग मात्र विवाह गर्ने भन्ने प्रवृत्ति बिस्तारै बढेर गयो। साथै बुहारीलाई प्राप्त हुने दाइजो आफ्नो या जसको विवाह हुने हो उसको नाममा लिन थालियो।

समय बित्दै जाँदा दाइजोको नाममा सिधै पैसा वा सम्पत्ति केटा पक्षले माग्ने चलन विकृतिका रूपमा स्थापित हुँदै गयो। छोरीलाई स्वेच्छाले आत्मनिर्भरताका लागि दिने गरिएको दाइजो अब हुनेवाला जुँवाइ र सम्धीले अधिकारपूरक माग्न थाले। त्यति मात्र नभई दाइजो नल्याए महिलालाई उत्पिडन गर्नेसम्मका घटना व्यापक रूपमा बढेर गयो।

अहिले नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका लगायतका देशहरूमा दाइजो प्रथा विकृतिका रूपमा जडा गाडेर बसेको छ। नेपाल र अन्य दक्षिण एसियाका देशहरूमा समेत दाइजो प्रथालाई रोक्न कानुन बनाइएका छन तथापि यसलाई रोक्ने महत्वपूर्ण जिम्मेवारीमा बसेका, पढेलेखेका, समाजसेवी, बुद्दीजिबी, नेताहरू नै दाइजो माग गर्ने र नल्याए श्रीमती र बुहारीमाथि अत्याचार गर्नेमा पर्ने गरेका छन्। जति कानुन बनाइए पनि यो विकृति घट्नुको सट्टा झन झन बढ्दो छ।

दाइजो प्रथाको विकृति एउटा उदाहरण हो कुनै पनि चलन वा संस्कार राम्रै उद्देश्यका साथ सुरु गरिएको भए पनि त्यसलाई सही व्यवस्थापन गर्न नसक्दा समाजमा बिकराल विकृतिको रूप लिन्छ भन्नेमा । दाइजो प्रथाको विकृति उन्मूलनका लागि कानुन मात्र पर्याप्त छैन भन्ने देखिसकिएको छ।

दाइजो प्रथा नियंत्रणको लागि व्यक्ति, परिवार र समाजको सोचमा पनि सकारात्मक परिवर्तन आवश्यक छ। व्यापक जनचेतनाले केही न्यूनिकरण हुन सक्छ यो समस्या र साथै महिला हकमा पैतृक सम्पतिमा पनि समान हक कायम गर्न सकेमा पनि महिलालाई आत्मनिर्भर बनाउन मदत गर्छ जसले गर्दा महिलामाथि हुने हिंसा कमि हुन्छ।

चर्चामा

सम्बन्धित समाचार