
बाजुरा—बाजुराको बाम्का बजारका आगलागी पीडितलाई नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा फालासैनले आर्थिक सहयोग गरेको छ । जेठ २३ गते भएको भीषण आगलागी पीडितलाई संस्थाले एक लाख ७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा फालासैनका प्रमुख भरत बहादुर रावतले आगलागी पीडितहरुलाई राहत स्वरुप पुर्नःस्थापनाका लागि आर्थिक सहयोग गरेको बताए । उनले उक्त रकम बुढीगंगा ६ का अध्यक्ष हेमराज जैशी, बजार व्यवस्थापन समितिका अध्यक्ष छत्र थापा, प्रहरी, संस्थाका कर्मचारी ममता नाथयाेगी, शेर बहादुर धामी लगायतको उपस्थितिमा पीडितलाई हस्तान्तरण गरिएको बताए ।
२०८२ जेठ २३ गते शुक्रवार दिउँसो नवदुर्गा होटलमा ग्याँस सिलिण्डर पड्किएर आगलागी हुँदा दर्जन बढी पसल जलेर नष्ट भएका थिए भने करोडौंको क्षति भएको छ । त्यस्तै आगलागी पीडितहरुका लागि विभिन्न निकायबाट हालसम्म एक करोड राहत सहयोग भएको जनाएको छ ।
