
बाजुरा– बाजुराका चार स्थानीय तहमा पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। शिक्षा, युवा तथा खेलकुद शाखा र पीसविन नेपालको संयुक्त आयोजनामा तथा प्लान इन्टरनेशनल नेपालको सहकार्यमा सञ्चालित आभा परियोजनाअन्तर्गत प्रतियोगिता सञ्चालन गरिएको हो।
आभा परियोजनाका ४० लक्षित विद्यालयमध्ये ३९ विद्यालय तथा अन्य ३ विद्यालय गरी कुल ४२ विद्यालयको सहभागितामा प्रतियोगिता आयोजना गरिएको थियो। बडीमालिका नगरपालिकाको मार्तडीमा १४ विद्यालय, त्रिवेणी नगरपालिकाको तोलीमा १० विद्यालय, बुढीगंगा नगरपालिकाको नौविसमा १० विद्यालय तथा गौमुल गाउँपालिकाको घटमुनामा ८ विद्यालय सहभागी भएका थिए।
प्रत्येक विद्यालयबाट २ छात्र र २ छात्रा गरी ४ जना विद्यार्थी सहभागी गराइएको थियो। यसरी कुल ४२ विद्यालयका १६८ जना विद्यार्थी प्रतियोगितामा सहभागी भएका थिए। पीसविन नेपालका परियोजना संयोजक पदम कठायतका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य बालबालिकामा यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (एसआरएचआर), बालअधिकार र बाल संरक्षण संयन्त्र सम्बन्धी ज्ञान अभिवृद्धि गर्नु रहेको थियो।
बडीमालिका नगरपालिकामा आयोजित प्रतियोगितामा शिक्षा अधिकृत रामबहादुर कटुवालको अध्यक्षता रहेको थियो। कार्यक्रममा नगर प्रमुख अमरबहादुर खड्का प्रमुख अतिथि तथा नगर उपप्रमुख नन्दा र प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशी थापा विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
त्यसैगरी त्रिवेणी नगरपालिकामा शिक्षा अधिकृत गणेशबहादुर साउँदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख कर्णबहादुर थापा प्रमुख अतिथि, नगर उपप्रमुख कमला कुमारी जैशी न्यौपाने विशिष्ट अतिथि तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत धर्मबहादुर खडायत अतिथिका रूपमा सहभागी भएका थिए। बुढीगंगा नगरपालिकामा आयोजित कार्यक्रममा नगर उपप्रमुख माया खड्का कुँवरको अध्यक्षता रहेको थियो भने नगर प्रमुख रामबहादुर बानियाँ प्रमुख अतिथि र प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारी विशिष्ट अतिथि रहेका थिए।
प्रतियोगिताको नतिजाअनुसार त्रिवेणी नगरपालिकातर्फ तोली देवलडाँडा माध्यमिक विद्यालय प्रथम, मष्टेश्वरी माध्यमिक विद्यालय द्वितीय र त्रिभुवनेश्वरी माध्यमिक विद्यालय तृतीय भएका छन्। बडीमालिका नगरपालिकामा ज्ञानोदय माध्यमिक विद्यालय प्रथम, मालिका माध्यमिक विद्यालय द्वितीय तथा जाल्पा माध्यमिक विद्यालय तृतीय स्थान हासिल गर्न सफल भए।
यस्तै बुढीगंगा नगरपालिकामा दुधिर आधारभूत विद्यालय प्रथम, थुमा माध्यमिक विद्यालय द्वितीय र शारदा माध्यमिक विद्यालय तृतीय बने। गौमुल गाउँपालिकातर्फ फूलपाटा माध्यमिक विद्यालय प्रथम, कीर्तिचौर माध्यमिक विद्यालय द्वितीय तथा बालविकास माध्यमिक विद्यालय तृतीय स्थान प्राप्त गर्न सफल भएका छन्।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई ४ हजार रुपैयाँ, द्वितीय हुने विद्यालयलाई ३ हजार रुपैयाँ र तृतीय हुने विद्यालयलाई २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। साथै सहभागी सबै १६८ जना विद्यार्थीलाई एक दर्जन कापी र एक दर्जन पेन वितरण गरिएको थियो।
कार्यक्रमका प्रमुख तथा विशिष्ट अतिथिहरूले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास र नेतृत्व क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने भन्दै कार्यक्रमको प्रशंसा गरेका थिए।


