शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • हिमपात र वर्षाले किसान खुसी, भूकम्प पीडितलाई सास्ती

हिमपात र वर्षाले किसान खुसी, भूकम्प पीडितलाई सास्ती

  • शुक्रबार, माघ १९, २०८०
हिमपात र वर्षाले किसान खुसी, भूकम्प पीडितलाई सास्ती

जाजरकोट/मुगु— लामो समयपछि बिहीबार बिहानै परेको हिमपात र पानीले खेतीबाली सप्रने भएकाले किसान खुसी भएपनि भूकम्पपछि त्रिपालमा बस्दै आएका पीडित भने समस्यामा परेका छन्। चिसोका कारण उनीहरू थप समस्यामा परेका छन्।

जाजरकोटका बारेकोट, जुनीचाँदे र कुशे गाउँपालिकाका अधिकांश भूभागमा हिमपात भएको छ। भेरी नगरपालिकाको मछाइना र पाँचकाटिया, नलगाडको जुरेली, खालचौर, चाउलेचौर, छेडागाडको दशेरा, पजारुलगायतका क्षेत्रमा हिमपात भएको छ। अन्य भागमा भने वर्षा भएको छ। हिमपात र हिउँदे वर्षाले भूकम्पपीडितलाई थप सास्ती दिएको भेरी नगरपालिका–२ का नरजित बुढाले बताए। उनका अनुसार लामो समयको खडेरीपछि भएको हिमपात र वर्षात्ले स्थानीय किसान खुसी भए पनि चिसोले सताउने भन्दै चिन्तित भएका छन्।

यहाँका अधिकांश बासिन्दा कृषि पेसामा आश्रित छन्। सिँचाइको सुविधा नहुँदा हिउँदे बाली आकाशे पानीको भरमा लगाउने गरेका छन्। यसपालि लामो समयसम्म पानी नपर्दा गहँु, जौ, मसुरो, चनालगायतका हिउँदे बाली सुकेका छन्।

हिमपात र पानी परेपछि निकै राहत भएको नलगाड नगरपालिका–४ का टोपबहादुर पन्तले बताए। ‘एकातिर खुसी छाै। अर्कोतिर चिसो कसरी थेग्ने भन्ने चिन्ताले सताइरहेको छ’, उनले भने, ‘त्रिपालमा बस्दै आएका भूकम्पपीडितलाई हिमपातले बिजोग बनाएको छ।’ बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती, अपांगलगायतका जोखिम समूहमा रहेका नागरिकलाई निकै सास्ती भएको उनले बताए। ‘चिसोका कारण मानिस घरबाहिर निस्कन सकिरहेका छैनन्। विद्यालय पनि खुल्न सकेको छैन। कतिपय ठाउँमा धारामै पानी जमेको छ। हिमपातले जनजीवन कष्टकर बनेको छ’, पन्तले भने।

जाजरकोटमा भूकम्पपछि हजारौं परिवार त्रिपालमा बस्दै आएका छन्। जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार ४२ हजार लाभग्राही कायम भएकोमा हालसम्म १६ हजार परिवारले मात्र अस्थायी आवास बनाएका छन्। ३० हजार परिवारले पहिलो किस्ताको रकम पाएका छन्। १२ हजार परिवारले अझै पहिलो किस्ताको रकम पाउन बाँकी छ भने अझै २६ हजार अस्थायी आवास बन्न बाँकी छ। ती परिवार अहिले पनि त्रिपालमा बस्दै आएका छन्।

यसैगरी मुगुको उच्च हिमाली भूभागमा पनि हिमपात भएको छ। सदरमुकाम आसपास र अन्य क्षेत्रमा सामान्य वर्षा हुँदा कृषकले राहत महसुस गरेका छन्।

बिहीबार बिहानैदेखि जिल्लाका चारै स्थानीय तहका उच्च हिमाली भूभागमा हिमपात भएको हो। सदरमुकाम गमगढीलगायतका क्षेत्रमा सामान्य वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि किसान हर्षित भएका छन्।

जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकाको मुगुम, डोल्पु, चिताइ, कात्तिक, किम्री, खारी, ताखा, दाउरा, सेरोग पूर्व, रिउस, मह, माँग्री पाँपु, छाइल र चिमातमा हिमपात भएर बाक्लो हिँउ जमेको त्यहाँका स्थानीयले बताए। सोरु गाउँपालिका र खत्याडका गाउँहरूमा समेत हिमपात र वर्षा भइरहेको छ। छायाँनाथ रारा नगरपालिकाको रारा क्षेत्रलगायत बस्तिमा हिमपात र सदरमुकाम क्षेत्रमा सामन्य वर्षा भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।

अग्ल्लिा वर्षमा मंसिर र पुसमै हिमपात हुने पनि यस वर्ष माघमा मात्रै हिमपात भएको हो। ढिलो हिमपात भए पनि ठूलो राहत मिलेको छायाँनाथ रारा नगरपालिका–४ का कृषक उर्गिन भण्डारीले बताए। अन्नपूर्ण पोष्ट

चर्चामा

सम्बन्धित समाचार