
बाजुरा—बाजुरा जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बडीमालिका नगरपालिकाले जितेको छ । विभिन्न विधामा गराइएको प्रतिस्पर्धामा बडीमालिकाले २० स्वर्ण, २० रजत र ११ कास्यसहित ५१ पदक प्राप्त गर्दै उपाधि हात पारेको हो ।
गत बर्ष बुढीगंगामा सञ्चालन भएको १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पनि बडीमालिकाले हात पार्न सफल भएको थियो ।
यस्तै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा बुढीनन्दा नगरपालिका १८ स्वर्ण, १२ रजत र १७ कास्यसहित जम्मा ४७ पदक प्राप्त गर्दै द्धितीय भएको छ । यसैगरी खप्तड छेडेदह गाउँपालिका १५ स्वर्ण, १८ रजत र १७ कास्यसहित ५० पदक प्राप्त गर्दै तृतीय स्थान ओगट्न सफल भएको छ ।
बुढीगंगा नगरपालिकाले ९ स्वर्ण, ७ रजत र ७ कास्य, गौमुल गाउँपालिकाले २ स्वर्ण, ५ रजत र १४ कास्य, स्वामीकार्तिक खापरले २ स्वर्ण, ५ रजत र ५ कास्य, जगन्नाथले २ स्वर्ण, ३ कास्य र हिमालीले ३ कास्य प्राप्त गरेको छ ।
त्यस्तै जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्डमा त्रिवेणी नगरपालिका भने सहभागी भएको थिएन् । नगरपालिकाका खेलकुद संयोजक खडक ऐडीको मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि त्रिवेणी सहभागी नभएको आयोजक जिल्ला खेलकुद समितिले जनाएको छ ।
प्रतियोगितामा विजेता र उपविजेता पालिकाका टिम र सहभागी खेलाडीहरु तथा प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । यहीँ वैशाख ८ गतेदेखि सदरमुकाम मार्तडीस्थित मालिका माध्यमिक विद्यालयमा सञ्चालन भएको जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।


