• होमपेज
  • त्रिवेणी
  • बाजुराको बुढीगंगा नदीमा ६ वर्षदेखि पुल निर्माण कार्य अलपत्र

बाजुराको बुढीगंगा नदीमा ६ वर्षदेखि पुल निर्माण कार्य अलपत्र

  • सोमवार, असार ८, २०८३
सेयर गर्नुहोस् :
बाजुराको बुढीगंगा नदीमा ६ वर्षदेखि पुल निर्माण कार्य अलपत्र

बाजुरा–बाजुराको बुढीगंगा नदीमा निर्माण हुन लागेको मोटरेवल पुल ६ वर्ष देखि निर्माण कार्य अलपत्र रहेको छ । बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिका जोड्ने ‘मौरे पुल’ निर्माण सम्झौता भएको ६ वर्ष पुग्न लाग्दा पनि अलपत्र अवस्थामा रहेको त्रिवेणी नगरपालिका स्थानीय कविराज गिरीले बताएका छन् ।

महाकाली पुल योजना महेन्द्रनगर कञ्चनपुरले २२ करोड ६ लाख ५२४ रुपैयाँ लागत निर्माण हुने भनिएको पुलको अहिले ठेक्का रद्द भइसकेको छ । कार्यालयले निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । पुल निर्माण विवाद सर्वोच्च अदालतसम्म पुगेपछि अन्योलको चक्रमा फसेको छ ।

महाकाली पुल योजनाले २०७८ असोज २९ गते बुढीगंगा नदीमाथि १ सय १० मिटर लामो दुई स्पानको पीएससी बक्स गर्डर पुल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । २०७८ मंसिर १० गते काठमाडौंस्थित बिकोई बिल्डर्स प्रालिसँग निर्माण सम्झौता भएको थियो । कम्पनीले १६ करोड २१ लाख ७८ हजार ६० रुपैयाँमा ठेक्का लिएको महाकाली पुल योजनाका सूचना अधिकारी इन्जिनियर रवि शाहले बताएका छन् ।

सम्झौता अनुसार निर्माण कार्य २०८१ फागुन १० गतेभित्र सम्पन्न गरी सक्नुपर्ने थियो । तर निर्धारित समय सकिँदा पुल निर्माण सम्पन्न हुनु त परको कुरा, कामको सुरुवात समेत नभएको त्रिवेणी नगरपालिका नगर प्रमुख कर्ण बहादुर थापाले बताएका छन् । कम्पनीले डिजाइन स्वीकृत गराएर पेश्की बापत एक करोड रुपैयाँभन्दा बढी पेश्की रकम लगेको थियो । तर कामको नाममा केही पनि सुरुवात समेत भएको छैन् । निर्माणस्थल वर्षौंदेखि उस्तै अवस्थामा रहेको छ ।

निर्माण कम्पनीले पेश्की रकम लिएर पनि काम अघि नबढाएपछि महाकाली पुल योजनाले उक्त रकम जमानत माफतको रकम जफत गरिसकेको कार्यालयले जनाएको छ । निर्माण कार्यमा कुनै प्रगति नदेखिएपछि महाकाली पुल योजनाले २०८२ असार १९ गते ठेक्का सम्झौता रद्द गरेको थियो । कार्यलयले २०८२ माघ ४ गते निर्माण कम्पनीलाई कालोसूचीमा राखेको थियो । महाकाली पुल योजनाले निर्माण सम्पन्न नहुनुको मुख्य कारण निर्माण व्यवसायीको ढिलासुस्ती रहेको निष्कर्ष निकालिएको छ । तर ठेक्का रद्द र कालोसूचीमा राख्ने निर्णयपछि पनि नयाँ सुरुवातको काम पनि हुन सकेको छैन् ।

निर्माण कम्पनीले कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । अहिले सो मुद्दा विचाराधीन रहेकाले नयाँ ठेक्का प्रक्रिया अगाडि बढाउन नसकिएको महाकाली पुल योजनाले जनाएको छ । अदालतबाट अन्तिम फैसला नआएसम्म नयाँ निर्माण प्रक्रिया सुरु गर्न नसकिने अवस्था रहेको छ, त्यसैले पुल निर्माण कार्य अन्योलमा रहेको सुचना अधिकारी इन्जिनियर रवि शाहले बताए ।

बुढीगंगामा निर्माण हुने मौरे पुल केवल बुढीगंगा र त्रिवेणी नगरपालिका जोड्ने भौतिक संरचना मात्र नभई, बडिमालिका क्षेत्रको प्रमुख प्रवेशद्वारका रूपमा रहेको अत्यन्त महत्वपूर्ण पूर्वाधार हो । यो पुल निर्माण सम्पन्न भएमा बडिमालिका जान समेत सहज हुने रहेको छ । पुल निर्माण नहुँदा बर्षातको चार महिना त्रिवेणी नगरपालिका सडक सञ्जाल बाट छुट्ने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार