
बाजुरा– माध्यमिक शिक्षा परीक्षा (एसईई) मा खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ जयवागेश्वरी स्थित मालिका माध्यमिक विद्यालयको नतिजा शुन्य देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार मालिका माविबाट एसईईमा सहभागी २० जना विद्यार्थी मध्ये कोही पनि उत्तीर्ण भएनन् ।
त्यस्तै पालिकामा सबैभन्दा राम्रो नतिजा वडा नम्बर ७ स्थित दशरथ माविको देखिएको छ । सो विद्यालयबाट प्राविधिक धारतर्फ सहभागी ३५ जना मध्ये २९ जना उत्तीर्ण भएका छन् भने साधारण तफ १९ जना मध्ये १ जना उत्तीर्ण भएका छन् ।
त्यस्तै वडा नम्बर ३ स्थित भवानी माविको नतिजा भने यस बर्ष सुधार भएको छ । सो विद्यालयबाट सहभागी ४० जना मध्ये १३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै वडा नम्बर ५ स्थित मष्टेश्वरी माविको नतिजा भने यस बर्ष निराशाजनक देखिएको छ । एसईईमा सहभागी ८७ जना मध्ये ७ जना मात्रै उत्तीर्ण भएको पालिकाले जनाएको छ ।
वडा नम्बर ४ को खापरदेवस्थली माविमा ४३ मध्ये ८ जना उत्तीर्ण, वडा नम्बर १ को काँडा भवानी माविमा २८ जना मध्ये ५ जना उत्तीर्ण भएका छन् । त्यस्तै वडा नम्बर ७ को सरस्वती माविमा सहभागी २५ जना मध्ये ३ जना, वडा नम्बर ६ को जाल्पा माविमा १३ मध्ये २ र वडा नम्बर २ को देवस्थली माविमा ६ जना मध्ये २ जना उत्तीर्ण भएका छन् ।
