
बाजुरा–बाजुरामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका युवकको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका ७ कोसेडी निवासी आन्दाजी ३४ बर्षका खडक ऐडीको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका ऐडीको आज अर्थात सोमबार दिउँसो साढे ४ बजे धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यहीँ वैशाख ४ गते शुक्रबार साँझ सदरमुकामबाट बाम्कातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ब २३६९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । मोटरसाइकल मृतक ऐडी आफैले चलाएका थिए ।
दुर्घटनापछि मोटरसाइकल सडकमै पल्टिएको थियो भने चालक ऐडी सडकबाट करिब २० मिटर तल खसेर गम्भीर घाइते भएका थिए। घटना लगत्तै प्रहरी टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालमा लगिएको थियो तर अस्पतालले धनगढी रिफर गरेको थियो । चार दिनसम्म बेहोस अवस्थामा रहेका ऐडीको उपचारकै क्रममा मृत्यु भएपछि उनका परिवार तथा आफन्तजनहरु शोकमा डुबेका छन् ।


