
बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलवार गाउँसभाको १७ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेको अध्यक्ष रावतले बताएका छन् । उनका अनुसार सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास र वन तथा वातावरण तथा विपद् व्यवस्थापन र पूर्वाधार विकास गरी पाँच क्षेत्रगत रुपमा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाको आवधिक विकास योजना २०८२। ८३—०८६।८७ तर्जूमा गरी कार्यान्वय गर्ने, योजना छनौट गर्न योजना बैंक निर्माण गर्ने जनाएको छ । त्यस्तै सार्वजनिक सेवा प्रवाहलाई परिमाणमुखी बनाउन प्रमुख प्रशासकीय अधिकृतले अध्यक्ष र शाखा प्रमुख तथा अन्य कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतसँग कार्यसम्पादन सम्झौतामा जोड दिने उल्लेख गरेको छ ।
यस्तै, सबै वडा कार्यालयलाई इन्टरनेटको पहुँचमा आवद्ध, पालिकाभित्र सञ्चार माध्यमलाई निःशुल्क दर्ता, उत्कृष्ट कार्यसम्पादन गरेका कर्मचारीलाई पुरस्कृत, पालिकाले तयार गरेका सबै ऐन तथा कार्यविधि समावेश गरी ऐन संग्रह प्रकाशन गर्ने जनाएको छ ।
त्यसैगरी, मौलिक कला तथा संस्कृति जगेर्ना गर्न संस्कृति संरक्षण तथा प्रवद्र्धन कोष स्थापना गर्ने र कोषमा प्रत्येक बर्षको बजेटमार्फत १० करोड विनियोजन गर्ने भएको छ । एम्बुलेन्स सेवालाई सहज बनाउन कार्यविधि निर्माण, सामुदायिक विद्यालयमा विद्यार्थी संख्या र भौगोलिक अवस्थाका आधारमा विद्यालय समायोजन र दरबन्दी मिलान गर्ने बताएको छ । १० बर्षे शिक्षा योजनालाई समय सापेक्ष बनाउन पार्श्रचित्रबाट प्राप्त तथ्यांक समावेश गरी पूर्णता दिने, शिक्षकहरुको वृत्तिविकास योजना निर्माण गरी कार्यान्वयन गर्ने भएको छ ।
त्यस्तै, सुत्केरी कोसेली कार्यक्रम र एकल तथा विपन्न महिला कार्यक्रम सञ्चालन गरी सीपमूलक कार्यक्रम गर्ने, गाउँपालिकाको पोषण प्रोफाइल निर्माण गरी सुनौला हजार दिनका महिला तथा बालबालिकाको पोषण सुधार गर्न विभिन्न कार्यक्रम स१चालन गर्ने उपाध्यक्ष विशुदेवि नाथले बताइन् । दिर्घरोगबाट पीडितहरुलाई स्वास्थ्य उपचारको लागि आवश्यक सहयोग तथा सहयोगका लागि विभिन्न निकायसँग समन्वय गरिने उनले बताइन् । त्यस्तै उपाध्यक्ष नाथले स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न वडा नम्बर १ काँडाको सिगाडा र ३ को गुदुमा ब्रथिङ सेन्टर स्थापना गरिने बताएकी छन् ।
त्यस्तै, पालिकाभित्र प्रमुख बालीका रुपमा उत्पादन हुने आलुको बजारीकरण तथा प्रवद्र्धनका लागि गाउँपालिकामा एक सित भण्डार निर्माण, प्रत्येक वडामा कृषि हाटबजार निर्माण गरिने जनाएको छ । पशुपंक्षीहरुमा देखिने महामारी रोगलाई मध्यनजर गरी प्रत्येक ३ महिनामा पालिका स्तरीय खोप अभियान सञ्चालन, निगालो, अल्लो र भाँगोको धागोबाट उत्पादन हुने सामग्री र उद्यमीलाई प्रोत्साहन गर्ने भएको छ ।
पर्यटन विकासका लागि गुरुयाेजना निर्माणा गरी कार्यान्वयन गर्ने, छेडेदह ताल र बडालेक क्षेत्रमा पर्यटन प्रवद्र्धन र खप्तड क्षेत्रको पर्यटन विकासलाई जोड्न आवश्यक पूर्वाधार निर्माण गर्न पहल गर्ने जनाएको छ । त्यस्तै, गुम्लागाउँ, धनाल्त, लिसाना, नाइना, डोगडी र छेडेदहमा गएको पहिरो नियन्त्रणका लागि विस्तृत परियोजना प्रतिवेदन कार्य अघि बढाउने र यसका लागि आवश्यक पहल गर्ने उल्लेख गरेको छ ।
त्यसैगरी, सीप विकास केन्द्रको भवन निर्माण, सबै वडामा बाह्रै महिना सडक सञ्चालन, दश शैया अस्पताल र पालिकाको नयाँ भवन निर्माण यसै बर्ष सम्पन्न गरी सेवा सञ्चालन गरिने जनाएको छ । त्यस्तै नयाँ प्रशासकीय भवन निर्माण हुन बाँकी वडामा आगामी आवमा सम्पन्न गर्ने र आटिचौर सुर्का खोला र घट्टेखोलामा मोटरेवल पुल निर्माणका लागि आवश्यक समन्वय गरिने जनाएको छ ।
