
बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिकाले एम्बुलेन्स भाडादर कायम गरेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षबाट एम्बुलेन्स सेवा सञ्चालन गरेसँगै भाडादर पनि निर्धारण गरेको हो ।
गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि २०८२ निर्माण गरेर सेवा सुचारु गरेको जनाएको छ । सेवा सुचारु गरेसँगै कार्यविधिमार्फत एम्बुलेन्स सेवा सञ्चालन समितिले भाडादर कायम गरेको छ । गाउँपालिकाको केन्द्र डोगडीबाट जिल्ला सदरमुकाम मार्तडी, बयालपाटा अस्पताल अछाम, लगायत देशका विभिन्न सहरसम्मको भाडादर कायम गरिएको जनाएको छ ।
त्यस्तै गाउँपालिकाले निर्धारण गरेको भाडादरमा गर्भवती तथा सुत्केरी, जेष्ठ नागरिक, विपद् तथा दुर्घटनामा परेका र विपन्न नागरिकहरुलाई पालिकाभित्र निःशुल्क सेवा प्रदान गरिने जानकारी दिएको छ ।
खप्तड छेडेदह गाउँपालिकाले २०८२ जेठ ३२ गते भारतीय दूतावासबाट उपहार स्वरुप एम्बुलेन्स प्राप्त गरेको थियो ।
गाउँपालिकाले अध्यक्ष दिल बहादुर रावतले नागरिकहरुका लागि पहिलो प्राथमिकता राखेर एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताएका छन् । उनले यसअघि एम्बुलेन्सको भाडादरको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भएको भन्दै यस्तो नगर्न आग्रह गरेका छन् । भाडादर निर्धारणका लागि तयार गरेको ड्राफ्ट सूची सार्वजनिक गरेर विरोधको भावनाले अनावश्यक भ्रम सिर्जना गर्ने काम भएकाले वास्तविकतामा मात्रै विश्वास गर्नुपर्ने बताए । त्यस्तै गाउँपालिका अध्यक्ष रावतले एम्बुलेन्स सेवालाई अझै सहज र प्रभावकारी बनाउन पालिकाबासीबाट रचनात्मक सुझाव र सल्लाहको अपेक्षा रहेको बताएका छन् ।
यस्तो छ एम्बुलेन्स भाडादर ।


