
“उ त्यो कुसन त पुरानै हैन र सर?”
झ्यालबाट छिरेको मार्तडीको चिसो हावालाई छिचोल्दै मैले गुरुको कोठाको कुनामा रहेको त्यो परिचित कुसनतिर इसारा गरेँ। गुरुले आफ्नो बानी बमोजिम मुसुक्क मुस्कुराउँदै भन्नुभयो, “हो बाबु! त्यो पुरानै हो। म मार्तडी आउँदा किनेको—३० वर्षअघि। यो कुसन अनि उ त्यो करुवा पनि! एउटा देसी साउजीसँग किनेको थिएँ। जति समय मार्तडी बसेँ, यिनीहरूसँगै बसियो। अब रिटायर हुने बेला लिएरै जान्छु, अर्को वर्षतिर हुँदैछु।”
गुरुको कुरा सुन्दै गर्दा मेरो मानसपटलमा १५-१७ वर्ष अगाडिको एउटा दृश्य घुम्न थाल्यो। मैले पहिलो पटक सरको कोठा लगभग डेढ दशकअघि देखेको थिएँ। त्यतिबेला सर हालको लोकतान्त्रिक चोक नजिकै डिल्लीराज बोगटी सरको पसलमाथिको कोठामा बस्नुहुन्थ्यो। अहिले सडक चौडा पार्ने क्रममा त्यो घर भत्किसकेछ । एस.एल.सी. (SLC) सकेर प्लस टु पढ्दै गर्दा केही काम विशेषले म सरको कोठामा पुगेको थिएँ।वीरबहादुर कटुवाल सरपनि नजिकैक कोठामा बस्नुहुन्थ्यो । सायद कटुवाल सरकोमा ट्युसन पढ्न गएको बेला थियो ।
त्यो कोठामा आज जस्तै पुराना पुस्तक र कापीहरूको एउटा छुट्टै सुगन्ध थियो । केही थान पुराना कुर्सी, एउटा काठको र्याक, र सामान्य बेड-बिस्तरा। आज वर्षौँपछि विद्यालय हाताभित्रको सरकारी आवासमा भेट्न आउँदा पनि सरको बसाइ लगभग उस्तै थियो। घर र कोठा फेरिए पनि सरको सरलता र सादगीपनमा कुनै परिवर्तन आएको थिएन। मुसुमुसु मुस्कुराउँदै ओठबाट मह जस्तै मीठो बोली बर्साउने सरको स्वभावमा समयको कुनै प्रभाव परेको थिएन।
“बाबु, तिमी त जापान गएका हौइनौ र? कहिले फर्कियौ?” मेरो हातमा आफ्नो नयाँ मुक्तक संग्रह “खण्सापका मुक्तकहरू” देखेपछि सरको अनुहारमा एउटा सुखद आश्चर्य छल्कियो।
करिब ४ वर्षअघि सरसँग बिदा मागेर म जापान जाँदा म मालिका माविमै कक्षा ११ र १२ लाई समाजशास्त्र पढाइरहेको थिएं । कोरोना कालमा सरले पारिवारिक वियोग खप्नुपरेको थियो । आज वर्षौँपछि मार्तडी पुगेर पुरानै नम्बरमा फोन गर्दा पहिलो पटक त उठेन, तर केही समयमै गुरुको ब्याक कल आयो। विद्यालय हाताभित्रको सरकारी आवासमा पुग्दा सर माताजीको तिथि सकेर बस्नुभएको रहेछ। प्रसाद र फलफूल ग्रहण गरेपछि मैले सरलाई भर्खरै भएको उहाँको बढुवाको लागि बधाई दिएँ।
“सर, यो मेरो नयाँ मुक्तक संग्रह हो। हजुरबाट यसको समीक्षा गराउने मेरो ठुलो चाहना थियो,” मैले पुस्तक गुरुको हातमा सुम्पिएँ।
गुरुले पुस्तकलाई सुमसुम्याउँदै भन्नुभयो, “धेरै राम्रो गर्यौ बाबु। प्रवासमा रहेर पनि साहित्यको यो दियो बालिरह्यौ। मेरो तर्फबाट तिम्रो यो साहित्यिक यात्रालाई सधैँ आशिर्वाद छ।” उहाँका यी शब्दहरूले मेरो मन फुरुङ्ग भयो। गुरुको आफ्नै छोरा अर्थात् मेरो मित्र सुनील पनि परदेशमै भएकाले होला, उहाँले मलाई आफ्नै छोरालाई जस्तै स्नेह दिइरहनुभएको थियो। बाच्छाले माउ भेटे जस्तै, वा कुनै हराएको बच्चाले वर्षौँपछि आफ्नो अभिभावक भेटाए जस्तै म पुलकित भएँ। भोलिपल्ट हुने विमोचन कार्यक्रममा वक्ताको रूपमा उपस्थित भइदिने गुरुको बचनले मेरो उत्साह थप चुलियो।
गुरुको कोठाबाट बाहिर निस्किँदै गर्दा मेरो मनमा अनेकौँ प्रश्नहरू खेल्न थाले। बाजुरा जिल्लाकै एक मात्र उच्चपदस्थ कर्मचारी (जिल्लामा प्रमुख जिल्ला अधिकारी उपसचिव स्तरको हुँदा उहाँ सहसचिव स्तरको हुनुहुन्छ) को यस्तो सादगीपन र सरलता कसरी सम्भव भयो होला?
मेरो आँखा अगाडि मालिका माविको त्यो पुरानो दृश्य नाच्न थाल्यो। डानेडुग्राको त्यो कच्ची भवन । थापाथली डाडाको त्यो दृश्य । द्वन्दकालमा नेपाली सेनाले ब्यारेक बवाए पछी जिल्ला अस्पतालका कोठाहरूमा अटस मटस गरी पढाउनु पर्ने त्यो बाध्यता र आजको यो विशाल आधुनिक संरचना निर्माण गर्न शुभराज सरले आफ्नो काँध कति गाल्नुभयो होला? मार्तडी जस्तो खुट्टा तान्नेहरूको अखडा र राजनीतिक खिचातानी हुने ठाउँमा बसेर पनि उहाँले आफ्नो अनुहारको त्यो मुस्कान कसरी जोगाइराख्नुभयो होला? आफूभन्दा झन्डै नातिनातिना पुस्ताका विद्यार्थीहरूसँग उहाँ कसरी यसरी घुलमिल हुन सक्नुभयो? प्राविधिक र अप्राविधिक धारका गरी करिब २५०० विद्यार्थीको व्यवस्थापन र ४० जना निजी स्रोतका कर्मचारीको पारिश्रमिकको भारी बोक्दा उहाँ कहिल्यै थाक्नुभएन।
नेपाल सरकारको नीति नियम पनि देख्दा अचम्म लाग्छ,” सर । मैले कोठाबाट बाहिरिँदै गर्दा आफ्ना मनका कुरा पोखेँ, “एउटै व्यक्ति ३० वर्षसम्म एउटै विद्यालयमा रहँदा वाक्क लाग्दैन? निजामती र शिक्षक कर्मचारीबीचको यो असमान व्यवहार निकै उदेकलाग्दो छ।”
निजामती तर्फका सहसचिवहरू मन्त्रालयमा बसेर नीति नियम निर्माण गरिरहँदा, उता शिक्षा क्षेत्रका ‘सहसचिव सरह’ का शुभराज सर भने एउटै विद्यालयको चौघेराभित्र चक र डस्टरमै सीमित हुनुपर्ने? यो कस्तो प्रणाली हो?
यसको मुख्य जड वर्तमान शिक्षा ऐन र नियमावलीभित्रका जटिल व्यवस्थाहरू नै हुन्। शिक्षक सरुवाका लागि राखिएका ‘दोहोरो सहमति’ र ‘विद्यालय व्यवस्थापन समिति (विव्यस) को सहमति’ जस्ता अस्वाभाविक प्रावधानहरूले शिक्षकहरूलाई एउटै ठाउँमा बाँधेर राखेका छन्। यी व्यवस्थाले गर्दा शिक्षकहरूले आफ्नो इच्छा हुँदाहुँदै पनि नयाँ भूगोल, नयाँ परिवेश र फरक विद्यालयको अनुभव लिन पाउँदैनन्। जसको प्रत्यक्ष असर उनीहरूको व्यक्तिगत क्षमता विकास र उत्साहमा पर्छ। अनुभवको आदानप्रदान नहुँदा समग्र शैक्षिक प्रणाली नै एउटै खाल्डोमा जाकिएझैँ भएको छ।
“अब बन्ने शिक्षा ऐनमा निश्चित वर्ष तोकेर स्वचालित सरुवा प्रणाली ल्याउनु पर्छ सर,” मैले थपेँ, “निश्चित तह र अनुभव पूरा गरेपछि शिक्षा क्षेत्रको नीति नियम तर्जुमा गर्ने र अनुगमन गर्ने निकायमा पठाउने व्यवस्था हुनुपर्छ। त्यसो भयो भने शुभराज सरजस्ता अरू कसैले पनि ३-३ दशकसम्म एउटै पाटीमा डस्टर घोट्नुपर्ने थिएन कि!”
जबसम्म गुरुको मुहारमा वास्तविक र निश्चिन्त मुस्कान आउँदैन, तबसम्म चेलाहरूको शिक्षा र गुणस्तरमा सुधार ल्याउन असम्भव छ ॥ नीतिले गाँजेको हाम्रो शिक्षा प्रणालीको यो एउटा तितो यथार्थ हो। ऐनका पानाहरू त फेरिन्छन्, तर तिनले शिक्षकको उत्साह र वृत्तिविकासलाई सधैँ एउटै खाल्डोमा सीमित गरिदिन्छन्।
म कोठाबाट बाहिरिँदै गर्दा मलाई ढोकासम्म छोड्न आउनुभयो। उहाँको मुहारमा त्यही पुरानै, शान्त मुस्कान थियो। तर त्यो मुस्कान पछाडिको थाकेको काँध र दशकौँको मौन त्याग म स्पष्ट देख्न सक्थेँ।मार्तडीको त्यो सानो कोठामा ३० वर्ष पुरानो कुसन र करुवा साक्षी राखेर अवकाशको पर्खाइमा बस्नुभएका शुभराज सर जस्ता कयौँ गुरुहरू आज पनि मुस्कुराउँदै उज्यालो छरिरहनु भएको छ। तर अबको पुस्ताले उहाँहरू जस्तै एउटै पाटीमा तीन दशक घोटिनु नपरोस्, शिक्षा ऐनले नै उहाहरूको मुस्कान र नेपाली शिक्षाको भविष्य सुनिश्चित गरोस्।


