
बाजुरा–आज १२ औं अन्तर्राष्ट्रिय योग दिवस बाजुरामा पनि मनाइएको छ । “स्वस्थ वृद्धाअवस्थाका लागि योग” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराको आयोजनामा आइतबार बिहान सदरमुकाम मार्तडीस्थित कर्भड हलमा योग दिवस मनाइएको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न योगासनहरु प्रस्तुत समेत गर्नुका साथैं योग आसन धारण प्रतियोगिता सञ्चालन गरिएको थियो । यस्तै कार्यक्रममा योग प्रशिक्षक बिरेन्द्र दानीले सहभागीहरुलाई योग अभ्याससहित प्रशिक्षण गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का प्रमुख अतिथि रहेका थिए । यस्तै कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर कृष्टिना बेल्वासे, प्रहरी प्रमुख डिएसपी शैलेश्वरी बोहरा, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ का दिन मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ जुन २१ देखि योग दिवस मनाउन थालिएको हो । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज देशभर योग कार्यक्रम सञ्चालन गरिएको छ ।
अस्थिर मनलाई स्थिर बनाउने कार्य नै योग हो । अज्ञानताबाट ज्ञानतर्फ, अचेतनाबाट चेतनातर्फ, दुर्बलताबाट सबलतातर्फ र सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रा नै योग हो । नियमित रूपमा योग साधना गर्नाले सबै नसर्ने रोगलाई नियन्त्रण र व्यवस्थापन गर्न सकिन्छ । दैनिक ३० मिनेट मात्रै योग गर्दा पनि शरीरमा ताजगी आउँछ र तौल नियन्त्रण गर्न सहयोग पुग्छ ।
बाजुरामा अन्तर्राष्ट्रिय योग दिवसमा योग अभ्यासका केही तस्बिरहरू हेर्नुहोस् :















