
बाजुरा—बाजुराको हिमाली गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा अगाडि देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाका ९ वटा स्थानीय तहमध्ये सन्ताेषजनक अंकसहित हिमाली शीर्ष स्थानमा देखिएको हो ।
आयोगको कार्यसम्पादन मूल्यांकन नतिजामा हिमाली सबैभन्दा बढी ६५.६९ अंकसहित अगाडि छ भने बडीमालिका नगरपालिका सबैभन्दा कम ४८.०९ अंकले पुछारमा रहेको छ ।
त्यस्तै गौमुल गाउँपालिकाले ६४.३३, बुढीगंगा नगरपालिकाले ५९.५१, त्रिवेणी नगरपालिकाले ५६.८६ अंक प्राप्त गरेको छ । यस्तै स्वामीकार्तिक खापर गाउँपालिकाले ५५.८१, खप्तड छेडेदह गाउँपालिकाले ५५.५२, जगन्नाथ गाउँपालिकाले ५३.४३ र बुढीनन्दा नगरपालिकाले ४८.८४ अंक प्राप्त गरेको छ ।
आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको उल्लेख छ ।
यसैगरी आव २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको समेत मूल्यांकनको सूचक मानिएको छ ।
आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलाई समेत सूचक मानिएको छ ।
यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षा नतिजा, खोप लगाएका बालबालिका अनुपात समेत आयोगले मूल्यांकनका आधार मान्ने गरेको छ ।
