
बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिकामा २८ औं भूकम्प सुरक्षा दिवस सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । शुक्रवार “सबै तहका सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी” भन्ने मूलनाराका साथ दिवस मनाइएको हो ।
गाउँपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाइटी बाजुरा जिल्ला शाखाद्धारा सञ्चालित सुरक्षित नेपाल परियोजनाको समन्वय तथा सहयोगमा भूकम्प सुरक्षा दिवस मनाइएको परियोजनाका विपद् जोखिम न्यूनीकरण अधिकृत रविन ढकालले जानकारी दिए । गाउँपालिकाले सामुदायिक विपद् व्यवस्थापन समितिको अन्तर समिति सिकाई आदानप्रदान कार्यक्रममा प्रतिबद्धता गरे बमोजिमका गतिविधिहरु कार्यान्वयन गर्न सचेतनामूलक कार्यक्रम गरेको उनले बताए । त्यस्तै उक्त दिवसको अवसरमा परियोजना क्षेत्र बाहिर गठन गरिएका गल्लेखि मष्टा, वह्रम र घटालेश्वरी सामुदायिक विपद् व्यवस्थापन समितिहरुद्धारा विभिन्न विद्यालयमा सचेतनामूलक कार्यक्रम गरिएको जनाएको छ ।
भूकम्प सुरक्षा दिवसमा भूकम्प सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको छ । जसमा भूकम्प आउनु भन्दा पहिलेको तयारी, बच्ने उपाय तथा घटनापछि उद्धार तथा राहत लगायतका विषयमा घटना अभ्यास गरिएको हो । उक्त कार्यक्रमबाट साुमदायिक विपद् व्यवस्थापन समिति र समुदायका नागरिकहरुमा विपद् जोखिम न्यूनिकरणको क्षेत्रमा क्षमता अभिवृद्धि हुने विश्वास लिइएको अधिकृत ढकालले बताए ।
कार्यक्रममा गाउँपालिकाको वडा नम्बर ४,५ र ६ का वडा अध्यक्ष सदस्य, रेडक्रस डोगडी, गुदुखाती र आटीचौर उपशाखा सभापति तथा पदाधिकारी, सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक तथा पदाधिकारीहरु, प्राथमिक उपचार र खोज तथा उद्धार तालिम प्राप्त व्यक्तिहरु, सामाजिक परिचालक लगायत स्थानीयहरुको सहभागीता रहेको थियो ।
