
बाजुरा– बाजुराको खप्तड छेडेदह गाउँपालिका ५ डोगडीकी सुनिता रावत दुवै मृगौला फेल भएपछि अस्पतालको शैयामा छट्पटाई रहेकी छन् । १६ बर्षकी सुनिताको दुवै मृगौला फेल भएर अहिले अस्पतालको शैयामा उपचारका लागि छटपटाई रहेकी हुन् ।
सुनिता पहिले देखि नै पेट दुख्ने लगायतका समस्याले ग्रसित थिइन् । उनलाई दिनप्रतिदिन बिरामीले च्याप्दै गएपछि ऋण जोहो गरेर २०८२ जेठ १८ गते धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा पुगाए । केही दिनसम्म सोही अस्पतालमा चेकजाँच गरेपछि चिकित्सकले दुवै मृगौला फेल भएको र यँहा सम्भव नहुने भन्दै बाहिर लैजान भन्यो । छोरीको धनगढीमै उपचार भएर घर फर्कन्छु भन्ने आशामा रहेका सुनिताका बुवा मकर रावतलाई अस्पतालले काठमाडौं लिन भनेपछि आकाशबाट खसे झै भए । आफन्तसँग ससानो ऋण सापटी गरेर छोरीलाई उपचारका लागि धनगढीसम्म पुगाएका मकरले फेरी ऋण काढेर काठमाडौं लिएको बताए । अहिले सुनिताको उपचार काठमाडौं स्थित टिचिङ अस्पतालमा भइरहेको छ । त्यस्तै दुवै मृगौला फेल भएर जीवनमरणको दोसाँधमा रहेकी छोरीलाई बचाइदिन सबैलाई सहयोग गरी दिन अनुरोध गरे ।
कमजोर आर्थिक अवस्था भएका, भारतमा मजदुरी गरेर छोराछोरीको पालनपोषण र घर खर्च धान्दै आएका उनि छोरीको जीवन बचाइदिन सबैसँग हारगुहार गरेका छन् । घरबाट काठमाडौसम्म पुगाउन मात्रै पनि लाखौ रुपैयाँ खर्च भइसकेको बताए ।
त्यस्तै, सुनिताका दाई डम्बर रावतले अहिले बहिनीको टिचिङ अस्पतालमा डाइलासिस भइरहेको छ भने चिकित्सकले तत्काल मृगौला प्रत्यारोपण गर्नु पर्ने भनेको बताए । आफन्तसँग सरसापटी गर्दासमेत मृगौला फेर्न नसकेको र डाइलासिस गराउने औषधिका लागि नै खर्च अभाव भइरहेको उनले बताए । सुनिताको दुवै मृगौला प्रत्यारोपण गर्न चिकित्सकले लाखौ रुपैयाँ खर्च लाग्ने बताएको भन्दै उनले पनि सबैलाई सहयोगका लागि अपील गरेका छन् । सुनिताको जीवन बचाउन सहयोग गर्ने सहयोगीदाताहरुका लागि सुनिताका बुबा मकर रावतको फोन नम्बर ९७६३९५५१३६, दाई कविन्द्र रावतको ९७०३९४४२८२ र डम्बर रावतको ९७४८२५५६२९ मा सम्पर्क गरेर सहयोग गरी दिन सबैलाई अनुरोध गरेका छन् ।
