बुधबार, जेष्ठ २०, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • बाजुरामा ६ वर्षीय बालकको सफल आपतकालीन एपेन्डिक्स शल्यक्रिया

बाजुरामा ६ वर्षीय बालकको सफल आपतकालीन एपेन्डिक्स शल्यक्रिया

  • शनिबार, जेष्ठ ९, २०८३
सेयर गर्नुहोस् :
बाजुरामा ६ वर्षीय बालकको सफल आपतकालीन एपेन्डिक्स शल्यक्रिया

बाजुरा–जिल्ला अस्पताल बाजुरामा ६ वर्षीय बालकको सफल आपतकालीन एपेन्डिक्स शल्यक्रिया गरिएको छ । जिल्लाको बडीमालिका नगरपालिका ९ बस्ने ६ बर्षीय बालक रिदम नेपालीको सफल आपतकालीन एपेन्डिक्स शल्यक्रिया गरिएको हो ।

जिल्ला अस्पतालमा कार्यरत एमडीजीपी डाक्टर आशिष कार्की सहितको टोलीले निकै जटिल खालको सफल शल्यक्रिया गरेका हुन् ।

केही दिनअघि ती बालक पेटको दायाँ तल्लो भागमा तीव्र दुखाइ, वाकवाकी तथा बान्ताको समस्या लिएर अस्पताल आएका थिए । क्लिनिकल परीक्षण तथा अल्ट्रासाउन्ड पछि बिरामीमा “फेकोलिथ सहितको तीव्र एपेन्डिसाइटिस” पुष्टि भएको थियो । यस्तो अवस्थामा २४ घण्टाभित्र अर्थात समयमै शल्यक्रिया नगरिए एपेन्डिक्स फुट्ने, पेटभरि संक्रमण फैलिने, सेप्सिस हुने तथा ज्यानसमेत जोखिममा पर्ने सम्भावना रहने एमडीजीपी डाक्टर आषिस कार्कीले बताए । दुर्गममा पनि सीमित स्रोतसाधन तथा थुप्रै चुनौतीपूर्ण परिस्थितिका बीच बिरामीको आपतकालीन ओपन एपेन्डेक्टोमी स्पाइनल एनेस्थेसियामार्फत सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको उनले बताए । शल्यक्रियाका क्रममा सुन्निएको एपेन्डिक्सभित्र फेकोलिथ भेटिएको उनले बताए ।

बाजुरा जस्ता दुर्गम जिल्लामा आपतकालीन शल्यक्रिया सेवा सञ्चालन गर्नु अत्यन्त चुनौतीपूर्ण छ । विशेषज्ञ जनशक्तिको अभाव, सीमित एनेस्थेसिया सेवा, आधुनिक उपकरणको कमी, रक्तसञ्चार व्यवस्थापन, यातायात कठिनाइ, ढिलो अस्पताल आउने बिरामी तथा आर्थिक समस्याले उपचारलाई अझ जटिल बनाउने गर्दछ ।

जिल्ला अस्पताल बाजुराले पछिल्लो समय थुप्रै समस्या र सीमित स्रोत साधनका बीच पनि यस्ता खाले शल्यक्रिया पनि सफल रुपमा सम्पन्न गरिरहेको छ । यस्ता कठिन परिस्थितिका बाबजुद पनि ग्रामीण क्षेत्रमा कार्यरत विशेषज्ञ डाक्टर सहित स्वास्थ्यकर्मीहरूले निरन्तर सेवा दिँदै जीवनरक्षक उपचार गरिरहेका छन्। यो सफल शल्यक्रियाले दुर्गम क्षेत्रमा पनि समयमै उचित उपचार सम्भव रहेको सन्देश दिएको छ। चिकित्सकहरूले विशेषगरी बालबालिकामा पेट दुख्ने, बान्ता हुने तथा पेटको दायाँ तल्लो भागमा दुखाइ हुने लक्षणलाई बेवास्ता नगर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन्। समयमा उपचार नभए एपेन्डिक्स फुट्ने, पेटभित्र पूस जम्ने, सेप्टिक शोक हुने तथा लामो समय अस्पताल बस्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ ।

त्यस्तै जिल्ला अस्पतालमा केही हप्ताअघि एक बिरामीको (रिभर्स सुरल फ्ल्याप) शल्यक्रिया गरिएको ठाउँमा गम्भीर संक्रमण भई इम्प्लान्ट समेत बाहिर देखिएकोमा सफल शल्यक्रिया गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार