
बाजुरा—खप्तड छेडेदह गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । उक्त प्रतियोगिता वडा नम्बर ७ आटीचौर स्थित दशरथ माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु भएको हो ।
पालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मंगलवार एक औपचारिक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रावतले खेलकुदले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै प्रतियोगिताभर स्वच्छ, शान्त र भयरहीत वातावरणमा सम्पन्न गर्नका लागि सबैले सहयोग गर्न आग्रह गरे ।
करिब ३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पालिकाका माध्यमिक तहका विद्यालयहरु सहभागी भएका छन् । उक्त रनिङ शिल्ड प्रतियोगितामा छात्र–छात्रा भलिबल, कबर्डी, एथलेटिक्स र मार्सल आर्टसका विभिन्न विधाका खेल खेलाइने जनाएको छ ।
दशरथ माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लाल बहादुर खड्काको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिलबहादुर रावत रहेका थिए । विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष विशुदेवि नाथ, निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशी, वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागीता रहेको थियो ।
