डेढ वर्षको छँदा आमा गुमाएँ । सानैदेखि मेलापात र घाँसपात गर्नुप-यो । दिदीहरूको विवाह भएपछि लेक–बेँसी गर्दै जीवन गुज्रियो । दुःख बिर्सिन वनपाखामा देउडा गीत गुनगुनाउँथे । त्यही दुःखले गायक बन्ने प्रेरणा मिल्यो । विद्यालयमा कार्यक्रम हुँदा गाउन अगाडि सर्थें । एकपटक २७ वटा समूहलाई उछिनेर हाम्रो समूह प्रथम भयो । त्यसपछि गाउने हौसला अझ बढ्यो ।
साथीभाइको सहयोगमा ०७० सालमा बाजुराबाट काठमाडौं आएँ । यहाँ आएर दोहोरी साँझ रेस्टुराँमा काम पाएँ । यहाँ आएपछि नै गीति एल्बम निकाल्न सकेँ । दसैँ, तिजलगायत चाडपर्वका गीतहरू गाएको छु । म लोकगीत बढी गाउँछु ।
गण्डकी र धौलागिरिको आञ्चलिकता झल्किने लोकदोहोरी गाएको छु । त्यससँगै देउडा पनि गाउँछु । देउडा त मेरो आफ्नै भाका पनि हो । त्यसबाहेक पुर्बेली गीत पनि गाउने गरेको छु ।