शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • शिक्षा
  • स्थानिय पाठ्यक्रमको अवधारणा र यसको औचित्य

स्थानिय पाठ्यक्रमको अवधारणा र यसको औचित्य

  • बुधबार, साउन २०, २०७८
स्थानिय पाठ्यक्रमको अवधारणा र यसको औचित्य

 शिक्षा के हो ?
सामान्यातया शिक्षा सिक्ने र सिकाउने प्रक्रिया हो । ज्ञानको जननी हो । देश विकासको सम्बाहक हो । ब्यक्तीगत बिकासको अगुवा हो । सिप बिकाशको आधार हो । सभ्यताको ऐना हो । ब्यवहारवाद को प्रयोगशाला हो । नैतिकताको जननी हो । दक्षताको पहिचान हो । सम्पन्नताको मापक हो । योग्यताको निर्धारक हो । श्रोत साधानहरुको ब्यवस्थापक हो । आवस्यकताहरुको परिचालक हो । वितरणको निर्देशक हो । समाजको आर्दश हो । पहिचानको मूल मर्म हो । सर्बाङगीण बिकाशको मेरुदण्ड हो । यसर्थ यसको उपेक्षा किन ?
 पाठ्यक्रम भनेको के हो ?
शाब्दिक अर्थमा पढाईने बिषयबस्तुको क्रमबद्धतालाई पाठ्यक्र भनिन्छ । यद्धपि समकालिन समाजका आवस्यकताहरु, ब्यक्तीगत आवस्यकताहरु एवं राष्ट्रिय आवस्यकताहरु परिपुर्ति गर्न संगठित शैक्षिणिक दस्तावेज पाठ्यक्रम हो ।
पाठ्यक्रमलाई जुन कोणबाट पारिभाषित गरेता पनी यो पठनपाठनको मार्गदर्शन हो , सम्बृद्धीको आधार हो, उत्पादकत्व बृद्धीको औजार हो , सिप बिकाशको श्रोत हो, मानव संसाधन निर्माणको कार्यविधि हो, चेतना विकासको क्याप्सुल हो, श्रोत साधन परिचालनको मार्गदर्शंन हो । शैक्षिक प्रयोगशालाको निर्देशक हो । यसर्थ प्रश्न उठ्छ, पाठ्यक्रम निर्माणमा कन्जुस्याई किन ?
 स्थानिय पाठ्यक्रम भनेको के हो ?
स्थानिय सरोकोरवाला, विज्ञहरु, स्थानीय बुद्धिजिविहरु, सामाजिक अगुवाहरु, नागरिक समाज आदिको अगुवाईमा स्थानीय श्रोतसाधानहरु एवं सम्भावनाहरुको समुचित परिचालन गरी आदर्श समाज निर्माणको परिकल्पना अनुरुप निर्माण गरिने पाठ्यक्रम स्थानिय पाठ्यक्रम हो ।
 स्थानिय पाठ्यक्रमको आवस्यकता किन ?
पक्कै पनि केन्द्रकृत पाठ्यकक्रमले विबिधतापूर्ण क्षेत्रको सम्भावनाहरुलाई समेट्न नसक्दा स्थानिय पाठ्यक्रमको अवधारणा आएको हुन सक्छ । यद्धपि यो राम्रो बिषयबस्तु हो, महत्वपुणर् अवधारणा हो । तर गम्भिर बिषय यो हो की स्थानिय पाठ्यक्रम स्थानिय तहमा ब्यवहारिकरण भएको छ की छैन ? यस बारे सरोकारवालाहरुको एंव विज्ञहरुको चासो रहेको छ की छैन ? यस बारे समयमै ध्यान दिन जरुरी रहेको छ ।
मानिस सामाजिक प्राणी हो, समाज बिना मानविय अस्तित्व सम्भव छैन । यसर्थ समाजको धरोहरको रुपमा बिद्यमान मूल्य मान्यताहरु, धर्म , संस्कृतीहरु, चालचलनहरु रितिरिवाजहरु, भेषभुषाहरु परम्पराहरु जसलाइ समाजको अलिखित संबिधानको रुपमा लिइन्छ । यी यावत बिषय बस्तुहरुहरुलाई स्थानीय पाठ्यक्रमले समेटेको हुनपर्छ । ति सामाजिक मापदण्डहरुको आधारमा आदर्सं समाजको परिकल्पनामा सामाजिक कार्यहरुलाई अग्रगमन तिर डोर्‍याई मार्गदर्शकको भूमिका निर्वाह गरेको हुनुपर्दछ ।
त्यसै गरि नेपाल भौगोलिक बिबिधतामा भरिपूर्ण देश हो । भौगलिक बिबिधता अनुरुप हावापानी एवं प्राकृतीक श्रोत साधानहरु पनि विविध हुन सक्छन । यसर्थ क्षेत्रगत विविधता एबं हावापानी अनुरुप प्राकृतिक श्रोत साधानहरुलाई समुचित परिचालन गर्न स्थानिय पाठ्क्रमको अहम् भुमिका रहन्छ । यसर्थ प्रश्न उठ्छ कागजीरुपमा ल्याईएको स्थानिय पाठ्यक्रमले ति यावत सम्भावनाहरुलाई आत्मसात गरेको छ त ?
 स्थानिय पाठ्यक्रमका आधारभुत मान्यताहरु के के हुन त ?
१ स्थानिय श्रोत साधानहरुको पहिचान, समुचित परिचालन र ब्यवस्थापनमा जोड ।
२ स्थानीय कला साहित्य संस्कृती एवं स्थानीय पुरातात्विक सरोकारका बिषयहरुको संरक्षण र सम्बद्र्धनमा जोड ।
३ स्थानिय प्रबिधी सिप एवं मौलिकताको संरक्षण र सम्बद्र्धनमा जोड ।
४ स्थानिय बजार एवं बजारीकरणमा जोड ।
५ स्थानिय स्तरमा सम्भव रोजगारीको श्रृजना गरी आर्थिक सम्बृद्धिमा जोड ।
६ स्थानिय भु ब्यबस्थापन र भु उपयोगमा जोड ।
७ अर्गानिक खाद्य बस्तुको उत्पादन एवं भण्डारीकरणमा जोड ।
८ स्थानीय श्रमको उपयोगिता र उत्पादकत्व बृद्धी
९ स्थानिय स्तरको श्रोत साधानहरुको आधारमा औद्योगिकरणमा जोड ।
१० सम्भावनाका आधारमा पकेट जोनको सम्भावनालाई कार्यान्वयन गरि सम्भावित उत्पादनमा जोड ।
 स्थानिय पाठ्क्रम प्रभावकारी रुपमा कार्यन्वयन भएको छ त ?
नेपाल एक बहुजातिय, बहु भाषिक, बहु धार्मिक, बुह सांस्कृतीक, धरातलिय बिबिधता एबं जैविक बिबिधताबाट भरीपूर्ण देश हो । जसको भु-धरातललाई हिमाल तराई र पहाडको रुपमा बिभाजन गरिएको छ । ६८ प्रतिशत पहाड, १५ प्रतिशत हिमाल र १७ प्रतिशत तराईको रुपमा भु धरातललाई बिभाजित गरिएको छ । यसले ५९ मिटर उचाई देखी ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर उचाई सम्मको भु-भाग समेटेको छ । जहाँ हिमाल पहाड र तराईका आ आफ्नै सम्भावनाहरु रहेका छन । पारस्थितिक प्रणाली विविध प्रकारको रहेको छ । ति विविध क्षेत्रमा बसोबास गर्ने मानिसहरुको आ-आफ्नै मौलिकता रहेको छ ।
ति यावत सम्भावनाहरुलाई राष्ट्रिय एवं स्थानीय पाठ्क्रमले समेटेको हुनपर्छ । त्यसैले सोच्ने बिषय यो छ की यि यावत विविधताहरुलाई उक्त पाठ्यक्रमले सहजीकरण गर्न सकेको छ की छैन ?
नितान्त स्थानिय पाठ्यक्रमको सन्दर्भमा भन्नुपर्दा ८० प्रतिशत पाठ्यक्रम निर्माणको जिम्मा स्थानिय निकायहरुलाई दिएको छ भने २० प्रतिशत सामाजिक बिज्ञानका बिषयहरु साभार गरि पूर्ण पाठ्यक्रम निर्माण गर्नुपर्ने कुरा स्थानीय पाठ्यक्रम निर्देशिकामा उल्लेख गरिएको छ । तर अहिले सम्म कुनै पनि स्थानीय तहहरुले स्थानीय पाठ्यक्रमलाई पूणर्ता दिएको पाइएको छैन ।
स्थानीय पाठ्यक्रमको सट्टा ऐच्छिक बिषयहरु कार्यान्वयनमा ल्याएको पाईएको छ । यसर्थ स्थानिय तहहरुको जिम्मेवारीमा प्रश्न उठ्छ की उठ्दैन ? यो राज्यले सोच्नुपर्ने बिषय रहेको देखिन्छ ।
स्थानिय पाठ्यक्रम निर्माण गर्दा भौगोलिक विविधतालाई सर्वेक्षण गरिएको छ की छैन ? सर्वेक्षण बिना निर्मित पाठ्यक्रमले बिबिधतालाई समेट्न सक्ने देखिदैन ।
उदाहरणका लागि हिमाली क्षेत्रलाई हर्बल जोन, एप्पल जोन एवं उलन जोनको रुपमा बिकाश गरि अर्थतन्त्रलाई टेवा दिन सकिन्छ । अष्ट्रेलीया एकै देशले बिश्वको ३० प्रतिशत उन उत्पादन गर्दछ । संसारमा उलन साम्रगी निर्यात गरिरहेको देखिन्छ । यद्धपि सम्भावना हुदा हुदै पनि हामी परनिर्भरता बाँचिरहेका छौ ।
त्यसैगरी पहाडी क्षेत्रलाई फ्रुट जोनको रुपमा बिकाश गरि अरबाैँ पैशा बाहिरनबाट जोगाउन सकिन्छ । त्यसै गरी तराई क्षेत्रलाई क्रप जोनको रुपमा बिकाश गरि खाद्यन्नमा आत्मनिर्भरता बढाउन सकिन्छ । यस बारे सघिंय, प्रदेश र स्थानीय तहहरु कुनै पनि निकायले चासो दिएको देखिदैन । हचुवाको भरमा निर्माण गरिएको पाठ्यक्रमले देशको अर्थतन्त्रमा टेवा पुगाउन सक्ला र ? यसलाई गम्भिर बिषयको रुपमा हेर्न जरुरी छ ।
यो कुरा अन्तर्वार्तामा ब्यस्त रहेका बिज्ञ, शिक्षाविद्, शिक्षा क्षेत्रका अगुवा, एवं शिक्षा बिकाशका निकायहरुलाई यो बिषयमा जानकारी छ की छैन ? भावी शिक्षा प्रणालीमा लाग्ने प्रश्नचिन्ह एवं शैक्षिक वेराेजगारीका कारण निम्तिने भयावह स्थितीबारे सरकारले सोच्ने कि नसोच्ने ? यसलाई गम्भिर बिषयको रुपमा लिन जरुरी रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार