मङ्लबार, जेष्ठ २६, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • रानीसैन विवादः रानीसैनबाट भोटे समुदायलाई धपाइयो, गोठ र पालमा आगजनी

रानीसैन विवादः रानीसैनबाट भोटे समुदायलाई धपाइयो, गोठ र पालमा आगजनी

  • मङ्लबार, जेष्ठ २६, २०८३
सेयर गर्नुहोस् :
रानीसैन विवादः रानीसैनबाट भोटे समुदायलाई धपाइयो, गोठ र पालमा आगजनी

बाजुरा– हुम्ला क्षेत्रका बासिन्दाले बाजुराको हिमाली गाउँपालिका–३ स्थित रानीसैन क्षेत्रबाट भोटे समुदायलाई धपाउनुका साथै गोठमा आगजनी गरेको पाइएको छ । रानीसैन नजिकै लाम्पाटा क्षेत्रमा दुई हप्ता अगाडि भएको कुटपिट तथा दुर्व्यवहारकाे घटना साम्य नहुँदै पुनः रानीसैन क्षेत्रमा तनाव बढेको छ । स्थानीय भोटे समुदायका अनुसार पछिल्लो घटनामा हुम्ला पक्षबाट आएका व्यक्तिहरूले रानीसैन क्षेत्रमा अस्थायी रुपमा भेडा चराउन बसोबास गर्दै आएका बाजुराका भोटे समुदायलाई लखेट्नुका साथै उनीहरूका भेडीगोठ आगजनी गरेका छन् ।

भोटे जनजाति महासंघ केन्द्रिय अध्यक्ष जनक भण्डारीका अनुसार रानिसैनमा भोटे समुदायले प्रयोग गर्दै आएका मोबाइल फोनसमेत खोसेर लगिदिने गरेको बताए । जनजाति समुदायका ३५ बढी परिवार रानिसैनमा परिवार र भेडा, घोडा सहित लगेर पुगेका थिए । हुम्लाबाट आएका स्थानियले यो हुम्लाको क्षेत्र भन्दै उनीहरुलाई त्यो ठाउँबाट धपाएका छन् । उनीहरुलाई रानिसैन तालबाट आएको खोला भन्दा पारि धपाएका छन् ।

उनीहरुलाई रानिसैनबाट लखटनुका साथै भेडीगोठमा आगजनी समेत गरेका छन् । अस्थायी रुपमा बसोबासका लागि प्रयोग गर्दै आएका अस्थायी बासस्थान जलाउनुका साथै अमानविय व्यवहार गर्ने गरेर ठाउँ छोडन लगाएको स्थानियले बताएका छन् । भेडीखर्कमा लगिएको खानेकुरा तथा भाँडाकुडा समेत जलेर नष्ट गरि दिएको भोटे जनजाति महासंघले जनाएको छ । सामाजिक सञ्जालमा आएका भिडियो भेडिगोठ जलाएको प्रष्ट देखिन्छ । रानीसैन पुगेको हुम्ला प्रहरीको अगाडि हुम्लाका एक स्थानियले रानीसैन हुम्लाको रहेको बाजुराका जनजातिलाई यहाँबाट धपाएको भनेको भिडियो समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

जेठ ५ गते रानीसैन क्षेत्रमा पर्यटन प्रवर्द्धन तथा प्रचारका लागि पुगेको टोलीमाथि कुटपिट तथा दुर्व्यवहार भएको घटना सार्वजनिक भएको थियो । उक्त घटनामा कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल सहितको टोलीमाथि आक्रमण गरिएको थियो । घटनामा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा, वडा नम्बर ३ का वडा सदस्य पेमागारा गुरुङलगायत केही स्थानीय तथा सुरक्षाकर्मी घाइते भएका थिए । जेठ ३ गते हुम्ला बाट आएका स्थानियले लाम्पाटा गाउँ पुगेर वडा सदस्य पेमागारा गुरुङ लगायत स्थानियलाइ कुटपिट गरेर बन्दक बनाएको थियो ।

पछिल्लो घटनाले रानीसैन क्षेत्रको विवाद झन् जटिल बन्दै गएको स्थानीयको भनाइ छ । भोटे समुदायका व्यक्तिहरूले आफूहरू असुरक्षित बनेको गुनासो गर्दै तत्काल सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् । स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी आगजनी, कुटपिट तथा लुटपाटमा संलग्नलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् । साथै, अन्तरजिल्ला सीमा तथा स्वामित्वसँग जोडिएका विवादलाई वार्ता र समन्वयमार्फत समाधान गर्न सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा संघीय सरकारको ध्यानाकर्षण गराएका छन ।

पछिल्लो समयमा भएको रानिसैन घटनाबारे जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला प्रहरी कार्यालय बाजुरा तथा सम्बन्धित निकायको आधिकारिक धारणा आउन बाँकी रहेको छ । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार प्रहरीको टोली आज रानीसैन पुग्ने र घटना के रहेछ भन्ने आधिकारी हुने बताएका छन । बाजुरा प्रहरी प्रमुख शैलेश्वरी बोहोराका अनुसार प्रहरी निरिक्षक लक्षिराज जोशीको नेतृत्वमा रानिसैनमा प्रहरी पठाइसकेको बताईन् । टोलि रानिसैन पुगिसकेको हुन सक्ने तर त्यहाँ सम्पर्क हुन नसकेको बोहोराले बताइन् । हुम्लाबाट पनि प्रहरीको टोली केही दिन पहिला पुगेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार