
बाजुरा– बाजुराको खप्तड छेडेदह गाउँपालिका १ स्थित काँडा भवानी माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनप्रति स्थानीयहरुले असन्तुष्टि जनाएका छन् । वडाको एक मात्रै मावि काँडा भवानीमा गाउँका सर्वसाधारण नागरिकहरुलाई जानकारी नदिएर सीमित व्यक्तिलाई मात्रै बोलाएर विव्यस गठन गरेको आरोप लागेको छ ।
काँडाका स्थानीय मिन बहादुर सार्कीले वडाका सर्वसाधारणहरुलाई बेवास्ता गरेर प्रअ र शिक्षकका नजिकका व्यक्तिहरुलाई मात्रै खबर गरेर गुपचुप रुपमा विव्यस गठन गरेको बताएका छन् । उनले साढे ५ सय विद्यार्थी भएको उक्त विद्यालयमा मंसिर ८ गते सूचना काटेर १० गते आम भेला बोलाएको र सूचना सबैलाई नदिएको आरोप लगाए ।
त्यस्तै उक्त दिन विवाद भएपछि विव्यस गठन प्रक्रिया रोकिएको र यहीँ पुष ११ मा आम भेला बोलाएको तर १० गते नै रातारात बहादाुर बुढालाई अध्यक्ष बनाएर समिति गठन गरेको स्थानीयको आरोप छ । स्थानीयबासी सार्कीले विना सूचना सीमित व्यक्तिलाई मात्रै बोलाएको र लेखा परीक्षण, सार्वजनिक सुनुवाई नगरेरै समिति गठन गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । त्यस्तै काँडा भवानी माविका प्रधानाध्यापक हिरालाल रेग्मीले त्याँहाका अभिभावक र विद्यार्थीसँग पनि राम्रो व्यवहार नगर्ने र सीमित व्यक्ति मात्रै बोकेर विद्यालय सञ्चालन गरिरहेको स्थानीयहरुले आरोप लगाएका छन् ।
यस विषयमा विद्यालयका प्रधानाध्यापक हिरालाल रेग्मीले भने आम भेला बोलाएर प्रक्रियागत रुपमा विद्यालय व्यवस्थापन समिति गठन गरेको दावि गरेका छन् । उनले अध्यक्षमा धेरैको दावि भएपछि दुई–तीन चरणमा बैठक बसेर समिति गठन गरेको र कानुनी रुपमा सामाजिक परीक्षण समेत गरेको भन्दै केही व्यक्तिको अनावश्यक हल्लाको पछाडि नलाग्न पनि आग्रह गरेका छन् ।
