
बाजुरा–माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा बाजुराको खप्तड छेडेदह गाउँपालिकाले विगतका वर्षहरुको तुलनामा सुधार गरेको पाइएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार पालिकाका करिब ३३ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रेम साउँदकाअनुसार २०८२ सालको एसईईमा सहभागी १० वटा माध्यमिक विद्यालयबाट सहभागी विद्यार्थीहरु मध्ये ३२ दशमलव ९८ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । एसईईमा सहभागी कुल २८५ जना विद्यार्थीमा ९४ जना उत्तीर्ण भएका छन् भने १९१ विद्यार्थी नन ग्रेडेडमा परेको उनले बताए ।
यस्तै एसईईमा सहभागी दुई वटा विद्यालय निल भएका छन् । गाउँपालिकाको वडा नम्बर २ माटेसाँघुस्थित देवस्थाली मावि र वडा नम्बर ६ को जाल्पादेवि मावि निल भएका हुन् । देवस्थलीबाट ६ जना र जाल्पादेविबाट ५ जना विद्यार्थी सहभागी भएकोमा कोही पनि उत्तीर्ण नभएको गाउँपालिकाले जानकारी दिएको छ ।
त्यस्तै गत बर्ष निल भएको वडा नम्बर २ स्थित मालिका माविमा यस बर्ष सहभागी २५ जनामध्ये ११ जना उत्तीर्ण भएका छन् । यस्तै अन्य विद्यालयको तुलनामा दशरथ माविमा सन्तोषजनक नतिजा देखिएको छ । साधारणतर्फ एसईईमा सहभागी २३ जनामा ९ जना र प्राविधिक धारतर्फ ३४ जनामा २२ जना उत्तीर्ण भएका छन् । यस्तै मष्टेश्वरी माविमा ८४ जनामा २८, खापरदेवस्थली माविमा ५० जनामा ५, काँडा भवानी माविमा १७ जनामा ६ जना उत्तीर्ण भएका छन् । त्यस्तै सरस्वती माविमा १६ जनामा १ र भवानी माविमा २५ जनामध्ये १२ जना उत्तीर्ण भएका छन् । गाउँपालिकाकाअनुसार विभिन्न विद्यालयबाट एसईईमा सहभागी भएका ग्रेडवृद्धि तर्फका २४ जना विद्यार्थी उत्तीर्ण भएको जनाएको छ ।
यस्तै शैक्षिक सत्र २०८१ मा नियमिततर्फ पालिकाभर ९ प्रतिशत विद्यार्थीहरु मात्रै उत्तीर्ण भएकोमा २०८२ मा वृद्धि भएर झण्डै ३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।


