• होमपेज
  • अर्थ/वाणिज्य
  • स्याउ जोनमा २३ हजार बिरुवा रोपिए

स्याउ जोनमा २३ हजार बिरुवा रोपिए

  • बिहिबार, चैत्र २१, २०७५
स्याउ जोनमा २३ हजार बिरुवा रोपिए

दार्चुला – स्याउ जोन कार्यक्रमका लागि छनोट भएका जिल्लाका पाँच स्थानीय तहमा झण्डै २३ हजार स्याउका बोट लगाइएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको स्याउ जोन एकाइ कार्यालयका अनुसार कार्यक्रमका लागि छनोट भएका अपी हिमाल, व्यास, दुहुँ, मार्मा र नौगाड गाउँपालिकामा स्याउका बोट लगाइएको हो । कार्यक्रममार्फत १४ हजार स्याउका बिरुवा ५० प्रतिशत अनुदान सहयोगमा कृषिकलाई कार्यालयले वितरण गरेको हो भने नौ हजार बिरुवा व्यक्ति तथा समूहले आफैँ खरीद गरी लगाएका हुन । एकाइका सूचना अधिकारी हरिदत्त जोशीका अनुसार स्याउ जोन कार्यक्रमका लागि छनोट गरिएका ब्याँसमा चार हजार ५००, दुहँुमा ५००, नौगाडमा पाँच हजार ५०, मार्मामा ५५० र अपी हिमालमा तीन हजार बोट वितरण गरिएको छ । यस क्षेत्रका कृषक समूह, संघ संस्थाबाट आएको मागका आधारमा बिरुवा वितरण गरिएको हो ।

यस्तै किसानको मागको आधारमा व्यक्तिगत रूपमा चार हजार बिरुवा अपी हिमाल र पाँच हजार बिरुवा ब्याँसमा वितरण गरिएको छ । सो कार्यालयले जुम्लाबाट रोयल डेलिसियस र गोल्डेन जातका स्याउका बोट ल्याएको जनाएको छ । यस्तै परीक्षणका रूपमा खेती गर्न इटलीबाट ८०० स्याउका बोट मगाइएको छ । गाला र फुजी जातका उक्त उन्नत बोट नेपाल भित्रिसकेको र केही दिनमै जिल्लामा ल्याउने तयारी भएको सूचना अधिकारी जोशीले जानकारी दिए ।

इटलीबाट मगाइएका एउटै बिरुवाको एक हजार २७५ मूल्य पर्ने भएकाले शुरुको वर्ष परीक्षणका रूपमा लगाइने बताइएको छ । उनले भने, ‘महँगो बिरुवा परीक्षणकै लागि मगाइएको छ ।’ जिल्लाको प्रारम्भिक तथ्यांकअनुसार ६१५ महिला र ३ सय ४० पुरुष गरी ९ सय ५५ कृषक स्याउ खेतीमा आबद्ध भएका छन् । जिल्लाभरिका कृषकले सामूहिक र व्यक्तिगत रूपमा ५ सय ५० रोपनी जमीनमा स्याउ खेती गरेका छन् । अहिले जिल्लामा प्रतिहेक्टर ३ सय स्याउका बोट लगाउन सकिने एकाइका निमित्त प्रमुख एवं कृषि अधिकृत विष्णुप्रसाद ओझाले बताए । उनले भने, ‘लामो समयदेखि स्याउ खेती गरेर सफल बन्ने सपना बोक्दै मेहनत गरिरहेका कृषक सरकारले स्याउ जोन कार्यक्रम सञ्चालन गरेपछि झनै हौसिएका छन् ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत जिल्लामा चालू आर्थिक वर्षदेखि स्याउ जोन कार्यक्रम सुरु गरिएको हो । विसं २०८२ सम्म सञ्चालन हुने परियोजनामा सरकारको ७० प्रतिशत लगानी र ३० प्रतिशत लगानी स्थानीयले गर्नुपर्ने योजना छ । जनताको जीवनस्तरमाथि उकास्ने उद्देश्यले सञ्चालित परियोजनाले जिल्लाका हिमाली क्षेत्रका ५ सय हेक्टर जमीन क्षेत्रफलमा स्याउ जोन कार्यक्रम सञ्चालन गर्ने उद्देश्य लिएको छ ।

अहिलेसम्म झण्डै १ सय हेक्टर जमीनमा व्यावसायिक स्याउ खेती गरिएको पाइएको अधिकृत ओझाले बताए । उनले भने, ‘स्याउ जोन कार्यक्रम सञ्चालन भएको गाउँपालिकाभित्रका ४४ वटा सूचीकृत कृषि संघ संस्था सम्पर्कमा आएका छन् ।’ जिल्लामा स्याउ खेती सञ्चालन गर्न भौगोलिक विकटता, यातायातको समस्या, प्राविधिक जनशक्तिको अभाव, जलवायु परिवर्तन, स्याउका उन्नत जातका बिरुवा तथा स्रोतको समस्या, कृषकमा सीपको कमी, बगैंचा व्यवस्थापनको समस्या, अनुदानमा सञ्चालन हुने कार्यक्रमको एकरूपता नहुनु, गुणस्तरीय उत्पादन नहुनु, दैवी प्रकोप तथा जंगली जनावरको समस्या र उत्पादन पछि बजार व्यवस्थापनको समस्या छ ।

जिल्लामा यस वर्ष स्याउ क्षेत्र विस्तार कार्यक्रम, भकारो सुधार कार्यक्रम, सामग्री सहयोग तथा वितरण, साना सिँचाइ निर्माण तथा मर्मतसम्भारलगायतका अनुदानका कार्यक्रम सञ्चालन भइरहेका छन् भने आगामी आर्थिक वर्षको योजना तर्जुमा गर्ने काम भइरहेको कृषि अधिकृत ओझाले बताए । कृषकले स्याउको उत्पादनसँगै व्यावसायीकरण र बजारीकरणका लागि माग गरेका छन् । बिरुवामा विभिन्न प्राविधिक समस्या र रोग किराको प्रकोप देखा परेकाले कार्यालयबाट प्राविधिक सहयोगको आवश्यकता रहेको स्याउ जोन सञ्चालक समितिका अध्यक्ष कपुरसिंह धामीले बताए ।

उत्पादन हुने मौसममा बजारीकरणको समस्या रहेकाले कोल्डस्टोरको व्यवस्थापनका लागि कार्यक्रमले सहयोग गर्नुपर्ने स्याउ उत्पादक व्यास–१ छाङरुका कृषक जितसिंह बोहराले बताए । ‘हामी विगतदेखि व्यावसायिक रूपमा व्यासमा स्याउ उत्पादन गरिरहेका छौँ’, उनले भने ।

चर्चामा

सम्बन्धित समाचार