बुधबार, जेष्ठ २७, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • रानीसैन घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गर्न माग

रानीसैन घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गर्न माग

  • बुधबार, जेष्ठ २७, २०८३
सेयर गर्नुहोस् :
रानीसैन घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गर्न माग

बाजुरा–बाजुराको रानीसैन लाम्पाटामा भएको कुटपिट, आगजनी तथा दुर्व्यवहार घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गर्न माग गरिएको छ । पीडितहरुले बुधवार सदरमुकाम मार्तडीमा विरोध प्रदर्शन गर्दै यहीँ जेठ ३ र ५ गते हिमाली गाउँपालिका–३ लाम्पटामा भएको आक्रमण गरेको घटनामा संलग्न दोषिहरुलाई पक्राउ गर्न अल्टिमेटम दिएका हुन् ।

घटनामा संलग्न २३ जनाका विरुद्ध मुद्धा दर्ता भएर पक्राउ पुर्जी जारी भएको हप्तादिन बितिसक्दा पनि पक्राउ नगरिएको विषयमा आक्रोश पोख्दै तत्काल पक्राउ गर्न माग गरेका छन् । बुधवार दिउँसो सदरमुकाम मार्तडी बजार बन्द गरेर विरोध प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा धर्ना र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई ज्ञापन पत्र बुझाउँदै अन्तिम चेतावनी दिएका छन् ।

रानीसैन संघर्ष समितिले हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल, वडा नम्बर २ का अध्यक्ष चन्द्र रावल तथा थलावन उपभोक्ता समूहका अध्यक्ष देवराज रावलसहितका व्यक्तिहरूको निर्देशनमा हिमाली गाउँपालिका–३ का वडा सदस्य पेमा गाराप गुरुङसहित स्थानीयवासीमाथि ज्यान जोखिममा पार्ने गरी कुटपिट तथा बन्धक बनाउने कार्य भएको आरोप लगाएको छ । त्यसपछि घटनास्थलमा पुगेका हिमाली गाउँपालिका–३ का वडा अध्यक्ष मंगलबहादुर बुढा, स्थानीयवासी तथा सुरक्षाकर्मीको उपस्थितिमा बन्धक बनाइएका व्यक्तिहरूलाई उद्धार गर्ने क्रममा पुनः लाठी, ढुंगा तथा घरेलु हतियार प्रयोग गरी सामूहिक आक्रमण गरिएको ज्ञापनपत्रमा उल्लेख छ। यस्तै ज्ञापनपत्रमा हिमालीका अध्यक्ष गोविन्दबहादुर मल्ल तथा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपी हमालसहितको टोली घटनास्थलतर्फ जाँदा बाटो अवरुद्ध गरी घटनास्थल पुग्न नदिने प्रयास भएको र टोलीमाथि समेत आक्रमणको गरिएको उल्लेख गरिएको छ ।

समितिले कुटपिट तथा आक्रमण घटनापछि रानीसैन क्षेत्रमा बसोबास गर्दै आएका भोटे समुदायमाथि दुर्व्यवहार, भेडीगोठमा आगजनीे, सरसामान तोडफोड तथा लुटपाट गरिएको र दर्जनौ परिवार विस्थापित भएको बताएको छ । यस्ता घटनाले शान्ति सुरक्षा, नागरिकको जिउधनको सुरक्षा, कानुनी शासन तथा मानव अधिकारमाथि गम्भीर चुनौती खडा गरेको भन्दै निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिलाउन प्रशासनसँग आग्रह गरेका छन् ।

त्यस्तै ज्ञानपत्रमा तत्काल सम्पूर्ण दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, लाम्पाटा–च्याँचौर क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको स्थायी सुरक्षा पोष्ट स्थापना, विस्थापित परिवारलाई सुरक्षित रूपमा पुनःस्थापना गरी लुटपाट तथा तोडफोडबाट भएको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गरी उपचार खर्च तथा कानुनी क्षतिपूर्ति दोषी पक्षबाट असुल गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयको समन्वयमा नापी कार्यालय, वन कार्यालय, भूमि प्रशासन कार्यालयलगायत सम्बन्धित निकायबाट लाम्पाटा, च्याँचौर र रानीसैन क्षेत्रको वास्तविक सिमाङ्कन सम्बन्धी तथ्य, नक्सा तथा प्रमाण सार्वजनिक गर्न पनि माग गरेका छन् ।

संघर्ष समितिले मागहरू तत्काल सम्बोधन नभए आजै देखि कर्णाली करिडोर सडकखण्ड अनिश्चितकालीन बन्द गर्ने चेतावनी समेत दिएको छ।

यता, त्यस विषयमा बुधवार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले रानीसैन घटनामा संलग्न व्यक्तिहरूलाई तुरुन्तै पक्राउ गर्न संघीय सरकारलाई अनुरोध गर्ने तथा घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न हुम्ला प्रशासनलाई गम्भीर भएर कार्य गर्न अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकमा पक्राउ पुर्जी लिएर पक्राउ नगरिएका व्यक्तिहरूलाई यथाशीघ्र पक्राउ नगरी राजमार्ग अवरोध लगायतका विरोध कार्यक्रम संचालन गर्न बाध्य हुने ब्यहोराको जानकारी राजनीतिक दल जनप्रतिनिधि तथा घटना सम्बन्धी अन्य प्रतिनिधिहरूद्वारा सुरक्षा निकायहरूलाई जानकारी गराएको छ ।

चर्चामा

सम्बन्धित समाचार