शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • लकडाउनको समयमा गर्भवती बन्दै केन्याका किशोरी

लकडाउनको समयमा गर्भवती बन्दै केन्याका किशोरी

  • सोमवार, मंसिर ८, २०७७
लकडाउनको समयमा गर्भवती बन्दै केन्याका किशोरी

आफू गर्भवती भएको थाहा पाएपछि १७ वर्षीय ज्यकलिन बोसिबोरी धरधरी रोइन्। एक्लै ६–६ जना केटाकेटी हुर्काइरहेकी उनकी आमा पनि छोरी गर्भवती भएको थाहा पाएर कोठामै ढलिन्। कोठा खाली गर्न बारम्बार धम्की खेप्नु परिराखेका बेला घरमा अर्को खानेमुख थपिएको थियो। केन्यामा यो आम समस्याको विषय बन्दै गएको छ। लकडाउनका कारण विद्यालयहरू बन्द भएको समयमा बालिकाहरु गर्भवती हुने दरमा वृद्धि भएको तथ्यांकहरूले देखाएका छन्। ‘विद्यालय बन्द नभएको भए यस्तो हुँदैनथ्यो’‚ वकिल बन्ने सपना बुनेकी बोसिबोरीले भनिन्।

उनकी आमा सडक किनारमा तरकारी बेच्ने काम गर्छिन्। छोरी बोसिबोरी आमालाई सघाउ पघाउ गर्थिन्।

महामारीकैबीच‚ एकदिन बोसिबोरीको भेट एक २० वर्षका व्यक्तिसँग भयो। उनीहरूबीच शारीरिक सम्बन्ध कायम भयो। जसै उनले आफू गर्भवती भएको थाहा पाइन्‚ ती व्यक्तिलाई जानकारी दिइन्। तर‚ त्यसदिनदेखि केटाले नाकमुख देखाएन। अरू त अरू‚ बोसिबोरीको फोनसमेत उठाउन छोड्यो।

गर्भावस्थाको समयमा पनि उनी सुखले बस्न पाइनन्। लुगा धुन किबेरा स्यान्टीको फोहोर पोखरीमा पुग्नुपर्थ्यो। पोखरीमा जाने–आउने गर्दा थकाइले चुर हुन्थिन्‚ तर अर्को उपाय नै थिएन। किबेरा‚ राजधानी नैरोबीको एक गरिब बस्ती हो‚ जहाँ मानिसहरू टिनको छानो भएको घरमा बस्छन्। गुजुमुज्ज परेको उक्त बस्ती भएर रेल गुज्रने गर्छ।

उनले आफ्नो बच्चाको लागि अगावैदेखि लत्ताकपडाको जोहो थालिन्। नजिकैको बजारमा गएर पहिले प्रयोग भइसकेका पुराना कपडा खरिदेकी बोसिबोरी भन्छिन्‚ ‘मलाई विश्वास नै भइरहेको छैन‚ मेरो पेटमा हुर्किइरहेको बच्चाको लागि मैले लुगा पनि किनिसकें।’

विश्वव्यापी लकडाउनले किशोरावस्थामा हुने गर्भावस्थाको दर बढाउन सक्ने प्रजनन स्वास्थ्यमा काम गरिरहेका गैर-सरकारी संस्थाहरूको चेतावनी छ। केन्याको प्रारम्भिक तथ्याकंले त्यसलाई पुष्टि गर्छ।

अन्तर्राष्ट्रिय उद्धार समितिका अनुसार‚ केन्याको सुदूर उत्तरी शहर लोदवारमा यस वर्ष जुनदेखि अगस्टसम्मको अवधिमा ६२५ जना किशोरी गर्भवति भएको पाइयो। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या २२६ मात्र थियो। यो झण्डै तीन गुणाको वृद्धि हो।

काकुमा नजिकैको शरणार्थी शिविरमा पनि यो दर ह्वात्तै बढेको छ। अघिल्लो वर्ष १५ यस्ता केस देखिएकोमा यो वर्षको ५१ केस देखिएका छन्।

बोसिबोरीकी सहपाठी पनि एकै समयमा गर्भवती भएकी थिइन्। दुवैजना स्वास्थ्य जाँचका लागि सँगै क्लिनिक जान्छन्। ‘सुरक्षित रुपमा बच्चा जन्माउनेमा र स्वस्थ बच्चा जन्मनेछ भन्नेमा म ढुक्क छु’‚ बोसिबोरीले भनिन्।

‘कोभिड-१९ को संकट सुरू भएपछि हामीकहाँ किशोरावस्थाको गर्भाधानको दर बढेको छ’, स्थानीय नर्स जोय अम्बियोले भनिन्। उनका अनुसार‚ कतिपय गर्भवती किशोरीहरू स्वास्थ्य संस्थामा आउने र डाक्टरलाई भेट्ने गर्दैनन्। यसले यो संख्या अझै बढी हुन सक्ने संकेत गर्छ।

‘मान्छेले कुरा काट्लान् भन्ने डरले पनि कतिपय किशोरीहरू स्वास्थ्य सेवा लिन नगएको देखिन्छ’‚  संयुक्त राष्ट्र जनसंख्या कोषका केन्या प्रतिनिधि अडेमोला ओलाजिदेले भने‚ ‘स्वास्थ्य जटिलता र असुरक्षित गर्भपतनका कारण उनीहरू झन् जोखिममा छन्।’

संयुक्त राष्ट्रसंघका अनुसार‚ १५ देखि १९ वर्षसम्मको उमेरमा गर्भवती हुँदा र बच्चा जन्माउँदा मृत्युसम्मको जोखिम हुन्छ।

अब बोसिबोरीले बच्चालाई जन्म दिने दिन आयो। उनका पहिल्यैदेखिका केही स्वास्थ्य समस्या थिए। डाक्टरले पेट चिरेर बच्चा निकाल्नुपर्ने बताए। सिजेरियन सेक्सनको कुरा सुनेर डराएका बोसिबेरी र उनी आमाले अपरेसन थिएटर छिर्नुपूर्व स्थानीय परम्परागत वैद्यसँग अनुमति मागे।

अन्तत: बोसिबोरीले ३.३ केजी तौलको स्वस्थ शिशुलाई जन्म दिइन्। भोलिपल्ट नर्सले दुध चुसाउन सिकाइन्। बोसिबोरीले भनिन्‚ ‘मलाई कस्तो महशुस भएको छ बताउनै सक्दिनँ‚ मिश्रित किसिमको अनुभव भइरहेको छ।’

‘म एकदम खुसी छु। मेरा दु:ख अब सकिए’‚ छोरीलाई काखमा लिएकी बोसिबोरीले भनिन्।

आउँदो एक महिनामा  केन्याका सबै विद्यालय पूर्ण रूपमा सञ्चालनमा आउनेछन्। स्कुल नखुलुञ्जेलसम्म छोरीको स्याहारसुसारका निम्ति बोसिबोरीसँग समय नै समय छ।त्यसपछि भने आँफु १८ वर्षको छँदा बोसिबोरीलाई जन्माएकी आमाले नातिनीको हेरचाह गर्नेछिन्। ‘बोसिबोरी त स्कुल जानु पर्‍यो नि !’‚ आमा एनले भनिन्।

चर्चामा

सम्बन्धित समाचार