शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • सुदूरपश्चिमका ४ पालिकाका १६५ श्रमिक भारतमा बेपत्ता

सुदूरपश्चिमका ४ पालिकाका १६५ श्रमिक भारतमा बेपत्ता

असुरक्षित भारतीय श्रम बजार

  • आइतवार, मंसिर २६, २०७८
सुदूरपश्चिमका ४ पालिकाका १६५ श्रमिक भारतमा बेपत्ता

धनगढी — सुदूरपश्चिम प्रदेशबाट मात्र भारतका विभिन्न सहरमा मौसमी र बेमौसमी कामदारको रुपमा करिव ६ लाख श्रमिक असंगठित तवरले श्रम गर्दै आएको अनुमान छ। कामको खोजीमा भारत पसेका श्रमिकमध्ये अधिकांश असुरक्षित रुपमा कष्टपुर्ण श्रम गर्दै आएको विभिन्न संघसंस्थाहरुले गरेको अध्ययनले देखाइरहेको छ। साथै श्रम शोषणको सामना गर्न नसकेकै कारण पुनः स्वदेश फर्कने श्रमिकको संख्या पनि बढ्दो छ।

नेपाली श्रमिकका लागि भारतीय श्रम बजार असुरक्षित बन्दै गएको श्रमीकहरुको गुनासो छ। भारतमा नेपाली श्रमिक शोषणमा पर्दा पनि सरकारले श्रमिकहरुले भोग्दै आएका दुःखको उपेक्षा गर्दै आएको बताउँछिन् भारतका विभिन्न सहरमा श्रम गरेर स्वदेश फर्किएकी नन्दा क्षेत्री। उनले भनिन्, ‘भारतमा नेपाली मजदुरले कष्टपूर्ण श्रम गरेर श्रम शोषणमा पर्दै आएपनि यो विषप्रति राज्यले उपेक्षा गरेको अनुभुति हुन्छ।’

भारतमा हुने श्रम शोषणमा नेपाल पक्ष मौन बसेकै कारण कष्टपूर्ण जीवन निर्वाहसँगै नेपाली श्रमिक हराउने र उतै बेपत्ता हुनेक्रम पनि बढ्दै गएको छ। भारतमा कष्टपूर्ण श्रम गर्ने नेपालीका लागि सरकारले अहिलेसम्म कुनै प्रयास गरेको छैन। भारतमा रहेका आफ्ना नेपाली नागरिकप्रति सरकार पूर्णतया बेखबर भएकै कारण सुदूरपश्चिमका ४ वटा पालिकाका १ सय ६५ श्रमिक बेपत्ता भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशी बताउँछन्। ‘व्यवस्था परिवर्तन गरेर मात्र के गर्नु, वर्षौदेखि भारतका विभिन्न सहरमा कष्टपूर्ण श्रम गर्दै आएका नेपाली श्रमीकको सम्मान कहिकतैबाट हुन सकेको छैन,’ उनले भने।

उनका अनुसार लाखौको संख्यामा श्रमका लागि पसेका नेपालीमध्ये बेपत्ता हुनेक्रम बढ्दै जाँदा समेत यो विषयलाई राज्यपक्षबाटै उपेक्षा गरिदैँ आएको छ। भारतमा नेपाली श्रमिकको शोषणबारे सरकार अनभिज्ञ भएकै कारण कुटपिट, लुटपाट, बेपत्ता र हत्या समेत हुने गरेको सरोकारवाला बताउँछन्। नेपाली श्रमिक सीमा क्षेत्रमा मात्र होइन रोजगारदाताबाट समेत लुटिने गरेको सुदूरपश्चिम नेपाली समाज भारतका अध्यक्ष दीपकप्रकाश मल्लले बताए।

नेपाली श्रम शोषणबारे दुताबास समेत मौन बस्ने गरेको उनको गुनासो छ। ‘श्रमिकको समस्याबारे हामीजस्ता संघसंस्थाले मात्र थोरै भएपनि काम गरेको देखिन्छ, नभए दुताबास त केबल नाम मात्रको हो। नेपाली श्रमिकप्रति कुनै चासो समेत दिएको पाइदैन,’ उनले भने।

भारतमा श्रमका लागि श्रम सम्झौता गरिएको छैन। श्रम सम्झौताको व्यवस्था नै नभएकाले नेपाली श्रमिकले भारतमा असुरक्षित भएर श्रम गर्नु परिरहेको छ। भारतसँग पनि अन्य मुलुक सरह नै श्रम सम्झौताको व्यवस्था गरेर श्रम सम्मान गर्ने कार्यको थालनी गर्नुपर्ने सरोकारवाला बताउँछन्।दिनेश खबरबाट साबार ।

चर्चामा

सम्बन्धित समाचार