बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाह्र वर्षदेखिको बेथितिले बेवारिसे बनेको देवस्थली मावि

बाह्र वर्षदेखिको बेथितिले बेवारिसे बनेको देवस्थली मावि

भुक्तानी लिएका भवन अधुरै, विद्यार्थीको भविष्य अन्योल

  • शुक्रबार, फाल्गुन १२, २०७९
बाह्र वर्षदेखिको बेथितिले बेवारिसे बनेको देवस्थली मावि
२०७१ सालमा सम्झौता गरिएको भवन ८ वर्षदेखि अधुरै । तस्विर : कृष्ण ओली

कृष्ण ओली — भौतिक संरचनाको अवस्था होस्, की प्रशासकीय व्यवस्थापनको पाटो नै, नत कुनै शैक्षिक गुणस्तरमा होस् सन्तुष्ट हुने कुनै आधार छैनन्, देवस्थली मा.वि.मा। खप्तड छेडेदह गाउँपालिका २ माटे साँघुको उक्त विद्यालय हेर्दा मात्र बेवारिसे जस्तै छ। विद्यालय भित्रको बेथितिले हेर्दा चरम सीमा नाघी सकेको छ।

न विद्यालय व्यवस्थापन समिति, न त शिक्षक, अभिभावक कोही कसैलाई पनि विद्यालयको मतलब छैन। स्वार्थ सिद्ध गर्ने माध्यम नै केही व्यक्तिहरूका लागि विद्यालय बनेको छ। विद्यालय राजनीति गर्ने थलो बनेको छ। त्यही राजनीतिक आवरण देखाएर भरपुर संरक्षण समेत तीनै विव्यसका पदाधिकारीले वर्षौँदेखि लिइरहेका छन्।

दशक पुग्न लाग्यो विव्यस एकल व्यक्तिको नेतृत्वमा छ। विव्यस अध्यक्ष बमबहादुर शाही, विद्यालयका अभिभावक होइनन्। तर शाहीले जग्गा दाताको रूपमा विव्यसको अध्यक्षमा एकलौटी कब्जा जमाएरै बसेको आरोप छ। विद्यालयमा आउने योजनाको काम लिने गलत मनसायकै साथ शाहीले अरूलाई ठाउँ नदिएको आरोप समेत सेवा क्षेत्रका अभिभावकको छ।

नेपाली काँग्रेसका नेता एवं प्रदेश सभा सदस्य पदम शाहीका आफ्नै सहोदर भाइ हुन्। पार्टीकै उपल्लो तहका नेताहरूको संरक्षणमा सबै गतिविधि हुने गरेको आरोप लागे पनि त्यो कुरा स्वीकार गर्न शाही भने तयार छैनन्। विद्यालय बनाउने जमिन दिएर अभिभावकले नै सम्मान स्वरूप जिम्मेवारी दिएको बमबहादुर शाहीको दाबी छ।

कक्षा ८ सम्मको मात्र अनुमति पाए पनि कक्षा १० सम्म सञ्चालनमा छ। बस्ने बेच्न, बनाइएका कक्षा कोठा, विद्यालयको कार्यालयको व्यवस्थापन, खेल्ने चौर र अन्य संरचनाको अवस्था हेर्दा पशु चौपाया बाँध्ने गोठ भन्दा तल्लो अवस्थाकै संरचना देखिन्छ। विरोध गर्ने हिम्मत धेरैले राख्दैनन्। गाउँपालिकाले समेत संरक्षण गरी आएको आरोप छ।

प्रस्तावित मावि सञ्चालन गरेको १२ वर्ष बित्यो। तर कुनै वर्ष पनि एसइईमा राम्रो नजिता ल्याएर विद्यार्थी उत्र्तिण भएका छैनन्। विषय लागेर, पूरक परीक्षा दिएर मात्र उत्र्तिण गराउने गरिएको छ। कोरोनाको बेलाको स्वमूल्यांकलनको समय बाहेक राम्रो नजिता ल्याएर उत्र्तिण गरेको विद्यार्थीको नाम विद्यालयसँग छैन, भन्छन्, स्थानीय दीर्घ शाही।

‘शिक्षक पढाइ प्रति जिम्मेवार छैनन्। विव्यस राजनीति गर्ने थलोका रूपमा बुझाई राख्छन्, विद्यार्थी आउने र जानेमा दिन बिताउने गर्छन्। विद्यालय छ, भन्नु पनि लाज मर्दो कुरा हो, शाहीले भने। आएको योजना केही व्यक्तिको नाममा जान्छ, काम भए पनि नभए पनि भुक्तानी नेताहरूको दबाबमा हुने गर्छ, कोही कसैलाई मतलब नै छैन।’

तत्कालीन जिल्ला शिक्षा कार्यालय हुँदाको योजना दशक बित्न लाग्यो अहिलेसम्म पुरा भएको छैन। ३२ लाखमा भवन निर्माणको जिम्मा विव्यस अध्यक्ष बमबहादुर शाहीले नै लिएका थिए। तर अहिलेसम्म बनेको छैन। नबन्नुमा गुणस्तरको काम गर्न ढिलाई भएको, मुटुको समस्याले काम गर्न नपाएको र भुक्तानी प्रक्रियामा समस्या आएकोले ढिलाई भएको दाबी जिम्मा लिएका अध्यक्ष शाहीको छ।

शाहीले नै जिम्मा लिएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम बेला आएको भवनको काम नै सुरु भएको छैन। आउने ज्येष्ठसम्म निर्माण गरिसक्नु पर्ने हो। तर २ करोड ४० लाख बजेको काम अबको चार महिनामा हुने अवस्था नै छैन। तर जिम्मा लिएका विव्यस अध्यक्ष समेत रहेका शाहीले कामदार खोज्न धनगढी आएकोले तत्काल काम अघि बढाउने बताएका छन्।

कामको जिम्मा मैले मात्रै लिएको छैन, शौचालय र खानेपानी अरुकै जिम्मा थियो। मैले भवनको जिम्मा लिएको हो। ३२ लाखको आधा निर्माण भइसकेको र २ करोड ४० लाखको अर्को निर्माण केही दिनमै सुरु हुने भएकोले यसलाई बदमासी भन्न नहुने तर्क शाहीको छ। १० वर्षसम्म भवन नबन्दा र आएका योजनामा पुरै कब्जा हुँदा समेत स्थानीय पालिका, सरोकारवाला निकाय र अभिभावक मौन जस्तै बसेका छन्। राजनीतिक दबाब र त्रासले बोल्न समस्या हुने गरेको एक स्थानीयको दाबी छ।

विद्यालयमा ७ जना स्थायी शिक्षक हुनु पर्नेमा हाल २ जना मात्रै छन्। यो वर्ष केही संख्या थप भएको अवस्था छ। राजनीतिक रूपमा नेपाली काँग्रेसकै नेताहरूको बर्चश्व र बोलवाला रहेको आरोप अर्को पक्षको छ। विद्यालय नै गोठ जस्तो अवस्था बनाउँदा समेत सरोकारवाला मौन जस्तै छन्।

काम नै सुरु नगरेको अवस्थामा २ करोड ४० लाख रकममा बन्ने योजनाको पहिलो किस्ता भुक्तानी लिइसकेको अवस्था छ। स्वार कन्सटेन्सिले निर्माणको जिम्मा बमबहादुर शाही लाई नै दिएको छ। कक्षा १० सम्म १५० जना भर्ना छन्। दैनिक विद्यालयमा ५०।६० जना समेत आउँदैनन्। पैसा भएकाहरूले जिल्ला बाहिर पठाएका छन्। गरिबका छोरा छोरीको पढाइ बारे उनीहरु जिम्मेवार नै छैनन्।

विद्यालयका प्रअ राजु चौधरी छन्। उनलाई कुनै जिम्मेवारी र सरोकार छैन। केही भनेपछि धम्की आउने चौधरीलाई डर छ। जिल्ला शिक्षा विकास समन्वय इकाई बाजुराले समेत देवस्थली माविको बारेमा कुरा गर्न पनि लाज लाग्ने गरेको प्रतिक्रिया दिने गरेको छ। हाललाई स्थानीय पालिका अन्तर्गत नै भएकोले केही गर्न नसकिने कर्मचारी बताउने गरेका छन्।

खप्तड छेडेदह गाउँपालिका शिक्षा शाखा पनि विद्यालय भित्रको बेथिति बारे मौन छ। जानकारी भएर पनि काम भएको प्रमाणित सहितको भुक्तानी दिन बाध्य गाउँपालिका छ। गएको आर्थिक वर्षहरूमा त्यही गरिएको पाइएको छ। लाखौँको रकम हिनामिना, बदमास छ। विद्यार्थीको भविष्य अन्योल पारिएको छ। तर सरोकारवाला निकाय मौन समर्थन दिन तयार देखिन्छन्।

चर्चामा

सम्बन्धित समाचार