
बाजुरा–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाजुराको प्रथम जिल्ला अधिवेशन उद्घाटन गरिएको छ । आइतबार सदरमुकाम मार्तडीस्थित खुलामञ्जमा पार्टी केन्द्रीय सदस्य खेमराज साउँद, सांसद सुनिता चौधरीसहित केन्द्रीय तथा जिल्ला तहका नेताहरुले सामूहिक घण्टी बजाएर उद्घाटन गरेका हुन् ।
प्रथम ऐतिहासिक जिल्ला अधिवेशनमा जिल्लाभरबाट आएका प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेकाे थियाे । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेताहरुले प्रथम अधिवेशनलाई जिल्लामा पार्टीको संगठन विस्तार तथा जनताका समस्या समाधान र विकास निर्माणका गतिविधिमा सक्रिय बन्दै पद मात्रै नभई महत्वपूर्ण जिम्मेवारीका रुपमा ग्रहण गर्न आग्रह गरेका छन् । पार्टीको प्रथम जिल्ला अधिवेशन उद्घाटन समापन पश्चात् बन्द सत्रबाट नयाँ नेतृत्व चयन हुने बताइएको छ । एक नेताका अनुसार अधिवेशनबाट जिल्ला सभापतिमा पुनः नवराज जैशी नै दोहोरिने देखिएको छ ।
रास्वपा जिल्ला समिति सभापति नवराज जैशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य खेमराज साउँद रहेका थिए । यस्तै कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुनिता चौधरी, नेता हेमराज थापा, राजबहादुर गिरी, नेपाली कांग्रेस बाजुराका उपसभापति पदम बडुवाल, नेकपाका नेता पुर रावत लगायतको उपस्थिति रहेको थियो ।


